site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्लस टुपछि मात्र नर्सिङ : पीसीएल ‘फेज आउट’ गर्न लागिएको हो ? 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । १२ कक्षा पास गरेपछि मात्र नर्सिङ पढ्न पाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा आयोगले गृहकार्य अघि बढाएको छ । आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले यही साउन १७ गते प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा यसबारे जानकारी गराएका हुन् ।

छिमेकी देश भारत र अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर यस्तो प्रावधान ल्याउन लागिएको उनले बताए । पीसीएल नर्सिङ पढ्न नेपाली विद्यार्थी भारत गएका हल्ला गलत भएको उनले उल्लेख गरे । भारतमा समेत पीसीएल नर्सिङ पढ्न प्लस टु उत्तीर्ण हुनुपर्ने व्यवस्था रहेको उनले प्रस्ट पारे ।

एसईईपछि नै पढाइ हुने पीसीएल नर्सिङ कार्यक्रम प्रभावकारी देखिएको छ । यही बेला किन प्लस टुपछि मात्र नर्सिङ पढ्न पाइने व्यवस्था ल्याइँदै छ ? जवाफमा डा. झा भन्छन्, “नर्सिङ भनेको संवेदनशील र जिम्मेवार पेसा पनि हो । के माध्यमिक तह पढेको १६/१७ वर्षको मान्छेलाई ज्यानको ठेक्का दिने हो ?”

आयोगले नेपाल नर्सिङ परिषद्लगायत सरोकारवाला निकायसँग परामर्शपछि यस्तो व्यवस्था गर्न लागेको हो । एक वर्षअघि आयोगले नर्सिङ शिक्षा पठनपाठन अध्ययन–अध्यापनसम्बन्धी परिषद्का विज्ञ टोलीसहितको कार्यदल  गठन गरेको थियो । कार्यदलले बुझाएको प्रतिवेदनमा प्लस टुपछि नर्सिङको जनरल कार्यक्रम पढाइ गरिनुपर्नेमा जोड दिइएको छ ।

उक्त प्रतिवेदनका आधारमा कानुनी र समन्वयका निम्ति अर्को कार्यदल गठन गरी काम अघि बढाइएको आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए ।

पीसीएल नर्सिङ कार्यक्रम ‘फेज आउट’ हुन्छ ? 
प्लस टुपछिको उक्त पढाइ जनरल नर्सिङ हुनेछ । यसको अवधि दुई वर्षको प्रवीणता तह नै रहने प्रतिवेदनमा सुझाव दिइएको छ । जनरल नर्सिङ जुनसुकै विषयमा प्लस टु उत्तीर्ण विद्यार्थीले पढ्न पाउनेछन् ।

तत्काल पीसीएल नर्सिङ कार्यक्रम फेज आउट (खारेज) गर्ने आयोगको योजना नरहेको सदस्यसचिव काप्रीले स्पष्ट पारे । “जनरल नर्सिङका निम्ति हामीले बाटो खोलेको मात्रै हो । तत्काल पीसीएल खारेज गर्ने र नयाँ कार्यक्रम सुरु गरिहाल्ने तयारी भएको होइन,” काप्रीले भने ।

जनरल नर्सिङ कहिलेदेखि ? 
जनरल नर्सिङ कार्यक्रमका निम्ति आयोगका तर्फबाट कार्यदलले गृहकार्य गरिरहेको छ । कानुनी प्रक्रिया, पाठ्यक्रम निर्माण, कलेजहरूको छनोटलगायत काम टुंग्याउन केही समय लाग्ने सदस्यसचिव काप्रीले जानकारी दिए । “जनरल नर्सिङ सुरु गर्न अझै एकदुई वर्ष लाग्न सक्छ । पीसीएल नर्सिङ पनि अझै चारपाँच वर्ष फेज आउट हुँदैन,” उनले भने ।

चिकित्सा शिक्षाका नयाँ कार्यक्रम थप, परिमार्जन, नयाँ मापदण्ड लागु गर्नेलगायत अधिकार राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार आयोगलाई छ । आयोगका अध्यक्ष स्वयं प्रधानमन्त्री रहेकाले यो प्रक्रियामा तहगत अड्चन नहुने आयोगकै अपेक्षा छ ।

सीटीईभीटीका आंगिक र मातहतका गरी हाल नेपालमा ५३ कलेजले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro