site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यका उपकरण आविष्कार केन्द्रले मर्मत गर्न सक्छ ? 

काठमाडौं । संघीय अस्पतालहरूमा बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले पाएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रबीच यसबारे सम्झौता भएसँगै जनस्तरबाट प्रश्न उठेको छ– के आविष्कार केन्द्रले अस्पतालका सबै उपकरण मर्मत गर्न सक्छ ?

उपकरण मर्मतमा कोरोनाकालदेखि नै काम गर्दै आएको केन्द्रले यो जिम्मेवारी निभाउने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले समेत केन्द्रलाई यसअघिका अनुभव र परिणामका आधारमा विश्वास गरिएको जनाएको छ ।

केन्द्रले के गर्ने छ ?

Dabur Nepal
NIC Asia

बुधबार भएको सम्झौताअनुसार संघअन्तर्गतका १७ अस्पतालमा थन्किएका उपकरणको विवरण केन्द्रले तयार पार्ने छ । तिनको मर्मत गर्न सकिने/नसकिने वा लिलामी गर्नुपर्नेलगायतका सबै पक्षको विश्लेषण केन्द्रले नै गर्छ ।

खरिद मूल्य, मर्मतका निम्ति लागत र मर्मत गर्न आवश्यक पाटपुर्जाको विवरण तयार पारेर अस्पताल र मन्त्रालय दुवैतर्फ बुझाउने छ । नेपालमा मर्मत हुन नसक्ने भए विदेश पठाउने सुझाव पनि केन्द्रले नै दिने छ ।

मर्मत हुन सक्ने, वारेन्टी भएका र मर्मत हुनै नसक्ने सामग्री छुट्याएर अस्पताललाई सोहीअुनसार सुझाव दिने जिम्मेवारी केन्द्रको छ । 

“विशेष गरी डाटाबेस तयार पार्ने र आफैँले मर्मत गर्न सक्ने उपकरण मर्मतको काम केन्द्रले गर्छ । कामै नलाग्ने कबाडीमा पठाउन सक्ने उपकरणको पनि लिस्ट बनाएर उहाँहरूलाई दिन्छौँ,” केन्द्रका संस्थापक डा. महावीर पुनले भने । 

मन्त्रालयले भने यसमा सहजीकरणको काम गर्ने सम्झौतामा उल्लेख छ । “केन्द्रकै टिम गएर अस्पतालबाट विवरण संकलन र थप मर्मतको प्रक्रिया अघि बढाउने हो, यसमा अस्पतालले नै मर्मत खर्च बेहोर्छ,” मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले भने ।

कति छन् थन्किएका उपकरण ?

संघीय अस्पतालहरूले खरिद गरेका र स्वास्थ्य सेवा विभागबाट उपलब्ध गराइएका के कति उपकरण मर्मत गर्नुपर्ने अवस्थामा छन् भन्ने विवरण विभागसँग छैन ।

विभागले सन् २०२३ अक्टोबरदेखि २०२४ मार्चसम्म गरेको सर्वेक्षणले कोरोनाकालमा ल्याइएका ७१ प्रतिशत सामग्री मात्रै सञ्चालनमा रहेको विवरण सार्वजनिक गरेको थियो । 

विभागले कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका आधारभूत, प्रादेशिक र संघीय गरी ८० अस्पतालमा गरेको सर्वेक्षणमा दातृ निकायबाट प्रदान गरिएका उपकरण ठूलो संख्यामा थन्किएको पाइएको थियो । 

उपयोगविहीन ७५ प्रतिशत सामग्री मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा भए पनि मर्मत नगरेको सर्वेक्षणले देखाएको छ । 

पछिल्लो समय प्रदेशस्तरमा केही बायोमेडिकल वर्कसपहरूमार्फत नै उपकरणहरू मर्मत सम्भार भइरहेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासिया बताउँछन् ।

तर, संघीय अस्पतालका उपकरण मर्मतका निम्ति मन्त्रालयले अहिले गरेको सम्झौताले ठूलो सहयोग पुग्ने उनको भनाइ छ ।

आविष्कार केन्द्रसँग प्राविधक जनशक्ति छ ?

राष्ट्रिय आविष्कार केन्द्रले कोरोनाकालदेखि नै प्रदेश र जिल्लास्तरका अस्पतालहरूसँग उपकरण मर्मतका काम गर्दै आएको छ । अहिलेको सम्झौता केन्द्रले यसअघि न्यानो नानी नामको बेबी वार्मर, अक्सिजन मिनी प्लान्ट निर्माण गरी विभिन्न अस्पतालमा हस्तान्तरण गरेको थियो ।

“हामीसँग बायोमेडिकल इन्जिनियरसहित स्वास्थ्य उपकरणमा काम गर्ने १० जनाको टिम छ, यो जिम्मेवारी पाएपछि अरू केही जनशक्ति थप्ने तयारी गरेका छौँ,” केन्द्रका पुनले बाह्रखरीसित भने । कोरोनाकालपछि त्रिवि शिक्षण अस्पताल, वीर, केही प्रदेश र जिल्लास्तरका अस्पतालहरूमा पनि मर्मतको काम गरिसकेको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro