site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
क्यानको महानिर्देशक हटाउन सरकारलाई सांसदको दबाब
SkywellSkywell

काठमाडौं । नेपालमा दुई साताको अवधिमा दुई वटा हवाई दुर्घटना भएपछि सांसदहरूले नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशकलाई हटाउन दबाब दिएका छन् । बिहीबारको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसदहरूले क्यानका महानिर्देशक प्रदीप अधिकारीमाथि प्रश्न तेर्साउँदै हटाउन सरकारलाई दबाब दिएका हुन् । 

दुर्घटनाको छानबिन अधिकारीकै मातहतमा हुँदा यसबाट सही प्रतिवेदन आउन नसक्ने भन्दै सांसदहरूले बर्खास्तीको माग गरेपछि सरकार त्यसमा लागेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बताए । 

“कानुनी र प्रक्रियासम्मत बाटोबाट जानको लागि त्यसका अप्ठ्यारा के हुन्, जटिलता के हुन्, हामी खोजी रहेका छौँ,” समितिमा बोल्दै पाण्डेले भने,“ मेरो पहलकदमीमा कुनै निर्णय होस् र त्यो निर्णय कुनै बाटोबाट पुर्नस्थापित होस् । अनि मन्त्री चाहिँ त्यही बसिराख्ने ? निर्णयमाथि कुनै चुनौती आओस् । त्यो निर्णय बदर भएपछि हिजोका दिनमा के भयो मलाईं थाहा छैन तर त्यही बस्ने नैतिकता हुँदैन ।”

Dabur Nepal
NIC Asia

समितिमा बोल्दै अधिकांश सांसदहरूले पटकपटक विमान दुर्घटना हुन थालेको भन्दै यसमा क्यानको नियामकीय भूमिकामाथि प्रश्न उठाएका थिए । सांसदहरूले विमान सुरक्षा जाँच गर्न र दुर्घटनाको छानबिन गर्न फरक निकाय हुनुपर्ने र अधिकारीलाई निलम्बन वा बर्खास्त गरेर मात्रै छानबिन समिति बनाउनुपर्ने बताएपछि सरकारले त्यसमा कानुनी बाटो हेरिरहेको पाण्डेले बताए ।

क्यानले नै विमान सुरक्षा जाँच गर्ने र उसले नै दुर्घटनाको छानबिन गर्ने हुँदा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) रहने धारणा सांसदहरूले राखेका छन् । त्यसैले यो दुवै कामका लागि छुट्टाछुट्टै निकाय हुनुपर्नेमा उनीहरूले जोड दिएका हुन् । 

विशेषगरी कांग्रेसका सांसदहरूले प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गरेर हवाई दुर्घटना र प्राधिकरणभित्रका बेथिति छानबिन गर्नुपर्ने माग गरेका छन् । कांग्रेस सांसद विमलेन्द्र निधिले संसदीय समितिमा भने, “हामीले आयोगमात्रै बनाएर हुँदैन । जबसम्म पदाधिकारी कायमै रहन्छन् । जति आयोग बनायो उहाँहरू खुसी हुनुहुन्छ । छानबिनको अर्थ के ? उहाँहरू रहीरहनुहुन्छ । पहिले तत्कालै पदाधिकारीलाई पदमुक्त गरियोस्, निलम्बन गरेरमात्रै छानबिन गरियोस् । तत्कालै आवश्यक एक्सनमा जानुहोस्, मन्त्रीज्यू ।”

सांसद उदय शम्शेर राणाले क्यानको महानिर्देशक तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन हुने वातावरण बनाउनुपर्ने बताए । विमान दुर्घटना भएपछि मात्र छानबिन समिति बन्ने अनि पाइलटलाई दोषी देखाउने गरिएको र नियामक पन्छिने गरेको भन्दै क्यान कार्यसमितिलाई हटाएर मात्रै समितिले निष्पक्ष रिपोर्ट दिन सक्ने बताए ।  कांग्रेस सांसद राजेन्द्र बजगाइले क्यानका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरे।  उनले मन्त्रीसँग तत्कालै बर्खास्त गरेर नयाँ कदम चाल्न आग्रह गरेका थिए ।

सांसद प्रेम सुवालले नेपालमा आउने विमान पुरानो भएर दुर्घटना भएको हो कि भन्ने प्रश्न गर्दै यसको राम्रोसँग छानबिन हुनुपर्ने बताए । 

सांसद शिशिर खनालले क्यानको नेतृत्वका कारण समस्या भएको भन्ने आएपछि नैतिकता देखाएर पनि राजीनामा दिनुपर्नेमा त्यो नभएपछि सरकारले हटाउनुपर्ने बताए । 

क्यानले नै नियमन र छानबिन गर्ने हुँदा यसमा स्वार्थ बाँझिने टिप्पणी उनको छ । “हालको महानिर्देशक नेतृत्वमा आएपछि आठ वटा दुर्घटना भइसके । समस्या एउटा हो भन्ने बुझेपछि सरकारले त्यसमा सम्बोधन गर्नुपर्छ” उनले भने । 

मौसम खराबीले दुर्घटना भएको अनुमान : महानिर्देशक अधिकारी
एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाको प्रारम्भिक रिपोर्टअनुसार खराब मौसमका कारण दुर्घटनामा परेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन् । 

समिति बैठकमा अधिकारीले खराब मौसम र बादलभित्र हेलिकोप्टर प्रवेश गरेका कारण दुर्घटना भएको देखिएको उल्लेख गरे । खराब मौसमका कारण फर्कनका लागि देव्रेतर्फ मोड्नेक्रममा दुर्घटना भएको उनको भनाइ छ ।

उनले खराब मौसम र बादलभित्र छिर्नका लागि कानुनले नै बर्जित गरेको अवस्थामा पाइलटले बादलमा लैजाँदा दुर्घटना भएको बताए । उनले दुर्घटनाको विस्तृत कारण सरकारले गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदनले दिने जिकिर गरे ।

प्राधिकरणको प्रारम्भिक अनुसन्धानमा भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिएको अधिकारीले बताए । 

बैठकमा समिति सदस्यहरूले हवाई सुरक्षाका विषयमा पटक पटक छलफल भए पनि समस्या अन्त्य हुन नसकेको बताएका थिए । 

विज्ञ सम्मिलित टोली गठन गर्न समितिको निर्देशन
हवाई क्षेत्रको सुधारका लागि विज्ञ सम्मिलित छानबिन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन संसदीय समितिले निर्देशन दिएको छ । 

नेपालको हवाई उडानको क्षेत्रमा देखिएको समस्या समाधान गर्न विज्ञहरूको संलग्नता एक स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको हो ।

एयर डाइनेष्टी हेलिकोप्टर दुर्घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकले सरकारलाई सो निर्देशन दिएको हो । 

पछिल्लो समयमा निरन्तर भइरहेको हवाइ दुर्घटनाका सम्बन्धमा दुर्घटनापिच्छे नै छानबिन समितिहरू बन्ने गरेका भएता पनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन् कमजोर बन्दै गइरहेको देखिएको छलफलमा सहभागीहरूले बताएका छन् ।  

सो सम्बन्धमा नेपालको हवाई सुरक्षा, सुरक्षामापनको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयनसम्बन्धी कानुन एवं अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्यान्वयन भए÷नभएको सम्बन्धमा १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरूको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको समिति सभापति राजकिशोर यादवले जानकारी दिए । 

त्यसैगरी बैठकले हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानबिन समिति एवं कार्यदलमार्फत पेस भएका अध्ययन, अनुसन्धानमूलक प्रतिवेदनहरू के, कुन अवस्थामा रहेका छन्, सोको जानकारीसहितको विवरण समितिलाई यथाशीघ्र उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएको छ । 

नेपालको हवाई उड्डयनको सुरक्षासम्बन्धी  छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न, नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय सदनमा पेस गर्न, गराउन पनि सरकारलाई निदेश गरिएको समितिले जनाएको छ । 

सभापति यादवले भने, “नेपाल हवाई नीति २०६३ सालदेखि कार्यान्वयनमा आएता पनि नेपालको हवाई उड्डयनको सुरक्षासम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न निर्देशन दिने निर्णय गरेका छौँ ।”

यसअघि हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानबिन समिति एवं कार्यदलमार्फत पेस भएका अध्ययन, अनुसन्धानमूलक प्रतिवेदन के, कुन अवस्थामा रहेका छन्, सोको जानकारीसहितको विवरण समितिलाई यथाशीघ्र उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको सभापति यादवले जानकारी दिए ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu