विराटनगर । मोरङमा बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ भने दुई महिला बेपत्ता छन् । बूढीखोलामा माछा मार्ने क्रममा बाढीले बगाउँदा सुन्दरहरैंचा नगरपालिका–५ की २२ वर्षीय प्रेमकला चौधरीको मृत्यु भएको छ ।
बाढीले बगाउँदा ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फूला चौधरी बेपत्ता छन् । दुवैको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । ती महिलाहरू समूहमा माछा मार्ने क्रममा बाढीको चपेटामा परेका थिए ।
त्यस्तै, विद्यालय जाने क्रममा गोविने खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी गाउँपालिका–४, याङ्शीलाका ११ वर्षीय श्याम राई छन् ।
साथीहरूसँगै खोला तर्ने क्रममा राईलाई बगाएको थियो । उनी स्थानीय जनकल्याण माध्यमिक विद्यालयमा कक्षा–६ मा अध्ययनरत थिए । साथीहरू निस्किए पनि राई भने भेलमा फसेर बगेको बताइएको छ ।