site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
करार सेवाका कर्मचारीको समस्या र समाधान

यसपटक केपी ओली प्रधानमन्त्रीका रूपमा सिंहदरवार प्रवेशपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कम्प्युटर अपरेटर गणेश राईको खोजी भयो । करारमा  कार्यरत राईले भने हालै दरबन्दी कटौतीको कारण जागिर गुमाएका थिए । अपाङ्गता भएका खोटाङ काहुलेका राईलाई बोलाएर प्रधानमन्त्री ओलीले फेरि जागिर दिएको खबर निकै व्यापक भयो । यही समाचारबाट पनि छर्लङ्ग हुन्छ - करार सेवामा रहेका कर्मचारीको जागिरको असुरक्षित अवस्था ।

गणेश राईको पुनर्बहालीले मात्रै यस क्षेत्रको दिर्घकालीन समस्या समाधान हुन सक्दैन । प्रधानमन्त्रीको यस कदमले करार सेवाका कर्मचारीको अल्पकालीन र दिर्घकालीन समस्या समाधानको बहस पुनः सुरु भएको छ ।

करार सेवाको पृष्ठभूमि 

KFC Island Ad
NIC Asia

निजामती सेवा ऐन, २०४९ को दोस्रो संशोधन, २०५५ बाट निजामती सेवामा करार सेवा विधिवत् सुरु भएको हो  । "निजामती सेवा ऐन ऐन,२०४९ को दफा ७ (५) मा उपदफा (४) बमोजिम तोकिएको सहायक कार्यहरू गर्ने श्रेणी विहिन पदहरू स्वत: खारेज हुनेछ । सम्बन्धित कार्यालयले यस्ता पदहरु खारेज भएको जानकारी निजामती किताबखानामा पठाउनु पर्नेछ । त्यस्ता पदहरूबाट सम्पादन गरिने कार्य न्यूनतम पारिश्रमिक तोकी व्यक्ति वा संस्थासँग करार गरी सेवा करारबाट सम्पादन गराउनु पर्नेछ ।" भन्ने कानुनी व्यवस्था गरी करार सेवाको औपचारिकरूपमा प्रारम्भ गरिएको थियो । 

सरकारी खर्च कटौतीको अर्थशास्त्रीय तर्क र कर्मचारीन्त्रलाई कामकाजी बनाउन 'हायर एण्ड फायर'को पुँजीवादी अभ्यासबाट यसको औचित्य साबित गर्न खोजिएको देखिन्छ । करारका कर्मचारीलाई जागिरको डर देखाएर राम्ररी काम लाउन सकिन्छ भन्ने तर्क गरिन्छ । त्यसो हो भने त मुख्यसचिव देखि सबैलाई करार सेवामा राख्नुपर्ने हो । जागिरको असुरक्षा देखाएर कर्मचारीतन्त्रलाई सशक्त बनाउछु भन्नु पछौटे तर्क हो भने करारमा कर्मचारी राखेर खर्च कटौतीको लक्ष्य राख्नु पनि टाउको दुखेको ओखती नाइटोमा लाउनु झै हुन्छ ।

Royal Enfield Island Ad

करार सेवाको अभ्यास
सरकारी कर्मचारीतन्त्रमा करार सेवा प्रचलित सार्वजनिक खरीद कानुनअनुसार व्यक्ति वा संस्थासँग सम्झौता गरेर सिध्दान्त: दरभाउमा कम पारिश्रमिकमा काम गर्न चाहनेलाई सरकार(व्यवस्थापक)ले जुनसुकै बेला सेवाबाट हटाउन सक्ने गरी  एक प्रकारले बजारबाट वस्तु खरीदको शैलीमा अभ्यास गरिन्छ । तर, व्यवहारमा कर्मचारीतन्त्रको माथिल्लो तहमा हुने व्यक्तिसँग नजिक हुनेहरूलाई करार सेवा सहज र वाँकीलाई असहज हुन्छ । श्रावण १ गते अर्थात् आर्थिक वर्षको थालनीसँगै करारका कर्मचारीको सेवा नवीकरण अनिवार्य गर्नुपर्ने भएकोले हाकिम दाहिना नहुनेको बेहाल हुने स्थिति रहन्छ ।
 
सरकारी सेवामा करारका कर्मचारीबीचमा पनि कार्यालय/विभाग/निकाय हेरेर विभेद सहनुपर्ने अवस्था छ । उदाहरणको लागि हुलाक सेवा विभागमा काम गर्ने करारका कर्मचारीको तलव भत्ता अरू सरकारी निकायमा काम गर्नेको भन्दा कम छ । स्थानीय र प्रदेश सरकारले विनामानक करारमा राजनीतिक नियुक्ति गरिरहेका छन् । निजी क्षेत्रको श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिँदै लगिएको छ तर सरकारी करारका कर्मचारीहरूलाई आजसम्म पनि कोषमा आबध्द गरिएको छैन ।

स्थायी सेवा र करारका कर्मचारीबीचमा अतुलनीय विभेद त छदैछ । करारका कर्मचारीलाई त महँगी भत्ताजस्तो आधारभूत  सुविधाबाट समेत वञ्चित गरिएको छ  । उपदान, बिदालगायत कुनै पनि सुविधाको प्रबन्ध नगरिएकोले ३०औं वर्ष सेवा गरे पनि घर जाँदा रित्तो हात जानुपर्ने बाध्यता छ । सरकारी कामकै सिलसिलामा  भवितव्यमा परेर ज्यान गुमाउँदासमेत बिमालगायतका  कुनै सुविधा प्राप्त नहुने स्थिति छ । विरामी परेर बिदा बस्नु परे जागिरै गुमाउनुपर्छ । सार्वजनिक सेवा प्रवाहमा अग्रपङ्क्तिमा हुने करारका कर्मचारीको अभ्यासको बारेमा आदर्श सेवा प्रवाहको सन्दर्भसमेत जोडेर तथ्यपूर्ण बहस जरुरी देखिन्छ ।

तथ्याङ्कमा करार सेवा

करार सेवाको समुच्चा तथ्याङ्क राख्ने आधिकारिक निकाय नभएकोले  स्पष्ट र  एकीकृत तथ्याङ्कको अभाव देखिन्छ । विभिन्न स्रोतहरूमा खोज्दा संघीय सरकारअन्तर्गतका निकाय कार्यालयहरूमा जम्मा दरबन्दी १ लाख ३६ हजार १२२ मा पदपूर्ति भएको दरबन्दी ८५ हजार ६६५ मध्ये करारका कर्मचारीको सङ्ख्या करिब १४ हजार अर्थात् १६ प्रतिशत रहेको देखिन्छ । स्थानीय र प्रदेश सरकारको करारको दरबन्दी एकिन छैन । करिब ४५ हजारको हाराहारीमा रहेको भनिएको छ । यसरी हेर्दा स्थानीय, प्रदेश र संघ सहित ६० हजार कर्मचारी करारमा कार्यरत रहेको भन्न सकिन्छ ।

करार सेवाको समस्या समाधानका उपाय

करार सेवाको कर्मचारीको मुख्य समस्या जागिरको सुरक्षा नै हो । वृत्ति विकास र सामाजिक सुरक्षाबाट वंचित गरिएको छ । चरम राजनीतिकरण र उपल्लो पदमा हुनेहरूले दिने बक्सिसको रूपमा रहेको छ करार सेवाको जागिर ।  यसको समाधानको लागि अल्पकालीन र दीर्घकालीन उपाय अनुसरण गर्नुपर्ने देखिन्छ । 

अल्पकालीन समाधानका उपायहरु 
•    करार सेवामा नयाँ कर्मचारी भर्ना बन्द गर्ने ।
•    दरबन्दी, नियुक्ति, अभिलेखन, अनुगमनको लागि केन्द्रीय निकायको रूपमा सामान्य प्रशासन मन्त्रालयलाई तोक्ने । 
•    सेवामा रहेका कर्मचारीलाई दरबन्दी खारेजीको बहानामा नहटाउने, मापदण्ड बनाएर नयाँ सिर्जना भएका दरबन्दीमा खारेजीमा परेका दरबन्दीका कर्मचारीलाई समायोजन गर्ने ।
•    वैज्ञानिक मुल्याङ्कन प्रणालीको स्थापना गरी कार्यसम्पादन मूल्याङ्कनलाई व्यवस्थित गर्ने ।
•    करार सेवामा कार्यरत कर्मचारीलाई असर पर्ने गरी सरुवा र विज्ञापन नगर्ने ।
•    महँगी भत्ता र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्ने ।


दीर्घकालीन समाधानका उपाय

अल्पकालीन समाधानका उपायले तदर्थ समाधानमात्रै दिने हो । तसर्थ नीतिगतरूपमा स्थायी कर्मचारीतन्त्रबाट मात्रै सरकारी सेवा सथ्चालन गर्नुपर्छ भन्ने मान्यता राखेमात्र दीर्घकालीन समाधान हुन्छ । अहिले संसद्मा विचाराधीन संघीय निजामती सेवा विधेयक, २०८०ले पनि दीर्घकालीन समधानको परिकाल्पना गरेको छैन  । तर, यो विधेयक विचारधीन भएकोले यसलाई परिमार्जन गरेर दीर्घकालीन समाधान निकाल्न सकिन्छ । 

प्रस्तावित संघीय निजामती सेवा विधेयकको दफा १० को उपदफा १४ र १५ मा करार सेवा यथावत् रहनेगरी  निम्न व्यवस्था प्रस्तावित छ -

(१४) मुख्य कार्य गर्ने भनी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका पद बाहेक राजपत्र अनङ्कित पाँचौ श्रेणीको रिक्त पदमा स्थायी पदपूर्ति गरिने छैन र यसरी मुख्य कार्य गर्ने भनी तोकेका पद बाहेकका राजपत्र अनङ्कित पाँचौ श्रेणीका अन्य पदबाट सम्पादन हुने काम सेवा करारबाट गराउनु पर्नेछ ।

(१५) उपदफा (१४) बमोजिम सेवा करारबाट काम लगाउँदा सेवा करार बमोजिम काम गर्ने व्यक्तिका लागि प्रचलित कानुन बमोजिमको तोकिएको न्यूनतम पारिश्रमिक र योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्थापन समेत गर्नु पर्नेछ ।

प्रस्तावित विधेयकको उक्त व्यवस्थाले करार सेवा यथावत् रहने देखिन्छ  । त्यसैले संघीय निजामती सेवा ऐन जारी गर्दा प्रस्तावित व्यवस्थालाई निम्न वमोजिम संशोधन गरेर दीर्घकालीन समाधान खोजिनुपर्छ ।

१. कार्य वर्गीकरण गर्दा हाल कार्यरत कर्मचारीको सेवा सुरक्षामा आघात नपर्ने गरी राजपत्रमा प्रकाशित गर्ने ।

२. करारका कर्मचारीको पारिश्रमिक निजामती सेवाका स्थायी कर्मचारीले पाउने पारिश्रमिक सरह हुने व्यवस्था गर्ने ।

३. संस्थासँग करार (ठेकेदारी प्रथा) बन्द गर्ने ।

४. विगत लामो समयदेखि अस्थायी, करार र ज्यालादारीमा काम गरिरहेका कर्मचारीमध्येबाट तोकिएबमोजिम योग्यता  भएका कर्मचारीलाई एकपटकका लागि प्रक्रिया पूरागरी स्थायी गर्ने र प्रकियाबाट छनोट हुन नसकेका कर्मचारीलाई सेवा अवधि मूल्याङ्कन गरी प्रोत्साहन रकमसहित सेवाबाट ससम्मान अलग गर्न सकिनेछ । 

यस सन्दर्भमा उदाहरणको लागि शिक्षा सेवामा करारमा रहेका शिक्षकहरूलाई पटकपटक प्रक्रियाबाट स्थायी गरिएको दृष्टान्त सकारात्मक अनुभवका रूपमा छ ।

संसद्मा विचाराधीन संघीय निजामती सेवा ऐनबाट करार सेवाको समधान निकाल्न सकिएन भने एउटा मौका गुम्ने छ भने करार सेवाका कर्मचारी निगाहमा रहनुपर्ने अपसंस्कृति निरन्तर रहन्छ । अनिश्चयमा रहेका असन्तुष्ट सरकारी कर्मचारीले जनतालाई दिने सेवा गुणस्तरीय हुन सक्दैन । अर्कोतर्फ रोजगारदाताको रूपमा रहेको सरकारले आफ्नै कर्मचारीको सुरक्षा गर्न नसक्दा नैतिकतामा प्रश्न उठिरहरन्छ । करार सेवाको नीतिगत समाधान खोज्न नसके एकाध व्यक्तिको म्यादी समाधानले यो क्षेत्रको कहर समाप्त हुँदैन ।
(एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका महासचिव)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro