नेपाल त्यस्तो देश भएको छ, जहाँ राजनीतिक करेन्ट सरल रेखाबाट प्रवाहित हुँदैन । यस्तो लाग्छ, यहाँ लोकतन्त्रको रथ कुलिनतन्त्रले हाँकेको छ ! अब्राहम लिङ्कन नेपालमा जन्मेका हुन्थे भने प्रजातन्त्रको परिभाषा ‘वाइ द पिपुल एण्ड फर द पिपुल......’ नभइ अरु कुनै वाक्यमा दिन्थे होलान् ।
प्राइमरी स्कुल पढ्दाका कुरा हुन् । ‘रमाइला नानी’ नामक बाल साहित्यको पुस्तकमा एउटा कविता पढ्नुपर्थ्यो । कविता भन्थ्यो–
‘कागज काट्ने बञ्चरो त रुख काट्ने कैँची ।
कुखुराले पाडो पायो फुल पार्ने भैँसी !
आज भैँसी कहाँ चर्यो कर्नालीको तीरमा ।
पाडो टिपी चिलले लग्यो कुखुरो लड्यो भीरमा !’
उल्लेखित कविता र नेपाली राजनीति उस्तैउस्तै लाग्छ मलाई । जे नहुनु पथ्र्यो, त्यो हुने र जे हुनुपथ्र्याे त्यो चाहिँ नहुने नेपाली राजनीति र कविताका साझा विशेषता हुन् । कवितामा जस्तै नेपाली राजनीतिमा पनि कैँचीले रुख काट्छ । पाडो टिपेर चिलले लान्छ । भैँसीले फुल पार्छ अनि कुखुरा भीरबाट लड्ेर ठहरै हुन्छ । माछा पानीविना जीवित रहन सक्ला, नेपालका नेताहरू सत्ताविना एकछिन पनि बाँच्न सक्दैनन् ।
संसदीय ब्यवस्थामा सामान्यतया हरेक पाँच बर्षमा आमनिर्वाचन हुन्छ । दल र उम्मेदवारहरू जनताको घर–दैलोमा गएर भोट माग्छन् । नागरिकहरू उनीहरूको योग्यता र प्रतिवद्धताको लेखाजोखा गर्दै मतदान गर्छन् । र अन्त्यमा बहुमत प्राप्त दल वा दलहरूको सरकार निर्माण हुन्छ । यो नै प्रजातान्त्रिक मान्यता हो ।
तर नेपाल त्यस्तो देश हो, जहाँ जे नहुनुपर्थ्यो त्यो हुन्छ । जे हुनु पथ्र्यो त्यो कहिल्यै हुँदैन । ‘पोलिटिकल साइन्स’मा भेटिने राजनीतिको परिभाषा र नेपाली जनताले लगाउने राजनीतिको परिभाषामा आकाश जमिनको भिन्नता पाइन्छ । राजनीति नेपाली जनताको कर्णप्रिय समाचार बनेर कहिल्यै आएन ।
जहाँसम्म संसदीय निर्वाचनको सवाल छ, एक दलले बहुमत ल्याउनु नेपालको निम्ति दुर्लभ घटना जस्तै रह्यो । बहुमत ल्याउनेले पनि तीन वर्षभन्दा बढी सरकार चलाएर देखाउन सकेन । सत्तामा बिराजमान हुनु र सत्ताबाट गलहत्याइन लगाइनु नेपाली राजनीतिका सामान्य घटना हुन भन्दा फरक पर्दैन ।
‘जति ठूलो भ्रष्टाचार, त्यति ठूलो पद ! जब लूटको स्वर्गमाथि संकटको कालो बादल मडारिन थाल्छ, ‘तँ छैनस्, कि म छैन’ भन्दै पाखुरा सुर्किरहेकाहरू युद्धविराम गरी दारु चियर्स गर्न थाल्छन् !’ हाडछाला घोटेर परिवार पाल्न विवश हरेक नेपाली आज यसै भन्छ ! हुन पनि, नेपालमा कुन नेता कति बेला कोसँग ‘डेटिङ्ग’ जान्छन् ? कसको कुन बेला कोसँग ‘इलुइलु’ र ‘ब्रेकअप’ हुन्छ ? कस्तै ज्योतिषले पनि बताउन सक्दैन । तिनीहरूको शब्दकोशमा धैर्य नामको शब्दावली छँदै छैन । उनीहरूको मूल्याङ्कनमा सत्ता सर्वश्व हो । सत्ताबाहिर रहनु समाप्त हुनु हो ।
के सत्ताबाहिर रहनुको अर्थ समाप्त हुनु नै हो त ? त्यसो होइन र हुन पनि सक्दैन । कुनै पनि दल बन्छ त आफ्नै कर्मले अनि समाप्त हुन्छ, आफ्नै कर्मले । दललाई शिखर चढाउने र पाताल धसाउने कुनै सर्वशक्तिमान तागत छ भने त्यो हो उसको चरित्र, विचार अनि कार्यशैली ।
यी विषय उठाउँदा माक्र्सवादको चर्चा गर्नु सान्दर्भिक हुनेछ । माक्र्सवाद भन्छ ‘कुनै पनि चिजको विकाश र विनासको कारण ऊभित्रै हुन्छ । बाहिरी तत्वले त्यसमा सहयोग मात्र गर्ने हो ।’
आज नभए भोलि, असल कर्मले असल परिणाम दिन्छ–दिन्छ । जनता तिनैलाई शिखर चढाउँछन् जो शासक हैन ‘देवदूत’ बन्छन् । सुख–दुःखको सारथी बनेकै कारण बेलायतमा भएको आमनिर्वाचनमा चौध वर्ष प्रतिपक्षमा बसेको लेबर पार्टी झण्डै दुई बिहाइ बहुमतका साथ सरकारमा पुग्न सक्यो । नायकलाई सत्कार, खलनायकलाई दुत्कार ! यो विश्वब्यापि जन–संस्कृति हो ।
नेपालका प्रायः सबै दलहरूको जन्म र विकाश जनताको घर–आँगनमा भएको हो । सत्तासँग पौँठेजोरी खेल्दै उनीहरू हुर्के–बढे । जुन समयमा नेपाली कांग्रेसको जन्म भयो । अथवा जुन बेला नेपाल कम्युनिष्ट पार्टी अस्तित्वमा आयो, त्यतिबेला मुलुकमा राणाहरूको हुकुमी शासन थियो । जनतालाई दल खोल्न त परै जाओस्, मन लागेको बोल्नेसम्म अधिकार थिएन । माले, माओवादी, मधेसी जनअधिकार फोरम‐वर्तमान जसपा, लोसपा आदिको उदय वा विकास सत्तासँग सिँगौरी खेलेरै भएको हो ।
लोकतन्त्रको स्वास्थ्यका निम्ति जनताको सचेत खबरदारी आवश्यक हुन्छ । जनता त्यो तागत हो जसले बादशाहलाई घोडाबाट लछारेर सडकमा पछार्ने ल्याकत राख्छ । क्रान्ति, आन्दोलन र विद्रोहका मौसममा जनताले सत्तालाई आत्मसमर्पण गर्न बाध्य बनाउँछन् । सत्ता मद हो । मदले मानिसलाई अन्धो र विवेकहीन बनाउँछ ।
जब कुनै नेता सत्तारुपी मद पिउँछ, बिरालोबाट बाघ बनेको दिवास्वप्न देख्न थाल्छ । दिवास्वप्नकै कारण जनतासँग उसको सम्बन्ध बिच्छेद हुन सुरु गर्छ । अन्ततः त्यसले उसलाई मात्र नभइ संलग्न दललाई समेत विघटनको संघारमा पुर्याउँछ । सोभियत संघमा सत्तरी वर्षभन्दा बढी शासन गर्ने कम्युनिष्ट पार्टीको पतन र पश्चिम बंगालमा तीस वर्ष सत्तामा रहने माक्र्सवादीहरूको विघटन त्यसको प्रमाण हो ।
कुनै समय यस्तो थियो, कांग्रेसको एक घोषणामा, एमालेको एक सिट्ठीमा अनि माओवादीको सानो सूचनामा देश जुरुक्क उठ्थ्यो । मुलुक ठप्प हुन्थ्यो । नागरिक बलिदानका निम्ति तम्तयार भएर निस्कन्थे ।
त्यो इतिहास हो । इतिहास मेटेर मेटिँदैन । नेपाली कांग्रेसले २०१५ सालमा सत्ताबाहिर बसेरै संसदको दुई तिहाइ सिट जितेको थियो । नेपालको इतिहासमा २००७, २०३६, २०४६, २०६२/२०६३ को क्रान्ति÷जनआन्दोलन, विद्रोह र परिवर्तन सत्तासीनहरूको निगाहमा भएको थिएन ।
किन्तु इतिहासको कुनै कालखण्डमा गरेको क्रान्ति, विद्रोह र आन्दोलनको पारितोषिक जुग–जुग लिन सकिँदैन र लिन खोज्दैमा पाइहाल्ने कुरा पनि होइन । कांग्रेसीहरूले सात सालको ‘क्रान्ति’को, एमालेजनले मनमोहन अधिकारी सरकारको अनि माओवादी पङ्तिले दशवर्षे ‘जनयुद्ध’को ब्याज घामजुन रहेसम्म असुल्न सकिन्छ भनेर सोचेका भए, उक्त सोचबाट टाढा रहनु बुद्धिमानी ठहरिने छ ।
सत्ताको अस्वाभाविक आशक्तिले पार्टीको छविमा ऋणात्मक असर पुर्याउँछ । एक–डेढ वर्षअघि र हालको रवि लामिछानेको पार्टीलाई नियाल्ने हो भने त्यो छर्लङ्ग हुन्छ । सत्ताको अस्वाभाविक आशक्तिकै कारण रवि लामिछाने थुप्रै प्रश्नहरूको घेराभित्र कैद हुन पुगेका छन् ।
नेपाली नेताहरूले बुझ्न नखोजेको तथ्य के पनि हो भने, महात्मा गान्धी राष्ट्रपति वा प्रधानमन्त्री भएनन् तर उनी सत्ताभन्दा शक्तिशाली थिए । गान्धीको घोषणाले सत्तावृत्तमा आठ रेक्टर स्केलको भूकम्पले भन्दा शक्तिशाली धक्का दिन्थ्यो । नेपालमा भने त्यस किसिमको पात्र र प्रवृत्तिको उदय अपवाद जस्तै रह्यो । नेपाल त्यस्तो देश बन्न पुग्यो, जहाँ हुनुपर्ने भएन, नहुनुपर्ने भइरह्यो ! बाल साहित्यको पुस्तक ‘रमाइला नानी’मा जस्तै– ‘पाडो टिपी चिलले लग्यो । कुखुरा भीरबाट लड्यो !’
नेपाली राजनीतिको चर्चा गरिरहँदा निकोलो मेकियावेली प्रासङ्गीक ब्यक्ति हुन आउँछन् । पन्ध्रौँ सताब्दीको उत्तराद्र्धमा जन्मेर सोह्रौँ सताब्दीको पूर्वाद्र्धमा बितेका इटलीका विश्वविख्यात दार्शनिक मेकियाबेलीले आफ्नो पुस्तक ‘दि प्रिन्स’मा शासकहरूलाई सल्लाह दिँदै लेखेका थिए, ‘सिंह र स्याल झैँ होऊ । विश्वासको पालना नगर । प्रेमको होइन, भयको पात्र बन । शक्तिको प्रयोग निर्ममतासाथ गर । अवसरवादी होऊ ।’ आदि–इत्यादि ।
नेपाली राजनीतिज्ञहरूले दिने धोका, गर्ने षड्यन्त्र र उनीहरूमा ब्याप्त अवसरवादी चरित्र हेर्दा लाग्छ, यहाँ न कोही माक्र्सवादी छन् न विपीवादी ! छन् त केवल मेकियावेली स्कुलका मौकापरस्त शिष्यहरू । तिनीहरूलाई माक्र्सवादी वा विपीवादी चस्माले हेर्नु, हेर्नेकै दृष्टिदोष हुन जान्छ । कार्यशैली देख्दा उनीहरू को कम्युनिष्ट, को कांग्रेस, को पूर्व पञ्च ? छुट्याउन गाह्रो पर्छ । दलहरूमा आएको उल्लेखित विचलनकै कारण जनतामा निराशा चुलिँदै गएको छ । र लाग्छ त्यो ज्वालामुखीको तातो लाभा बनेर विष्फोट हुने तयारीमा छ ।
जनता कसैका कठपुतली होइनन् । यो कुरा नागरिकहरूले पटक–पटक सिद्ध गरेर देखाइसकेका छन् । टाढा गइराख्न पर्दैन । गएको निर्वाचनमा दलसँग असम्बद्ध ब्यक्तिहरूले कांग्रेस, एमाले र माओवादी नामक हात्तीछाप दलहरूको पकडमा रहेको बल खोसेर थुप्रै गोल्डेन गोलहरू हाने । बालेन्द्र शाह कांग्रेस–एमाले जस्ता राजनीतिक हात्तीको नाकमा नत्थी लगाएर काठमाण्डु महानगरको प्रमुख भए ।
अर्थशास्त्रमा एउटा फ्रेज छ, ‘अदर थिङ्गस रिमेनिङ् द सेम...।.’ त्यसको नेपाली रुपान्तर ‘अरु कुरा यथावत् रहेमा ....।’ भन्ने हुन आउँछ । त्यस अर्थमा देशमा लुट्ने, हसुर्ने, ब्रह्मलुट मच्चाउने र ‘जति ठूलो भ्रष्टाचार, त्यति ठूलो पुरस्कार’ उक्ति चरितार्थ गर्ने कुपात्रहरूलाई छाडा छाड्दै जाने हो भने निश्चित छ, २०८४ को निर्वाचन हात्तिछाप दलहरूको लागि फलामको च्यूरा चपाएसरह हुनेछ ।