न्यूयोर्क टाइम्स । कर्ड ब्लड (नालमा हुने रगत) जुन बच्चा जन्मिएपछि नाभीको डोरीमा जोडिएको हुन्छ त्यसको स्याम्पल अमेरिकामा कर्ड ब्लड बैंकमा पैसा तिरेर जम्मा गरिन्छ ।
परिवारलाई यो विश्वास दिलाइएको हुन्छ कि बच्चालाई वंशाणुगत डिसअर्डर, क्यान्सर, अटिजमजस्ता रोग भयो भने यो चाहिन्छ ।
तर, बैंकहरुले प्रतिज्ञा गरे जस्तो अहिले नतिजा पाइएको छैन । यी सेलहरुमा अहिले दाग देखिन थालेको छ । तिनको तौल पनि पर्याप्त हुँदैन । र, बच्चालाई चाहिएको बेलामा त्यो उपयोगी भइरहेको छैन । न्यूयोर्क टाइम्सले यो मामिलामा कसरी अभिभावकहरुलाई बहकाउने काम गरिन्छ भनेर एउटा लामो रिपोर्ट सार्वजनिक गरेको छ ।
परिवारहरूले स्वस्थ भविष्यको आशामा आफ्ना बालबालिकाको स्टेम सेलहरू (रगत बनाउने कोशिका) भण्डारण गर्न हजारौं डलर तिर्ने गरेका छन् । एकताका यी उपयोगी नै भए पनि पछिल्ला समयमा कोषिकाहरू विरलै उपयोगी पाइएका छन् । कतिपय समयमा त दूषित पनि पाइने गरेका छन् ।
लाखौं गर्भवती महिलाहरूले आफ्नो ओबी –जिवाइएन(गर्भवती भएका बेलामा परामर्श दिने चिकित्सक) मार्फत कर्ड ब्लड बैंकबारे जानकारी पाउने गर्दछन् । उनीहरुलाई नवजात शिशुको नाभीको केही अंश बरफमा राख्न सुझाइन्छ ।
उनीहरुलाई यदि तपाईंको बच्चाले एक दिन क्यान्सर, मधुमेह वा अटिजमको सामना गर्यो भने, कर्ड ब्लड बहुमूल्य स्टेम सेलहरू उपचारका लागि महत्वपूर्ण हुन्छ । आफ्ना बच्चाको स्वस्थ भविश्यको लागि मानिसहरु रकम तिर्न राजी हुन्छन् ।
लाखौं नाभीको डोरीका स्याम्पल देशभरीका वेयरहाउसमा राखिएका छन् । यो आकर्षक विजनेस भएको छ । कम्पनीहरुले त्यसका लागि केही हजार डलर सुरुमा र बर्षैपिच्छे थप केही रकम अभिभावकसँग लिने गरेका छन् । यो उद्योग पहिला निकै तीव्र गतिमा बढ्दै गइरहेको थियो ।
यो क्षेत्रमा मेडिकल डिभाइस कम्पनी, अस्पतालको लगानी तथा साझेदारी तथा केही सेलिब्रेटीको पनि साथ छ । तर, नेतृत्वदायी भूमिकामा रहेका बैंकले नै निरन्तर रुपमा ग्राहक,चिकित्सक लगायतलाई गुमराहमा राखेको न्यूयोर्क टाइम्सको रिपोर्टमा चर्चा गरिएको छ ।
रिपोर्टमा जनाइएअनुसार पछिल्लो समयमा चिकित्सकले यदाकदा मात्रै कर्ड ब्लड प्रयोग गर्ने गरेको पाइएको छ । अब एडल्ट स्टेम सेल्स प्रत्यारोपण गर्न सकिने भएकोले कर्ड ब्लडको उपादेयतामा प्रश्न उठेको हो ।
बैंकमा राखिएको कर्ड ब्लड फिर्ता लिन चाहँदापनि ती अक्सर कामै नलाग्ने पाइने गरेको छ । कि चाहिं तिनीहरुको आयतन कम हुन्छ कि चाहिँ ती माइक्रोब्स(सूक्ष्मजीव)बाट प्रदूषित भइसकेका हुन्छन् ।
तीन दशक अघि जब पहिलो कर्ड ब्लड बैंक खुलेको थियो, चिकित्सकहरु स्टेम सेल्सलाई लिएर आशावादी थिए । बैंकहरुले अभिभावकलाई बच्चा बिरामी भएको बेलामा आत्तिनुनपर्ने भनेर आश्वासन दिएका थिए ।
यद्यपि त्यो सम्भावना कार्यान्वयन भएन । २०१० यता केवल बच्चाहरुको कर्ड ब्लड १९ वटा मात्रै प्रयोग गरिएको पाइएको सेन्टर फर इन्टरनेसनल ब्लड एण्ड म्यारो ट्रान्सप्लान्ट रिसर्चले जनाएको छ ।
पछिल्लो अनुसन्धान अनुसार चिकित्सक पनि कर्ड ब्लड प्रयोग गर्न छोडेर अहिले एडल्ट स्टेम सेलको पक्षमा पाइएका छन् । यद्यपि निजी बैंकहरुले अहिले पनि जीवन जोगाउने सम्भावनाका बारेमा बोल्न छोडेका छैनन् । उनीहरुले हरेक स्याम्पललाई गिफ्ट कार्ड दिने घोषणा गर्न छोडेका छैनन् ।
मार्केटिङले काम पनि गरेको छ । कर्ड ब्लड रजिस्ट्री अथवा सीबीआरले दश लाख भन्दा बढी स्याम्पल स्टोर गरेको जनाइएको छ । यो संख्या २०१४मा दोब्बर भएको थियो । यसका दुई मुख्य प्रतिस्पर्धी छन् । भाया कर्ड र क्रायो सेल । ती हरेक सँग ५ लाख भन्दा बढी स्याम्पल स्टोरमा छन् । बैंकहरुको भनाईमा ती सेलले बच्चाको जीवन जोगाउन सकिन्छ । “वैज्ञानिकले भोलि के भन्छन् कसैलाई थाहा हुन्न । कर्ड ब्लडको भविश्य छ भन्ने हामीलाई लाग्छ,” क्रायो सेलका सहकार्यकारी डेभिड पोर्टनोयले बताए ।
भाया कर्ड सम्बन्धी रेभिभिटीका प्रवक्ता चेत मुरे वैज्ञानिकहरुले यसको उपयोगिताबारे भविश्यमा अझ अत्याधुनिक अध्ययन गर्न सक्ने जनाउँछन् । यी सेलहरुलाई तरल नाइट्रोजन ट्यांकमा राख्ने गरिएको छ । बच्चालाई पाल्सी वा अटिजम जस्ता समश्या भएमा अभिभावकहरु यसलाई फिर्ता लिन जाने गरेका छन् ।
यद्यपि उपचारमा संलग्न चिकित्सकहरुले आधा भन्दा बढी ती सेलहरु अस्वीकार गर्छन् । किनकी ती स्याम्पलमा दाग हुने वा धेरै साना हुने गरेका छन् । दुई ठूला बैंक भाया कर्ड र सीबीआर प्रदूषणसँग संघर्ष गरिरहेका छन् । गएको जनवरीमा फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले सीबीआरको वेयरहाउसमा ब्याक्टेरिया बढेको पाएको थियो ।
सन् २०१८को रेकर्ड हेर्दा ती ब्याक्टेरिया स्टेराइल प्रोसेसिङ क्षेत्रमा पाइएका थिए । कर्ड स्याम्पल जम्मा गर्न चुहिने ब्याग प्रयोग गरेको समेत पाइएको थियो । पार्कल्याण्डमा हाइस्कुल एडमिनिस्ट्रेटिभ असिस्टेन्टका रुपमा कार्यरत जेन्ना इडवार्डले भाया कर्डलाई ३ हजार डलर तिरेर आफ्नो छोराको कर्ड ब्लड सिन्सीनिटीमा जम्मा गरेकी थिइन् ।
जब उनले २०१७मा त्यो फिर्ता गर्न खोजिन र उनको छोराको सेरेब्रल पाल्सीको उपचारमा लगिन् स्याम्पलमा ब्याक्टेरिया पाइयो ।
उनले बैंकसँगको सम्झौता रद्ध गरिन् । प्रदूषित हुनु भाग्यको खेल होला भनेर उनले दोस्रो बच्चाको कर्ड ब्लड पनि बैंकमा जम्मा गरिन् । त्यसका लागि उनले ६५० डलर शुल्क तिरिन् । तर, केही हप्तामा नै उनले पत्ता लगाइन्, यसमा पनि निकै कम मात्रै सेल छ ।
भाया कर्डका प्रवक्ता मुरेले स्याम्पल सानो भएमा वा प्रदू्रषित भएमा त्यसबारेमा ग्राहकलाई सूचित गर्ने कम्पनीको नीति भएको जनाएका छन् । सन् १९८८मा ड्युक युनिभर्सिटीका चिकित्सक हतास थिए । किनकि एक ५ वर्षिय बालक ब्लड डिसअर्डरको कारण बोन म्यारो ट्रान्सप्लान्टका लागि म्याच पाउन सकिरहेका थिएनन् ।
प्रयोगात्मक उपचारका लागि ती बालकलाई पेरिस तर्फ उडाइयो । सुरुमा केमियोथेरापी र पछि उनकी बहिनीको कर्ड ब्लड इन्फ्युजन गरियो । नभन्दै तीन सातामा उनको बोन म्यारोले स्वस्थ ब्लड सेल उत्पादन गर्न थाल्यो । उनको उपचार भयो ।
"उनको प्रत्यारोपणले यो सिद्ध भयो कि कर्ड ब्लडमा ब्लड स्टेम सेल्स हुन्छ," डा. जोआन कुर्तजबर्गले भने । उनी अहिले क्रायो सेलका मेडिकल डाइरेक्टर र विज्ञ हुन् ।
कर्ड ब्लड बैंकले सन १९९२ देखि यस्तो सेवा गर्दै आएको छ । निजी बैंकले परिवारलाई चार्ज गरेर यसप्रकारको सेल व्यक्तिगत प्रयोगका लागि उपलब्ध गराउँछन् भने पब्लिक बैंकले बेनामे डोनरको सेल जम्मा गरेर आवश्यकता परेको बेलामा जोसुकैलाई उपलब्ध गराउँछन् ।
कर्ड ब्लड प्रत्यारोपण २०११मा त्यसको सबैभन्दा उच्च विन्दुमा पुगेको थियो । अमेरिकामा ८९६ जनामा प्रत्यारोपण गरिएको त्यतिबेलाको रिपोर्ट थियो ।
यद्यपि बैंकहरुको उत्साह अल्पकालीन थियो । सन् २००८को आसपास, अन्वेषकहरूले पत्ता लगाए कि, प्रतिरक्षा प्रणालीलाई दबाउन सही औषधिका साथै बिरामीहरूले सुरक्षित रूपमा आफन्तहरूको रगत वा बोन म्यारोबाट पनि स्टेम सेलहरू प्राप्त गर्न सक्छन् ।
धेरै चिकित्सकहरूले ती कोशिकाहरूलाई नाभिको स्टेम सेलहरू भन्दा राम्रो पाए । जुन महंगो भने दुई गुणा थियो र अक्सर उपचारको लागि धेरै थोरै कोशिकाहरू उत्पादन गर्थे।
जब यो चिकित्सा आविष्कार सुरु भयो, कर्ड ब्लड प्रत्यारोपण ठप्प भयो । २०२३मा यो संख्या ३४६ मात्रै रेकर्ड गरिएको थियो । जुन एक दशक भन्दा बढीमा सबैभन्दा कम संख्या हो।
जोन्स हप्किन्स युनिभर्सिटीका हेमाटोलोजी विभागका प्रमुख डा रोबर्ट ब्रोडस्कीले भने, "अमेरिकामा लगभग हरेक संस्थामा स्टेम सेलहरू रुचाइको स्रोत होइन।"
साना अध्ययनहरूले अटिजम, मधुमेह र श्रवणशक्ति हानि जस्ता रक्त विकारहरू बाहेक अन्य अवस्थाहरूको उपचारको क्रममा नाभिको कोशिकाहरूको परीक्षण गरेको छ। धेरैजसो परीक्षण प्रारम्भिक चरण भन्दा अगाडि बढेका छैनन्।
कर्ड प्रत्यारोपण सुक्दै जाँदा, सार्वजनिक बैंकहरू गम्भीर आर्थिक संकटमा परेका छन । क्लिभल्याण्ड कर्ड ब्लड सेन्टरले २०१८मा अनुसन्धानकर्ताहरू र बायोटेक्नोलोजी कम्पनीहरूलाई दान गरिएका सेलहरू बेच्न थाल्यो । न्यूयोर्क ब्लड सेन्टर, राष्ट्रको सबैभन्दा ठूलो सार्वजनिक बैंकले २०२० मा कर्ड ब्लड संकलन गर्न बन्द नै गर्यो ।
निजी रूपमा बैंकमा राखिएको कर्ड ब्लड चिकित्साकीय रूपमा पनि कम उपयोगी साबित भयो । यदि बच्चामा ल्युकेमिया(व्हाइट ब्लड सेलमा क्यान्सर्र) विकास भयो भने उदाहरणका लागि, उनको आफ्नै स्टेम सेलहरू आनुवंशिक रूपमा क्यान्सर हुने झन सम्भावना हुन्छ ।
लिम्फोमा(एक खालको क्यान्सर) जस्ता केही रोगहरूको लागि, डाक्टरहरूले बिरामीको आफ्नै स्टेम सेलहरू प्रयोग गर्छन् । तर तिनीहरूले लगभग सधैं बिरामीको रगतबाट ती कोशिकाहरू प्राप्त गर्न सक्छन्। २०२३मा रिपोर्ट गरिएको बिरामीको आफ्नै रगत प्रयोग गरी एउटा मात्र प्रत्यारोपण भएको थियो । जबकि बिरामीको आफ्नै रगतबाट स्टेम सेलहरू १६ हजार भन्दा बढी गरिएको थियो।
अस्पताल र चिकित्सकलाई भुक्तानी
जब सीबीआरको लागि २०१८ र २०१९को लागि स्ट्यासी सिभर बिक्री प्रतिनिधि थिइन्, उनको सबैभन्दा ठूलो ग्राहक एटलान्टाको नर्थसाइड अस्पताल थियो । त्यस अस्पतालले प्रत्येक बच्चाको नमूनाको लागि अस्पताललाई २५० डलर तिथ्र्यो । तर,अस्पतालले आमाबाबुलाई सीबीआरले डाक्टरहरूलाई प्रत्येक बच्चाको नमूनाको लागि २५० डलर तिर्छ भनेको थिएन ।
११ जना डाक्टर तथा वर्तमान र पूर्व बैंक कर्मचारीहरूका अनुसार तीनवटा ठूला कर्ड ब्लड बैंकहरूले १५० देखि ७०० डलर सम्मको यस्तो ‘संकलन शुल्क’ प्रस्ताव गर्छन्। बैंकहरूले सीभर जस्ता बिक्री प्रतिनिधिहरूलाई प्रसूति चिकित्सकहरू भेट्न र तिनीहरूका उत्पादनहरू बिकाउन नियुक्त गर्छन्।
सो स्याम्पलका लागि बैंकहरुले चिकित्सकलाई १५० देखि २०० डलर सम्म दिने गरेको बताइएको छ । त्यो कामका लागि ५ मिनेट पनि लाग्दैन ।
यसैगरी सीबीआरले हरेक महिना गर्भवति महिलासँग सेमिनार राख्दछ । जसमा २५ डलरको गिफ्ट कार्डपनि दिइन्छ । ड्युक युनिभर्सिटीले कर्ड ब्लडको प्रयोग अटिजम भएका बच्चामा प्रयोग गरेपनि खास काम नगरेको जनाइएको छ ।
यति गर्दागर्दै पनि यसको उपयोगिताबारे भविश्यमा वैज्ञानिकहरुले नयाँ कुरा पत्ता लगाउन सक्ने र कर्ड ब्लड उपयोगी हुन सक्ने भन्ने भुलभुलैयामा ग्राहकहरुलाई पार्न बैंकहरुले अझै छोडेका छैनन् । (न्यूयोर्क टाइम्समा आधारित)