site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आशिष ठाकुरलाई ‘सर्वोत्कृष्ट युवा तथा सीप विकास शिक्षा सीईओ २०२५’ सम्मान

ललितपुर । एम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरलाई ‘सर्वोत्कृष्ट युवा तथा सीप विकास शिक्षा सीईओ २०२५ (नेपाल)’को रूपमा सम्मान गरिएको छ । प्रतिष्ठित ग्लोबल सीईओ एक्सिलेन्स अवार्डअन्तर्गत सीईओ रिभ्युद्वारा प्रदान गरिएको यो सम्मानले नेपालको शिक्षा र जनशक्तिको विकासमा उनको दूरदर्शी नेतृत्व र प्रभावकारी योगदानको कदर गरेको हो ।

ठाकुरको नेतृत्वमा एम्बार्क कलेजले प्रयोगात्मक र सीपमा आधारित शिक्षाको केन्द्रका रूपमा आफूलाई द्रुतगतिमा स्थापित गर्न सफल भएको छ । युनिभर्सिटी अफ रोहेम्प्टन (बेलायत)सँगको सहकार्यमा सञ्चालन गरिएका विज्ञान स्नातक (बिजनेस म्यानेजमेन्ट) र एमबीए कार्यक्रमहरूले शैक्षिक गहिराइलाई व्यावहारिक शिक्षासँग जोड्ने प्रयासलाई नयाँ उचाइमा पुर्‍याएका छन् ।

Argakhachi Cement Island Ad

शिक्षाविद् र उद्योगबीचको अन्तरसम्बन्धलाई बलियो बनाउने उद्देश्यले ठाकुरको पहलमा एम्बार्क बिजनेस इन्क्युबेसन सेन्टर स्थापना गरिएको छ । जसले विद्यार्थी–नेतृत्वमा आधारित स्टार्टअपहरूलाई उत्प्रेरणा र मार्गदर्शन दिन्छ । साथै, एम्बार्क रिसर्च नेटवर्कले नेपालमा दिगोपन र वित्तीय समावेशीकरण विषयमा महत्त्वपूर्ण पुस्तक प्रकाशन गरी अनुसन्धानको क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्‍याएको छ ।

सम्मान प्राप्त गरेपछि ठाकुरले यो उपलब्धि विद्यार्थी, प्राध्यापक र साझेदारहरूको सामूहिक प्रयासको परिणाम भएको बताए । उनका अनुसार, एम्बार्क कलेज नवीनता र सीपको शक्तिमार्फत जीवनमा परिवर्तन ल्याउन विश्वास राख्नेहरूका लागि साझा अभियानको केन्द्र हो । उनले एम्बार्कको मूल उद्देश्य नेपालको भविष्यलाई आकार दिने नैतिकवान् र उद्यमशील नेतृत्व उत्पादन गर्नु रहेको स्पष्ट गरे ।

हालै एम्बार्क कलेजले सिंगापुरको एभेन्टिस ग्राजुएट स्कूल र बंगलादेशको ड्याफोडिल इन्टरनेशनल युनिभर्सिटीसँग समझदारीपत्रमा हस्ताक्षर गरी विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, संयुक्त अनुसन्धान र व्यावसायिक विकास कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको छ । यसले कलेजको अन्तर्राष्ट्रिय पहुँचलाई थप विस्तार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

गोल्छा ग्रुप र ग्लोकलको सहकार्यमा स्थापना भएको एम्बार्क कलेज नेपालमा विश्वस्तरीय व्यापार र व्यवस्थापन शिक्षा प्रदान गर्ने भविष्य–उन्मुख उच्च शिक्षण संस्था हो । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्