site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कतै धेरै भारी, काठमाडौंमा भोलि मध्यम वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आइतबार (भोलि) भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, आइतबार कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकीका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।

“गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ,” महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

शनिबार राति र आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना छ । “यो समयमा वर्षा नै नहुने भन्ने त हुँदैन, कतिसम्म हुन्छ भन्ने हो,” महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बाह्रखरीसित भने, “काठमाडौंमा मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना छ ।”

काठमाडौंभित्र पनि केही क्षेत्रमा वर्षाको सम्भावना सधैँ बढी हुन्छ । काठमाडौंको दक्षिण–पूर्वी भूभागमा पानी पर्ने सम्भावना धेरै हुन्छ । उत्तर–पश्चिम क्षेत्रमा वर्षाको सम्भावना कम हुने उनले बताए ।

“सिटीमा कम नै हुन्छ । धाप, सुन्दरीजल, बूढानीलकण्ठ, झोरतिर वर्षाको सम्भावना बढी हुन्छ,” उनले भने, “मातातीर्थ, चन्द्रागिरितिर पानी पर्ने सम्भावना काठमाडौंकै अरू ठाउँको तुलनामा कम हुन्छ ।”

‘सिटी’ क्षेत्रमा पनि भारी वर्षा हुनसक्छ । तुलनात्मक रूपमा भने सम्भावना कम हुने मौसमविद् अर्यालले स्पष्ट पारे ।

वर्षा मापन
महाशाखाका अर्का मौसमविद् सञ्जीव अधिकारीका अनुसार, कुनै एक स्थानमा १२ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ । १२ घण्टामा १० मिलिमिटरसम्मको पानी हल्का वर्षा हो ।

१२ घण्टामा १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ । “कुनै ठाउँमा एक घण्टामै ४० मिलिमिटर पानी पर्‍यो भने त्यो तत्कालका लागि धेरै होला, तर १२ घण्टालाई आधार मानेर हेर्दा त्यो मध्यम वर्षा हो,” उनले भनेका छन् ।

१२ घण्टामा १०० देखि २०० मिलिमिटरसम्मको पानीलाई धेरै भारी वर्षा भनिने उनले बताए । “१२ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी पर्‍यो भने अति भारी वर्षा भन्ने गरेका छौँ,” उनले भनेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro