site stats
बाह्रखरी :: Baahrakhari
देश
एजेन्टहरूले नेपाली ठग्ने 'हब' यूएईलाई बनाउँदै, हतियार ‘भिजिट भिसा’ 

काठमाडौं । एजेन्टहरूले पछिल्ला वर्षहरूमा युनाइटेड अरब इमिरेट्स (यूएई)का सहरहरूलाई नेपाली ठग्ने ‘हब’ बनाएको पाइएको छ । लोभ, लालच र प्रलोभनमा पारी नेपालीलाई यूएई पुर्‍याइ अलपत्र पार्ने क्रम पछिल्ला वर्षहरूमा बढ्दो छ ।

“यूएईका ठूला कम्पनीमा काम लगाइदिने भनी प्रलोभन तथा अश्वासन दिलाएर भिजिट भिसामा व्यक्तिलाई यूएई ल्याउने र आर्थिक शोषणमा पार्ने गरेको पाइएको छ,” यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बाह्रखरीसँग भने, “यसरी अलपत्र परी दूतावासमा उजुरी दिनेको संख्या निकै ठूलो रहेको छ ।”

एजेन्टको प्रलोभनमा परी यूएई पुगी समस्यामा पर्ने नेपालीको संख्या बढेपछि दूतावासले सोमबार एक सूचना प्रकाशित गरी यूएई आउनुअघि सावधानी अपनाउन अनुरोध समेत गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“विगत केही दिनदेखि नेपालबाट श्रम स्वीकृति लिई वा नलिई यूएईका विभिन्न इमिरेट्समा नेपाली युवा–युवतीलाई ल्याउने क्रम बढ्दो छ,” दूतावासले भनेको छ, “कतिपय कन्सल्टेन्सीहरूले ‘टिकटक’मार्फत प्रचार प्रसार गरी युरोपलगायतका अन्य राष्ट्रहरूमा आकर्षक तलब सुविधाको प्रलोभन देखाई नेपालीले नेपालीलाई नै ठगी गर्ने गरेको पाइएको छ ।”
 
यूएईस्थित नेपाली दूतावासका अनुसार, पछिल्ला प्रत्येक महिनामा ६ सयभन्दा बढी नेपाली कामदारका उजुरी दूतावासमा परेको छ । यस्ता अधिकांश उजुरी एजेन्टहरूले यूएईका विभिन्न सहर ल्याई अलपत्र पर्नेहरूका छन् । यस्ता उजुरी सुल्झाउन दूतावासलाई भ्याई नभ्याई हुने गरेको छ ।

“एजेन्टले झूठा आश्वासन दिएर आफूहरूलाई ठगेको भन्दै पीडितले उजुरी दिन्छन् तर उनीहरूसँग रकम दिएको प्रमाण केही हुँदैन । यस्ता एजेन्टहरू केही यूएईमा र केही नेपालमा बसेर काम गरिरहेको पीडितले दूतावासलाई बताएका छन्,” राजदूत क्षेत्रीले भने ।

पीडितहरूले दिएको जानकारी अनुसार, एजेन्टहरूले मुख्यगरी तीनवटा प्रलोभन देखाई नेपालीलाई यूएई पुर्‍याइ ठग्ने गरेका छन् । 

पहिलो प्रलोभन हो– शिक्षित युवा युवतीलाई यूएईबाट युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलिया पठाइदिने । 

“यूएईमा केही समय बसेपछि यहाँबाट युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियाको भिसा लगाउन सजिलो हुन्छ भन्ने आश्वासन दिएर एजेन्टहरूले नेपालीलाई यहाँ ल्याएको पाइएको छ,” राजदूत क्षेत्रीले भने ।

एजेन्टको प्रलोभनमा परी युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियाको सपना देख्नेहरू धेरैजसो यूएईमा अलपत्र पर्ने गरेका छन् । उनीहरूसँग ठूलो रकम असुली एजेन्टहरू सम्पर्कविहीन हुने गरेका छन् । त्यसपछि पीडितहरू दूतावास आउने गरेको राजदूत क्षेत्रीले जनाए ।

यूरोप, अमेरिका र क्यानडाको प्रलोभनमा पर्ने केहीलाई एजेन्टहरूले यूएईबाट अफ्रिकाका विभिन्न राष्ट्र पुयाई अलपत्र समेत पार्ने गरेका छन् । 

दोस्रो प्रलोभन हो– यूएईका विश्वविद्यालयमा अध्ययन गर्दै काम गर्न पाइने । राजदूत क्षेत्रीका अनुसार, यूएईमा विश्वस्तरीय राम्रा विश्वविद्यालय छन् । ती विश्वविद्यालयमा पढ्न आउने नेपालीको संख्या पनि बढ्दै गएको छ ।

तर, एजेन्टहरूले यसैको फाइदा उठाउँदै यूएईका विश्वविद्यालयमा अध्ययन गर्दै काम पनि प्रशस्त गर्न पाउने आश्वासन दिई नेपालीलाई त्यहाँ लग्ने गरेका छन् । यूएईका विश्वविद्यालयले पनि यूरोप तथा अमेरिकाका विश्वविद्यालयले जस्तै सीमित समय मात्र काम गर्न दिन्छन् ।

“यहाँका विश्वविद्यालय राम्र छन् र महंगा पनि । काम गर्न पाइने प्रलोभनमा परी यहाँ आउने विद्यार्थीले सिमित समय मात्र काम गर्न पाउँछन् । यस्तो हुँदा उनीहरूलाई फि तिर्न गाह्रो हुने गरेको छ र उनीहरू अप्ठेरोमा पर्ने गरेका छन्,” राजदूत क्षेत्रीले भने ।

तेस्रो प्रलोभन हो– श्रम सम्झौता नगरी आउँदा धेरै सेवा सुविधा पाइन्छ भन्ने । यस्तो प्रलोभनमा पर्नेहरूलाई एजेन्टहरूले भिजिट भिसामा यूएई पुर्याउने गरेका छन् । पहिलो, नेपालबाट श्रम स्वीकृति नलिई यूएई जाँदा काम पाउन निकै कठिन हुन्छ । भिसा बदल्नेदेखि अनेक झन्झट व्यहोर्नुपर्छ ।
 
दोस्रो, श्रम स्वीकृति लिई यूएईका कम्पनीमा काम गर्न सुरु गरेका नेपालीलाई एजेन्टहरूले विभिन्न प्रलोभनमा पार्ने गर्छन् । काम गरिरहेको कम्पनीमा भन्दा अर्कोमा गए धेरै सेवा सुविधा दिलाउने एजेन्टको आश्वासनमा परी केही दिनमै शर्त वमोजिमका काम गर्न इन्कार गरी बिना सूचना कम्पनी छाडी भाग्ने गर्छन् । 

त्यसपछि उनीहरू अवैध बन्छन् । अवैध बनेपछि एजेन्टले फँसायो भन्दै उनीहरू दूतावास पुग्ने गर्छन् । “सीप, पढाई र अनुभव नभएका व्यक्तिहरूलाई धेरै तलब दिन्छु भनेर यूएई ल्याउने र यहाँ ल्याइसकेपछि उनीहरूलाई अलपत्र पारी एजेन्ट भाग्ने गरेका छन्,” राजदूत क्षेत्रीले भने ।

एजेन्टहरूले नेपालीलाई यूएई लगि ठगी गर्ने मुख्य हतियारको रुपमा ‘भिजिट भिसा’लाई प्रयोग गरेका छन् । यूरोप तथा अमेरिका पठाइदिने बाहनामा होस् या यूएईकै विश्वविद्यालयमा भर्ना गरिदिने राम्रो सेवा सुविधा भएको रोजगारी लगाइदिने वहाना, एजेन्टहरूले उनीहरूलाई भिजिट भिसामा यूएई पुर्‍याउने गरेका छन् । यसै कारण पछिल्ला वर्षहरूमा भिजिट भिसामा यूएई जानेको संख्या ह्वात्तै बढेको छ । 

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा २ लाख ४ हजार ५१८ जना नेपाली विभिन्न देश गएका थिए । यीमध्ये ५५ हजार ६१८ जना यूएई गएका थिए ।

तर यूएई सरकारले अबुधाबीस्थित नेपाली दूतावासलाई दिएको तथ्याङक भने फरक छ । यूएई सरकारले दिएको जानकारी अनुसार, सन् २०२३ मा १ लाख ७५ हजार नेपाली भिजिट भिसामा यूएई पुगेका थिए ।

नेपालबाट यूएई जान भनी भिजिट भीसामा उडेका भन्दा यूएईमा भिजिट भीसामा पुग्ने नेपालीको संख्या १ लाख १९ हजार ३८२ ले बढी देखिएको छ । यसले के स्पष्ट देखाउँछ भने नेपालबाट भन्दा ठूलो संख्यामा नेपाली भारत, बंगलादेश र श्रीलंका  हुँदै भिजिट भिसामा यूएई जाने गरेका छन् ।
 
कति नेपालीलाई त एजेन्टहरूले ओमान, बहराईन लगि त्यहाँबाट यूएई छिराउने गरेको पाइएको छ । पछिल्लो समय एजेन्टहरूले नेपालीलाई भिजिट भीसामा युएई हुँदै मस्को पुर्‍याएर रुसी सेनामा भर्ती गराउने गरेको समेत खुलेको थियो । त्यसपछि नेपाल सरकारले भिजिट भिसामा यूएई जानेमाथि कडाई गरेको थियो ।

अध्यागमन विभागका अनुसार अघिल्लो वर्ष सन् २०२२ मा भिजिट भिसामा विदेश जाने नेपालीको संख्या १ लाख ७७ हजार ३१० थियो । तर उक्त वर्ष भिजिट भिसामा २ लाख ५५ हजार नेपाली यूएई पुगेका थिए ।

उक्त वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा जति नेपाली विदेश गएका थिए त्योभन्दा ठूलो संख्या भिजिट भिसामा यूएई पुग्नेको थियो । अध्यागमन विभागको तथ्याङ्क अनुसार, सन् २०२० को अगष्टदेखि डिसेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा यूएई जानेको संख्या मात्र ७ हजार ७४९ रहेको थियो ।

सन् २०२१ मा आउँदा भिजिट भिसामा यूएई जानेको संख्या ह्वात्तै बढेको थियो । सन् २०२१ मा ७२ हजार ९४ जना नेपाली भिजिट भिसामा त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएई गएका थिए ।

भिजिट भिसामा नेपालीलाई यूएई लगी ठगी गर्ने कार्यमा ह्युमन रिसोर्स कन्सल्टेन्सी, इजाजतवाला मेनपावर कम्पनी, मेनपावर कम्पनीका प्रतिनिधि, यूएईस्थित स–साना कम्पनीका सञ्चालक र एजेन्ट संलग्न रहेको दाबी दूतावासको छ ।

एजेन्टका षडयन्त्र तथा जालझेलबाट हुने ठगी तथा आर्थिक शोषणबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने दूतावासको आग्रह छ । यूएईको कुनै पनि कम्पनीमा काम गर्न आउनुभन्दा अघि कम्पनीकाबारेमा तथा कम्पनीले उपलब्ध गराउने तलब र सेवा सुविधाबारे राम्रोसँग बुझेर मात्र आउन दूतावासको सुझाव छ ।

भिजिट भिसामा आउनुभन्दा अघि सोसम्बन्धी आधारभुत कुराहरूबारे स्पष्टसँग जानकारी प्राप्त गर्नुपर्ने राजदूत क्षेत्री बताउँछन् ।
 
भिजिट भिसामा वा श्रम स्वीकृति लिएर आएका व्यक्तिहरूले युरोपका विभिन्न मुलुकहरू तथा अमेरिका लगायतका अन्य राष्ट्रमा रोजगारीका लागि जाने कार्य विद्यमान कानुन विपरित हुने भएकाले आधिकारिक निकायबाट सूचना तथा वास्तविकता बुझेर मात्र आफ्नो भिसा प्रक्रिया अघि बढाउनुपर्ने दूतावासको सुझाव छ ।

आर्थिक कारोबार गर्दा बैंकिङ च्यानलमार्फत मात्र गर्न पनि दूतावासले भनेको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्