
काठमाडौं । करिब २१२ किलो गाँजासहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–४, पालुङका २८ वर्षीय रवि कार्की, थाहा–१२, टिस्टुङका ४६ वर्षीय वीरबहादुर गोले, हेटौँडा उपमहानगरपालिका–१४, उत्तरपानीका २३ वर्षीय साजन मोक्तान र धादिङको थाक्रे गाउँपालिका–७, आपसीचोकका ३१ वर्षीय महेश तमाङ छन् ।
बाराको परवानीपुर गाउँपालिका–५, बहुअरीबाट अवैध लागुऔषध गाँजा २१२ किलो ९२८ ग्रामसहित शनिबार (असार १४) बिहान उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
उनीहरू हेटौँडाबाट बारातर्फ जाँदै गरेको प्र.३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडीमा सवार थिए । जाँच गर्ने क्रममा गाडीमा धानको भुसको बोरामा लुकाइएको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्ये रवि उक्त गाडीचालक हुन् । अरू तीनजना त्यसमा सवार थिए ।