site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मौद्रिक नीति बैंक र व्यवसायी बचाउने सञ्जीवनी बुटी बन्नुपर्छ : अध्यक्ष ढकाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवसायी तथा वित्तीय क्षेत्रलाई बचाउने गरी सञ्जीवनी बुटी बन्ने गरी आउनुपर्ने बताए ।

Argakhachi Cement Island Ad

उनले उत्पादनमूलक उद्योगको क्षमता बढाउँदै बैंकको ब्याजदर विगतको भन्दा कम गर्ने विषय नीतिले बोल्नुपर्ने बताए । उनले मागमा आएको संकुचनका कारण उद्योगीहरूले ऋण तिर्ने नसकेको भन्दै मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने बताए ।

"पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवर्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्छ । कर्जा प्रवाह सहज र सुलभ गरिनुपर्छ । निक्षेपको तुलनामा कर्जा प्रवाह आधामात्रै बढेको छ । नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन र निजी क्षेत्रको गिर्दो मनोवलका कारण नयाँ लगानीका योजनासमेत स्थगन भइरहेका छन् । गाउँ र साना लगानीका क्षेत्रमा लगानी वृद्धि गर्न बैंकलाई प्रोत्साहन गरिनुपर्छ । सहकारी र लघुवित्तमा आएको समस्यापछि गाउँ–गाउँमा कर्जा प्रवाह साँघुरिएको अवस्था छ," उनले भने ।

उनले सबै ऋणीले नियतवश कर्जा नतिरेको नभई वास्तविकरूपमै समस्यामा परेर बैंकको ऋण तिर्न नसकेको बताए । उनले कर्जा चुक्ता गरेलगत्तै व्यवसायी तथा कम्पनीलाई कालो सूचीबाट हटाउने व्यवस्था गर्न सुझाव पनि दिए ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २२:१५
प्रतिक्रिया दिनुहोस्