site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घट्दै मनसुनको सक्रियता, के हुन्छ वर्षा ?

काठमाडौं । पानी पार्ने मौसमी प्रणाली मनसुनको सक्रियता सोमबार (भोलि)देखि केही घट्ने सम्भावना छ । मनसुनको सक्रियतामा कमीसँगै वर्षाको मात्रा पनि घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा यसअघि नेपालनजिक थियो । त्यसको प्रभावले देशभर ‘भारी’ वर्षा भएको थियो । उक्त न्यूनचापीय रेखा सोमबारदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने महाशाखाले आइतबार दिउँसो जारी गरेको मनसुन विशेष मौसम बुलेटिनमा उल्लेख छ ।

मनसुनको सक्रियता घटे पनि उक्त अवधिमा पानी नै नपर्ने भन्ने हुँदैन । सोमबारदेखि केही दिन कोसी र गण्डकी प्रदेशका अधिकांश स्थानमा ‘हल्का’देखि ‘मध्यम’ वर्षाको सम्भावना छ । ती प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले स्पष्ट पारेको छ ।

उक्त अवधिमा मधेस, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“वर्षाको कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,” बुलेटिनमा उल्लेख छ ।

मनसुन धेरै सक्रिय हुँदा गएको शुक्रबारयता देशका कतिपय स्थानमा ‘अति भारी’ वर्षा समेत भएको थियो । काठमाडौं उपत्यकामा शनिबार ‘धेरै भारी’ वर्षा मापन गरिएको थियो ।

महाशाखाले जारी गरेको पछिल्लो विशेष बुलेटिनमा भारी वर्षाबारे उल्लेख छ । तर, धेरै भारी र अति भारी वर्षाको चेतावनी दिइएको छैन ।

कुनै स्थानमा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा भनिने महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालले जानकारी दिए । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिने उनले बताए ।

मौसमविद्का अनुसार, कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई भारी वर्षा भनिन्छ । २४ घण्टामा १० देखि ५० मिलिमिटरलाई हल्कादेखि मध्यम र १ देखि १० मिलिमिटरसम्म पानी पर्नुलाई हल्का वर्षा भनिन्छ ।

तत्काललाई घटे पनि मनसुन फेरि सक्रिय हुने सम्भावना हुन्छ ।

महाशाखाका अनुसार, नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ हो । यो वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो गरी नेपाल प्रवेश गरेको थियो । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro