site stats
बाह्रखरी :: Baahrakhari
देश
व्यवसायी बानियाँमाथि खुँडा प्रहार गर्ने पाँच पक्राउ, चारजना अझै फरार

काठमाडौं । रेष्टुरेन्ट व्यवसायी मनोज बानियाँमाथि खुँडा प्रहार गर्ने दिपक वान्तवा राई पक्राउ परेका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए ।

राई पक्राउ परेसँगै मनोजमाथि खुँडा प्रहार गर्ने समूहका पाँचजना पुगेको हो । चुनीखेलामा निर्माणाधीन बानियाँकै रिसोर्टमा असार ७ गते ज्यान मार्ने उद्देश्यले खुँडा प्रहार भएको थियो ।

खुँडा प्रहारबाट घाइते मनोजको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । उनको बायाँ हात र खुट्टा तथा तीघ्रामा गहिरो चोट लागेको थियो ।

प्रहरीको अनुसन्धानका क्रममा घटनामा भैँसेपाटीस्थित गोकुल आवासका राजेश केसीको योजनामा उनीमाथि खुँडा प्रहार भएको थियो ।

केसीसहित उनका सहयोगी सुरेन्द्र महर्जन, आयुमान अधिकारी र आलिङ्कन लामिछाने भने यसअघि नै पक्राउ परेका थिए । घटनामा संलग्न स्नोप भण्डारी, विभाग गुरुङसहित चारजना अझै फरार रहेको एसपी सुवेदीको भनाइ छ ।

उनीहरूको समेत खोजीकार्य जारी छ । घटनालगत्तै ललितपुर प्रहरीको विशेष टोली र उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी चक्रबहादुर मल्ल नेतृत्वको टोलीले अनुसन्धान थालेको थियो ।

जग्गासम्बन्धी कारोबार गर्दै आएका केसी र बानियाँबीच जग्गाकै विषयमा कुरा नमिलेपछि वान्तवासहितका युवाहरूलाई सुपारी दिएर खुँडा प्रहार गरेको खुलेको छ । 

प्रहरीका अनुसार पक्राउ परेका महर्जन र वान्तवा यसअघि समेत जेल पुगेका थिए । महर्जन प्रहरीकै हत्या गरेको आरोपमा १० वर्ष र राई लागुऔषध मुद्दामा जेल बसेको पाइएको छ । 

 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्