site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्‌मा ‘प्रचण्ड’ आक्रोश : सत्तालाई 'हनिमुन पिरियड' पनि दिएनन् ​​​​​​​!

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आक्रामक र खरो शैलीमा प्रस्तुत भएका छन्, मंगलबार प्रतिनिधिसभामा । 

प्रतिपक्षी दलका नेताको हैसियतमा प्रतिनिधिसभामा बोल्दै सरकारको भूमिकामाथिप्रश्नै प्रश्न तेर्स्याए । दर्जनबढी आरोप लगाए । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको दुई महिना पनि पुगेको छैन ।

उनी संसद्को ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ०८१ असार ३० गते प्रधानमन्त्री बनेका थिए । समान्यतया सरकार १०० दिन नपुग्दासम्म आलोचना गरिँदैन । सरकारलाई ‘हनिमुन पिरियड’ दिइन्छ । तर, प्रतिपक्ष दलले हनिमुन पिरियिड पनि दिए । सरकारको खरो आलोचनामा प्रतिपक्ष उत्रिएको छ ।

Dabur Nepal
NIC Asia

प्रचण्डले सम्बोधनको सुरुवातमा आफू सरकारको 'हनिमुन पिरियड' पनि पर्खन नसकेको बताए । “प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा यो सम्मानित रोस्टम म अलि अगाडि नै पनि उपयोग गर्न सक्थेँ, गरिनँ । किनकि, म सरकारलाई 'हनिमुन पिरियड'सम्मैशंकाको सबै सुविधा दिने पक्षमा थिएँ,” प्रचण्डले भने ।

उनले भने, “सरकारमाथि पहिलो बहस जनताको अदालतमा होस् भन्ने मेरो चाहना थियो । तर, चालिस दिनभन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको सुक्ष्म अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु ।”

उनले जनताले सम्मानित संसद्‌माथि गरिरहेको विश्वास पनि कमजोर हुने भएकाले आफूले खबरदारी गर्ने निर्णयमा पुगेको सुनाए । 

दाहालले दाबीका साथ भने, “सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ । जनताभन्दा स्वार्थ समूहहरूको, अझ माफियाहरूको सेवामा अग्रसर छ । त्यसैले अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने भयो । धेरै क्षति हुने भयो ।” 

डेडिकेटेड र ट्रंकलाइन विवाद : निर्णय गरेर देखाउन चुनौती

प्रचण्डले विवादित डेडिकेटेट तथा ट्रंकलाइनको बक्यौता रकम मन्त्रिपरिषद्‌बाटै निर्णय गरेर उठाउन चुनौती दिए । २१ अर्ब ८८ करोड रकम उठाउने भनेर फेसबुकमा लेखेर नहुने बताए । 

“प्रधानमन्त्रीले नौ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले क्याबिनेटबाट सोध्नुपर्ने हो यो प्रश्न । खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैँ हो,” प्रचण्डले भने । 

अध्यक्ष प्रचण्डले विद्युत् प्राधिकरणलाई आफ्नो काम आफैँ गर्न नदिएर यो विवाद निम्त्याएको कसले हो ? भनी प्रश्न सोधे । 

उनले पैसा उठाएर लाइन काटेको भनेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने नियतका साथ मन्त्रिपरिषद्‌बाटै सात दिने स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाए । 

प्रचण्डले कतैबाट पनि स्वार्थ समूहको हित पूरा गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट भएको भन्दै आक्रोश पोखे । लेखा समितिमा ‘लफडा’ परेपछि शुक्रबार नै स्टाटसमार्फत करिब २२ अर्ब नै उठाउनुपर्ने र हालसम्म किन नउठाएको भनी प्रश्न गरेका थिए । 

उक्त स्टाटसप्रति प्रचण्डले प्रधानमन्त्रीको कार्यशैलीप्रति शंका गरे । “प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याबिनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव । प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन छ । यदि अबको क्याविनेटमा बाइस अर्बको प्रस्ताव आएन भने देशले अझ राम्ररी बुझ्नेछ, प्रधानमन्त्रीको नियत,” उनले भने । 

उनले प्रधानमन्त्रीले हाकाहाकी माफियाहरूको पक्षपोषण गरेको आरोप पनि लगाए ।

'संविधान संशोधनबाट माओवादी भाग्दैन'

प्रचण्डले संविधान संशोधनमा छलफल गर्न माओवादी तयार रहेको प्रस्टीकरण दिए । उनले कांग्रेस र एमालले संविधान संशोधनको ‘कार्ड’ फ्याँकेर जथाभाबी बोलेको आरोप पनि लगाए । 

संशोधन गर्दा समानुपातिक अधिकार खोसे प्रतिवाद गर्ने चेतावनी प्रचण्डको छ । “माओवादी केन्द्रको अध्यक्ष र प्रमुख प्रतिपक्ष दलको नेताका रूपमा तपाईंहरूलाई वचन छ मेरो, माओवादी संविधान संशोधनबाट भाग्दैन । यो सम्मानित संसद्‌मा संविधानका एक–एक बुँदा, एक–एक धारा र एक–एक दफामा छलफल गर्न माओवादी केन्द्र तयार छ,” प्रचण्डले भने । 

'अब सत्ताको हिस्सा माग्दिनँ'

प्रचण्डले आरोपमात्रै लगाएनन्, आफूमाथि लागेको आरोपको खण्डन पनि गरे । संसद्‌मा ३२ सिट रहेको माओवादीको सत्तामोहका कारण देशमा अस्थिरता सिर्जना भएको भन्ने आरोपबारे उनले प्रस्टीकरण दिए । उनले सत्ता फेर्ने ठूला दलको भूमिकामाथि पनि प्रश्न तेर्साए ।

“जम्मा ३२ सिट भएको पार्टीले एक्लै ल्याएर ल्याइन्छ अस्थिरता ? प्रचण्डले एक्लै फेरेर फेरिन्छन् सरकारहरू ? त्यसमा ठूला दलहरूको हुने होइन र मुख्य भूमिका ?,” प्रचण्डको प्रश्न छ । 

कांग्रेस र एमालेले पटकपटक माओवादीलाई प्रयोग गरेको र धोका दिएको हिसाब पनि उनले मागे । प्रचण्डले कांग्रेस एमालेलाई सत्ता परिवर्तनको खेलामा आफू नलाग्ने सन्देश दिएका छन् ।

“प्रचण्ड अब सत्ताको खेलमा लाग्ने छैन, तपाईंहरूकहाँ सत्तामा हिस्सेदारी माग्न आउने छैन । माओवादी भनेको पार्टीभन्दा पनि आन्दोलन हो,” प्रचण्डको भनाइ छ । 

उनले माओवादीले एक्लैले नेतृत्व गर्ने हैसियत बनाउने जिकिरसमेत गरेका छन् । प्रचण्डले त्यतिबेलासम्म कांग्रेस र एमालेलाई मिलेर बस्न पनि सुझाए । 

“...त्यतिबेलासम्म कृपया तपाईंहरू मिलिदिनुहोला । फेरि बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला,” प्रचण्डले संसद्‌मा भने । 

'श्रीलंका र बंगलादेशबाट सिक्नोस्'

प्रचण्डले दलका राजनीतिक चरित्र र व्यवहारसँग जनता असन्तुष्ट रहेको भन्दै श्रीलंका र बंगलादेशको घटना स्मरण गराए । उनले दुई ठूला पार्टी मिल्दा व्यवस्थामा नै संकट पर्ने हो कि भन्ने प्रश्न शंका पनि व्यक्त गरे ।

“संख्याको भ्रममा नपरौँ, सत्यसँग साक्षात्कार गरौँ । धेरै टाढाका, अघिका, इतिहासका ठूला शिक्षा म भन्दिनँ, छेवैका श्रीलंका र बंगलादेशका घटनाबाट सिकौँ । 

श्रीलंकामा राजापाक्षेजी संख्याको संकटले बाहिरिनुभएको हो ? होइन,” प्रचण्डले सोधे । 

भ्रष्टाचारका काण्ड सम्झाउँदै प्रधानमन्त्रीलाई भने– अब सचिन्नू

प्रचण्डले प्रधानमन्त्री ओलीलाई भुटानी शरणार्थी प्ररकण, गिरी बन्धु टी–स्टेट, यती, ओम्नी र गिरीबन्धुजस्ता भ्रष्टाचारका काण्ड स्मरण गराए । सरकार ती काण्ड सामसुम पार्ने पक्षमा रहेको आरोपसमेत लगाए । 

प्रचण्डले भने, “गिरीबन्धुलगायतका नीतिगत भ्रष्टाचारहरूमा रफु भर्दै हुनुहुन्छ, सुध्रिनोस् । हिजो आफैँ प्रधानमन्त्री हुँदा बनाएका वैदेशिक श्रमका मापदण्ड मानव तस्करका लागि उल्ट्याउँदै हुनुहुन्छ, त्यता नलाग्नोस् । अझै पनि सुध्रिनोस् र सच्चिनोस्,” प्रचण्डले प्रधानमन्त्रीलाई भनेका छन् । 

एमालेको जवाफ‍...

प्रमुख प्रतिपक्षी दलका नेताको सम्बोधनप्रति एमालेले आपत्ति जनाएको छ । एमालेका सांसद रघुजी पन्तले प्रचण्डलाई जवाफ पनि फर्काए । उनले सरकारलाई 'हनिमुख पिरियड' पनि नदिएकोमा आपत्ति जनाए । 

“लोकतान्तिक र संसदीय प्रणाली रहेका मुलुकमा सामान्यतया प्रमुख प्रतिपक्ष दलको नेताले संसद्‌मै उभिएर सरकारको सय दिन नपुगी सरकारको आलोचना गर्दैन । संसदीय, लोकतान्त्रिक प्रणालीलाई स्वीकार्ने हो भने नेपालको संसद्‌भित्र पनि चलिआएको प्रथा हो । दुःखका साथ भन्नुपर्छ, उहाँले यो नजिर तोड्नुभयो,” पन्तले भने । 

पन्तले प्रमुख प्रतिपक्षको पद पनि लैजानुस् भन्ने अभियक्तिप्रति पनि आपत्ति जनाए । आफूलाई दलको नेता बन्न मन नभए पार्टीकै अरूलाई नेता बनाउन उनको सुझाव छ । 

दुई ठूला दल मिलेर सरकार बनाएपछि तेस्रो दलले प्रमुख प्रतिपक्षीको पद पाएको स्मरण पन्तले गराए । “संविधान त पढ्नोस् नेताज्यू, प्रमुख प्रतिपक्षको पद तपाईंले दिएर, खोजेर पाउने पद होइन । हामीले खोजेर पाउने होइन, संवैधानिक पद हो,” उनले भने, “मन लाग्दैन भने तपाईंको छेउमा जनार्दनजी बस्नुभएको छ । दिनुस् न उहाँलाई ।  चाहिएन हामीलाई, अथवा अरू कुनै नेतालाई दिनुस् ।”

प्रधानमन्त्री पद गएको छटपटी प्रचण्डमा देखिएको पनि उनले बताए । प्रचण्ड’लाई सत्ता चाहिँदैन भनेर पार्टीबाट निर्णय गर्न सुझाए । 

“माओवादीलाई सत्ता चाहिँदैन भनेर केन्द्रीय कमिटीको बैठकबाट निर्णय गराउनुस् न,” उनले भने, “जाँदै जादैनौँ त भन्नुहुँदैन है भनेर बैठकमा जवाफ दिनुभयो । तात्पर्य मौका आउँदा छोड्दिनँ भनेको हो । कसले बुझेको छैन ।”

सरकार माग्ने आधार माओवादीलाई नभएको पन्तको भनाइ छ । “तपाईंसँग सरकार माग्ने आधार पनि छैन । अधिकार पनि छैन । के मुखले माग्नुहुन्छ ? घरि यता घरि उता । ठूला दललाई धोका दिनुभयो,” उनले भने । उनले उत्तरदायी प्रतिपक्षीको भूमिका निभाउन पनि आग्रह गरे ।

एमाले सांसद् पन्तले प्रचण्डको आक्रोश जवाफ दिँदा सत्तासाझेदारी नेपाली कांग्रेस मौन रह्यो ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro