काठमाडौं । नेपालमा जारी काभा नेसन्स महिला भलिबल लिगमा भारतले विजयी सुरुआत गरेको छ ।
भारतले बिहीबारको दोस्रो खेलमा इरानविरुद्ध ३–१ को सेटमा जित निकालेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसमा रहेको कभर्ड हलमा भएको खेलमा भारतले पहिलो र दोस्रो सेट २५–२०, २५–१८ ले जितेको थियो ।
तर, तेस्रो सेट इरानले २५–१९ ले जितेपछि खेल चौथो सेटसम्म लम्बिएको हो । चौथो सेट भारतले २५–११ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
यसअघि आजै भएको उद्घाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको थियो ।
आजदेखि सुरु भएको प्रतियोगितामा कुल पाँच टिमको सहभागिता छ । साउन २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लिग चरणबाट शीर्ष चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । जसबाट विजयी दुई टिमले उपाधिका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।