site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विद्या भण्डारीलाई ओलीको जवाफ– राम्रै बोल्नुहुन्छ, थाहा छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार (असार १४) सँगै एउटै मञ्चमा उपस्थित भएका छन् । भण्डारी पार्टी राजनीतिमा फर्कने चर्चा र ओलीसित सम्बन्ध चिसिएको टिप्पणी भइरहेका बेला मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जबजका तीन दशक : राष्ट्रिय गोष्ठी’मा उनीहरू एकसाथ देखिएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिले बोले । उनी शनिबारै स्पेन प्रस्थान गर्ने कार्यक्रम छ । त्यही कारण उनी पहिला बोलेका भनिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भण्डारीले आफ्नो भनाइ सुनेर जान आग्रह गरेको ओलीले जानकारी गराए । उनले भण्डारीले ‘राम्रै’ बोल्ने गरेको उल्लेख गरे । भण्डारीको आग्रह सुनाउँदै उनले भने, “राम्रै बोल्नुहुन्छ, थाहा छ । आज मात्रै होइन, सुन्दै आएको हो ।”

फाउन्डेसनका संरक्षक समेत रहेका प्रधानमन्त्री ओली प्रमुख अतिथितका रूपमा कार्यक्रममा निम्त्याइएका हुन् । भण्डारी विशिष्ट अतिथिका रूपमा उपस्थित भएकी हुन् । त्यसो त ओली नेकपा (एमाले)का अध्यक्ष र भण्डारी राष्ट्रपति हुनुअघि पार्टी राजनीतिमै सक्रिय थिइन् । ओली र पार्टीकै जोडबलमा उनी राष्ट्रपति भएकी थिइन् । यति बेला भने पार्टीमा फर्कने भण्डारीको कसरतले ओली चिढिएका एमालेकै केही नेताको भनाइ छ ।

कार्यक्रममा ओलीले एमाले ‘ध्वस्त’ हुने सपना नदेख्न पनि आग्रह गरे । केही विरोधीले भण्डारी पार्टीमा फर्कने र उनले ‘बम’ पड्काउने आस गरेका ओलीले टिप्पणी गरे ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्