site stats
बाह्रखरी :: Baahrakhari
देश
अझै सक्रिय हुँदै मनसुन, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । अबका केही दिन मनसुन थप सक्रिय हुने सम्भावना छ । पानी पार्ने मनसुन प्रणाली सक्रिय हुँदा वर्षाको सम्भावना बढी हुन्छ ।

विशेष गरी पूर्व र मध्य क्षेत्रमा मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “अझै एक्टिभ (सक्रिय) हुने सम्भावना छ । दुई/तीन दिन मनसुन अझै सक्रिय हुने देखिन्छ,” महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बाह्रखरीसित भने ।

पूर्वी भूभाग, वाग्मती र गण्डकी प्रदेशसहित मध्य क्षेत्र र लुम्बिनी प्रदेशसम्म मनसुन थप सक्रिय हुने सम्भावना छ । यीबाहेकका भूभागमा पनि मनसुनको प्रभाव भने रहने उनले स्पष्ट पारे ।

Argakhachi Cement Island Ad

“मनसुनको प्रभाव त देशैभरि छ, यी भूभागमा बढी वर्षाको सम्भावना छ,” उनले भने, “यसमा पनि मधेस प्रदेशमा भारी वर्षाको सम्भावना कम देखिन्छ ।”

मनसुनको थप प्रभाव देखिने भनिएका क्षेत्रमा पनि सबैतिर एकनासको वर्षा नहुने उनले बताए । कतै ठूलो र केही ठाउँमा हल्का/मध्यम वर्षा पनि हुन सक्ने उनले उल्लेख गरे ।

“सबैतिर उस्तै पानी नपर्न सक्छ । खण्डित भारी वर्षाको सम्भावना देखिन्छ,” उनले भने ।

पानी पार्ने प्रणाली न्यूनचापीय क्षेत्र हाल उत्तरतर्फ (नेपाल)नजिक छ । सोही कारण मनसुन थप सक्रिय हुनेछ । केही स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने मौसमविद् अर्यालले बताए ।

वर्षा मापन
महाशाखाका अर्का मौसमविद् सञ्जीव अधिकारीका अनुसार, कुनै एक स्थानमा १२ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ । १२ घण्टामा १० मिलिमिटरसम्मको पानी हल्का वर्षा हो ।

१२ घण्टामा १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ । “कुनै ठाउँमा एक घण्टामै ४० मिलिमिटर पानी पर्‍यो भने त्यो तत्कालका लागि धेरै होला, तर १२ घण्टालाई आधार मानेर हेर्दा त्यो मध्यम वर्षा हो,” उनले भनेका छन् ।

१२ घण्टामा १०० देखि २०० मिलिमिटरसम्मको पानीलाई धेरै भारी वर्षा भनिने उनले बताए । “१२ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी पर्‍यो भने अति भारी वर्षा भन्ने गरेका छौँ,” उनले भनेका छन् ।

 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्