हाम्रो प्राथमिकता के हो युवा विदेश पठाउने या देशमा बसाउने ? नयाँ मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जानेलाई विनाधितो कर्जा दिइने प्रवधान रहेछ । कुनै बेला वैदेशिक रोजगारीमा गएको भुक्तभोगीको हैसियतले टिप्पणी गर्न मनलाग्यो । टाउको दुखेको औषधि नाइटोमा भनेजस्तै भयो यो नीति । समस्या कर्जामा हैन सीपमा छ । सीप नहुनु नै समस्याको कारक हो ।
वैदेशिक रोजगारीमा जाने वर्कपर्मिट पाएका युवालाई विनाधितो कर्जा दिने मौद्रिक नीतिलाई नराम्रो भन्ने आँट कसैले गरेन । यस्तो कर्जा आवश्यक पनि थियो नै । तर, वैदेशिक रोजगारीलाई लाभदायी बनाउन कर्जाभन्दा बढी भाषा, सीप वाञ्छनीय हुन्छ । तर, अहिले अभिमुखीकरणको नाममा प्रमाणपत्र सिवाय केही हुँदैन । फलस्वरूप, सीप नभएका कारण विदेश पुगेर पनि फर्कनुपर्ने स्थिति छ ।
महाभारत कालमा सायद युधिष्ठिरले यक्षलाई दिएको 'परदेशको मित्र धन हो' भन्ने उत्तर सही थियो होला । तर, आजको जमानामा परदेशको मित्र सीप, ज्ञान, कला हुनपुगेको छ । समय बदलिएसँगै कथन, उक्ति पनि फेरिन्छ नै ।
वैदेशिक रोजगारमा जाने यता साहुको चर्को ब्याजको चपेटामा पर्छन् तर त्यसभन्दा पनि उता विदेशमा पुगेपछि कम्पनीको मालिक, रोजगारदाताले खोजेको सीप नभएर रुनुपर्ने अवस्था हुन्छ । वैदेशिक रोजगारमा पठाउने कम्पनीलाई त धन्यवादै दिए हुन्छ । कम्तीमा सरकारले ल्याउन नसकेको कामदारको माग विदेशमा मार्केटिङ्ग गरेर भए पनि ल्याएर रोजगारीको अवसर बढाएका छन् । यो काम त सरकारले गर्नुपर्थ्यो ।
अधिकांश नेपाली अदक्ष श्रमिकमा गएका छन् । हामीले उनीहरूलाई सीप सिकाएर अर्धदक्ष वा दक्ष बनाएर पठाउन सके काममा सहज र ज्याला धेरै त हुन्छ नै दुर्घटना पनि कम हुन्छ । समय अलि बढी लाग्ला तर प्रतिफल राम्रो आउँछ । विडम्बना, मेनपावर एजेन्सी या कामदार दुवैथरीलाई छिटै मुलुक छाड्न र पठाउन पाएर के के नै हुन्थ्यो भन्ने लाग्छ ।
सीप जानेकैलाई त हम्मेहम्मे पर्छ नयाँ मौसम, नयाँ वातावरणमा अनुकूलन गर्न भने सीप नभएको र भाषा नजानेकोलाई कति गाह्रो होला ? अरब मुलुकहरूमा त हिन्दी पनि चल्छ त्यहाँ धेरै भारतीय छन् भन्ने तर्क आउँछ । नेपाली काम गर्न जाने अरब मुलुकहरूमा हिन्दी नजान्ने र नबोल्ने भारतीय धेरै छन् । न अंग्रेजी आउँछ, न त अरबै नै अनि न त सीप नै छ भने अनि विनाधितो ऋण होइन वैदेशिक रोजगारमा जान अनुदानै दिए पनि केही हुनेवाला छैन ।
सन् १९९९ ताका विदेश जाने हुटहुटीमा डिपार्टमेन्ट स्टोर्स, कस्ट्रक्सन कम्पनी र होटल गरी तीनवटा कम्पनीमा अन्तर्वार्ता दिएको थिएँ । डिपार्टमेन्ट स्टोर्सले लिएन तर कन्सट्रक्सन कम्पनी र होटल दुवैले लिए । म होटलमा गएँ । किनभने मेरो अनुभव होटलमा थियो । मेरो पढाइ एकाउन्ट राख्न सक्ने थियो तर अनुभव र सीप होटलको । म होटलमा गएँ र पनि निकै मुस्किल भोगेर फर्केँ ।
वैदेशिक रोजगारमा जानेलाई जुन कामका लागि जाँदैछ त्यही काममा सक्षम र दक्ष बनाएर पठाउने जिम्मेवारी सरकारको हो ।
नेपाली श्रमिकले कार्यस्थलमा पुगेर फिलिपिनो भारतीय, श्रीलंकङ्कन र बंगलादेशीसँग प्रतिस्पर्धा गरेर दक्षता देखाउनुपर्छ । हामीकहाँ न विद्यालय शिक्षा दह्रो छ, न त विश्वविद्यालयको न व्यावसायिक सीपमूलक तालिम नै छ । यसकारण सीप, ज्ञान र कार्यदक्षतामा जोड दिन सके दुर्घटना कम हुनुका साथै तलब भत्ता लेखिएको जति पाउने हुन्छ । साथै काम गर्न नसकेर फर्कने समस्या पनि कम हुन्छ ।
वातावरण, मौसम, सहकर्मी, बसाइउठाइ, लवाइखवाइ, बिदा, स्थानीय भाषाको ज्ञान, काम गर्ने कार्यस्थल आदि पनि महत्त्वपूर्ण हुने छँदैछ तर मूल विषय भने सीप नै हो । सीप नभई विदेश जाने बेला विनाधितो कर्जा पाए पनि काम नजाने पछि कठिनाइ पर्ने बिर्सनु हुँदैन ।
कमजोर कूटनीति, अयोग्य राजदूत तथा दूतावासका कर्मचारी, सीप नजानेका कामदार, अनुदार स्थानीय नीतिनियम, कम तलब सुविधा, प्रतिकूल मौसम, हावापानी चुनौतीकै रूपमा छन् । यता नेपालमा नै पनि कामको खोजीमा मेनपावरमा धाउँदा एजेन्टले दिने पीडा, झुटो सपना, प्रलोभन, बुझाउनुपर्ने पेस्की, मेडिकल खर्च, साहुको ऋण, परिवारको चाजोपाजो, श्रम गर्न जाँदाको पीडा, बिमा, ढोकैपिच्छे हुने ठगी लुट, विमानस्थलका कर्मचारीले गर्ने अभद्र व्यवहार झेलेर उता पुग्दा पनि सीप भएन भने हुने बेहाल न श्रम मन्त्रालयलाई थाहा छ न त सरकारका अरू निकायलाई नै । यसैले वैदेशिक रोजगारीमा जानेहरूलाई ऋण बोकाउन होइन दक्ष बनाएर पठाउन प्राथमिकता दिनुपर्छ ।