site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले आयात कर लगाउने देशको सूचीमा रुस किन छैन ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ बुधबारका दिन विश्वका सबै अमेरिकी व्यापारिक साझेदारहरूमाथि न्यूनतम १० प्रतिशतदेखि अधिकतम ५० प्रतिशतसम्म पारस्पारिक आयात कर लगाउने घोषणा गरे ।

तर, उक्त आयात कर लगाइने देशहरूको सूचीमा रूसलाई समावेश नगरिएको बीबीसीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अमेरिकी सञ्चारमाध्यम एक्सिओसलाई उदृत गर्दै उल्लेख गरिएको समाचार अनुसार ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले रुसमाथि यसअघि नै लागु भएका अमेरिकी प्रतिबन्धहरूले महत्वपूर्ण व्यापार गर्न रोक लगाएका कारण रुस उक्त सूचीमा नपरेको बताएकी थिइन् । क्युबा, बेलारुस र उत्तर कोरियालाई पनि सूचीमा समावेश नगरिएको उनले बताइन् ।

तर, अमेरिकासँग रुसभन्दा धेरै कम व्यापार गर्ने सिरियालाई भने आयात कर लगाइने सूचीमा राखिएको छ । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार सिरियाले गत वर्ष एक करोड १० लाख डलरको सामान अमेरिका निर्यात गरेको थियो ।
 
सन् २०२२ मा युक्रेनमा आक्रमणपछि अमेरिकाले रुसमाथि ठूलो मात्रामा आर्थिक तथा व्यापारिक प्रतिबन्धहरू लगाएको थियो । तर, ट्रम्प राष्ट्रपति भएर आएपछि भने रुसप्रति मैत्रीपूर्ण नीतिहरू अपनाएका छन् । ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न प्राथमिकता दिएका छन् । 

सोही उद्देश्यले  एक प्रमुख रुसी अधिकारी यसै साता ट्रम्प प्रशासनसँग वार्ता गर्न अमेरिका पुगेका छन् ।

तर, गत महिना मात्र ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग युद्धविराम गर्न सहमत नभए रूसी तेल किन्ने देशहरूलाई ५० प्रतिशत शुल्क लगाउने धम्की दिएका थिए । 

यसैबीच, रूसी सञ्चारमाध्यमहरूले पनि आफ्नै देश सूचीमा नपर्नुको कारण पहिलेदेखि नै लागु भएका अमेरिकी प्रतिबन्धहरू रहेको बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्