site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेमा फरक भूगोलको जिम्मेवारी हटाइँदै : केन्द्रीय सदस्यलाई निर्वाचन क्षेत्रमा खटाइने 

काठमाडौं । एमाले आफ्ना नेताहरूलाई जिल्ला र निर्वाचन क्षेत्रमा केन्द्रित गराउने तयारी गरेको छ । एमालेले त्यसका लागि केन्द्रीय नेताहरूको कार्यविभाजन गर्न लागेको हो । 

पदाधिकारीसहित केन्द्रीय नेताहरूलाई तेह्र महिनाअघि जिम्मेवारी दिइएको थियो । पदाधिकारीसहित स्थायी कमिटी सदस्य, पोलिट्ब्यूरो र केन्द्रीय सदस्यहरूलाई फरक भूगोलमा खटाइएको थियो । जसअनुसार स्थायी कमिटी र पोलिट्ब्यूरो सदस्यलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरूलाई पालिका इन्चार्जको जिम्मा दिइएको थियो । 

अब भने फरक भूगोलको जिम्मेवारी हटाइने तयारी गरिएको छ । अब पहिले जस्तै घर–क्षेत्रकै जिम्मेवारी दिने तयारी गरेको सचिव पद्मा अर्यालले जानकारी दिइन् । आफू रहेको भन्दा फरक भूगोलको कार्यवधिको समायावधि सकिएकाले त्यसमा पुनर्विचार गर्न लागिएको उनले जानकारी दिइन् । 

उनले बाह्रखरीसँग भनिन्, “पहिले घरक्षेत्रको जिम्मेवारी थियो । अघिल्लोपटक एक वर्षका लागि फरक क्षेत्रमा खटाइएको थियो । त्यो कार्यकाल सकिएको छ । त्यसैले पार्टीले नयाँ ढंगले पुनर्विचार गर्छ । अब पहिले जस्तै घर क्षेत्रकै जिम्मेवारीमा जाला ।” 

एमालेमा फरक भूगोलमा खटाउने निर्णय नेताहरूमा असन्तुष्टि देखिएको थियो । नेता अर्को क्षेत्रमा जाँदा पार्टीको समस्या पहिचान र समाधानका लागि सजिलो हुने निष्कर्ष एमालेले निकालेको थियो । 

नेताहरूले भने फरक क्षेत्रमा खटाइँदा आगामी चुनावमा असर पर्ने भन्दै असन्तुष्टि जनाएका थिए । एमालेले आगामी ०८४ को निर्वाचन लक्षित गरेर घरक्षेत्रमै नेताहरूको कार्यविभाजन गर्न लागेको हो ।

जसअनुसार एमालेले केन्द्रीय सदस्यहरूलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा केन्द्रीत रहनेगरी जिम्मेवारी दिन लागेको हो ।  “केन्द्रीय सदस्यलाई यसअघि पालिकामा खटाइएको थियो । अब त्यसभन्दामाथिका तहमा खटाइने छ । यसपटक जिल्ला र निर्वाचन क्षेत्रलाई केन्द्रित गरी जिम्मेवारी दिन लागिएको छ,” सचिव अर्यालले भनिन् ।

एमालेले त्यसबारे छलफलका लागि मंगलबार दिउँसो सचिवालय बैठक बोलाइएको छ । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा नेतृत्व व्यवस्थापनबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

“हाम्रो कार्यविभाजन भएको जेठ मसान्तमा एक वर्ष भयो । अब नयाँ कार्यविभाजन गर्नुपर्नेछ । भोलिको बैठकमा नेतृत्व व्यवस्थापनबारे छलफलको एजेन्डा छ,” उनले बाह्रखरीसँग भने । 

एमालेले जिल्ला इन्चार्जको जिम्मेवारी पोलिट्ब्यूरो सदस्य र निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मा केन्द्रीय सदस्यलाई दिन लागेको हो । यसअघिको केन्द्र्रीय समितिको बैठकले यसबारे निर्णय गर्ने जिम्मेवारी सचिवालय बैठकलाई दिइएको थियो । 

“आमरुपमा केन्द्रीय कमिटीका सदस्यहरूलाई प्रतिनिधिसभाअन्तर्गतको निर्वाचन क्षेत्रका इन्चार्जको जिम्मेवारी र नियमित बस्ने पोलिट्ब्यूरो सदस्यलाई जिल्लाको इन्चार्ज बनाउने तयारी छ,” गौतमले बाह्रखरीसँग भने । 

एक पदाधिकारीले भने भोलिकै सचिवालय बैठकबाट सो निर्णयको सम्भावना कमै रहेको बताए । सरकारमा जानेहरूको टुंगो लागिसकेपछि कार्यविभाजन गर्नुपर्ने आवाज आएकाले केही पछि मात्रै त्यो निर्णय हुने उनको भनाइ छ । 

“सरकारमा कसलाई लैजाने भन्नेमा छलफल अध्यक्ष (केपी शर्मा ओली)ले गरिरहनुभएकै होला । सरकारमा जानेहरूको टुंगो लागेपछि जिम्मेवारी हेरफेर गर्नुपर्ने मत पनि छ । सम्भवतः सरकारमा जानेहरूको टुंगो लागिसिकेपछि यसबारे निर्णय होला,” ती पदाधिकारीले बाह्रखरीसँग भने । 

एमालले आगामी चुनावको तयारी गर्नेगरी जिम्मेवारी दिन लागेको नेताहरू बताउँछन् । आफ्नै क्षेत्रमा काम गर्दा चुनाव जित्न सजिलो हुने केन्द्रीय सदस्यहरूको मत छ । तर, संगठन विभाग प्रमुख काशिनाथ अधिकारी भने चुनाव नभएर संगठन सुदृढ बनाउन नयाँ जिम्मेवारी दिन लागिएको बताउँछन् । 

“आगामी चुनाव त परको कुरा भयो । चुनाव लक्षित होइन । नेताहरूको क्षमता, अनुभवका आधारमा घर पाइक मिल्ने गरी नयाँ ढंगले कार्यविभाजन हुन्छ । त्यसको गृहकार्य भइरहेको छ,” उनले भने ।
 
०८१ लाई सुदृढीकरण र शुद्धीकरणको वर्ष बनाउने तयारी भएकाले नयाँ कार्यविभाजन गरिदा त्यसलाई केन्द्रमा राखिने उनी बताउँछन् । 

पार्टी कामलाई सुदृढ गर्ने कुरामा केन्द्रित हुन्छ । ०८१ लाई सुदृढीकरण र शुद्धीकरणको वर्ष बनाउने कुरा छ । त्यो नै केन्द्रित रहेर कार्यविभाजन हुन्छ,” उनले भने ।

फरक भूगोलको जिम्मेवारीको समग्र समीक्षा भने आउन बाँकी रहेको उनले बताए । “कतिपय ठाउँमा राम्रो पनि भएको छ । कतिपय ठाउँमा असहज, पुग्न समस्या पनि छ । समग्र समीक्षा त आइसकेको छैन,” अधिकारी भन्छन् ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro