
काठमाडौं । फिफा क्लब विश्वकपमा फ्रान्सको टिम पेरिस सेन्ट जर्मन (पीएसजी)ले ब्राजिलियन क्लब बोटाफोगाविरुद्ध १–० को अप्रत्याशित हार व्यहोरेको छ ।
शुक्रबार बिहान रोस बलमा बोटाफोगालाई जित दिलाउन इगोर जिससले गोल गरे । जिससको यही गोल निर्णायक बन्दा च्याम्पियन्स लिग विजेता समेत रहेको पीएसजी क्लब विश्वकपको आफ्नो दोस्रो खेलमा स्तब्ध बनेको हो ।
जितसँगै दुई खेलबाट ६ अंक जोडेको बोटाफोगा समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अंकको पीएसजी तालिकाको दोस्रो स्थानमा छ ।
एट्लेटिको मड्रिड ३–१ सेटल साउन्डर्स
शुक्रबारै भएको यही समूहको अर्को खेलमा एट्लेटिको मड्रिडले सेटल साउन्डर्सविरुद्ध ३–१ को जित निकालेको छ । लुमेन फिल्डमा एट्लेटिकोलाई जित दिलाउन पाब्लो बारिओसले दुई गोल गरे । एलेक्स विट्सलले एक गोल गरे । साउन्डर्सका अल्बर्ट रुस्नाकले एक गोल फर्काएका थिए ।
प्रतियोगितामा एट्लेटिकोको यो पहिलो जित हो । डियागो सिमोनको प्रशिक्षणमा रहेको यो स्पेनिस टिमले पहिलो खेलमा पीएसजीसँग ४–० को लज्जास्पद हार व्यहोरेको थियो ।
जितसँगै तीन अंक जोडेको एट्लेटिको समूहको तेस्रो स्थानमा छ । दुई खेल खेल्दा पनि अंकविहीन साउन्डर्स पुछारमा छ ।