site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
नेतृत्व सत्तामा टाँसिदा माओवादीमा विशेष महाधिवेशन र अभियान अनिश्चित 
SkywellSkywell

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा निर्णय गर्ने तर कार्यान्वयनमा ध्यान नदिने प्रवृत्ति देखिएको छ ।  सत्ताको नेतृत्वकर्ता पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारी व्यस्तताले पार्टी निर्णय छायामा परेको हो । 

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहाचिवद्वय वर्षमान पुन र शक्तिबहादुर बस्नेत केन्द्रीय सरकारमा मन्त्री छन् । केन्द्रमा चार मन्त्री र प्रदेशमा पनि सरकारमा रहँदा पार्टीको काममा ध्यान पुग्न नसकेको नेताहरूको भनाइ छ । 

सत्तामा केन्द्रित हुँदा माओवादीकै विशेष महाधिवेशन र घोषित अभियान अनिश्चित बनेको छ ।

Dabur Nepal
NIC Asia

सरकारबाहिर रहेका एक पदाधिकारी भन्छन्, “पार्टी अध्यक्ष नै प्रधानमन्त्री भएपछि सरकारी काममा व्यस्त हुनुहुने नै भयो । अरु पदाधिकारी पनि सरकारमा हुनुहुन्छ । जसले गर्दा पार्टीका नियमित गतिविधिबाहेक पहिलेका निर्णय कार्यान्वयन हुन सकेको छैन ।” 

हुन त, प्रचण्ड गठबन्धन फेरि सत्ता जोगाउनुपर्ने अवस्थामा छन् । माओवादीसँग प्रतिनिधिसभामा ३२ सांसद छन् ।  उनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘जादू नम्बर’का कारण सरकारबाट आफूहरूलाई कसैले हटाउन नसक्ने जिकिर गरे ।

“हामीलाई हटाउन सजिलो छैन । इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादु नम्बरको कारणले पनि । जादु नम्बर छ हाम्रो । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन,” उनले भने, “जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाइहाल्छ । त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन ।”

०७८ पुसमा राष्ट्रिय सम्मेलनको तयारी गरेर अन्तिम समयमा आठौं महाधिवेशनमा रुपान्तरण गरिएको थियो ।  पार्टीका अध्यक्षबाहेक पदाधिकारी चुन्न नसकेको अधिवेशनमार्फत ६ महिनाभित्रै विशेष महाधिवेशन गर्ने उद्घोष गरिएको । तर, विशेष महाधिवेशनको मिति अझै तोकिएको छैन ।
 
बरु माओवादीले ०८० फागुनमा विधान अधिवेशन भने गर्‍यो । विधानको कार्यान्वयन गर्दै छिट्टै विशेष महाधिवेशन गर्ने उद्घोष अध्यक्ष प्रचण्डले गरेका थिए ।  उनले शनिबार सोही कार्याक्रममा छिट्टै महाधिवेशनको मिति तोकिने कुरा दोहोर्‍याए । 

उनले आगामी केन्द्रीय कमिटीको बैठकबाट मिति तय गरिने कार्यक्रममा बताए ।
 
“अबको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्छ । पहिला पनि हामीले ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गरेका थियौं । सायद त्यस्तै दिन छानेर महाधिवेशनको उद्घाटन गर्र्छाैं । नयाँ विचारको संश्लेषण गर्छौं,” प्रचण्डले भनेका थिए, “नयाँ अभियानसहित लान्छौं ।”

उनले आगामी दिनमा देशको एकतालाई बचाउन सक्ने पार्टी माओवादी नै हो भन्ने अवस्था बन्ने ठोकुवा पनि गरे । 

विशेष महाधिवेशनको मिति तोक्न बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक हालसम्म निश्चित छैन ।  पार्टीका केन्द्रीय कोषाध्यक्ष समेत रहेका कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बैठक बस्ने मिति तय भइनसकेको जानकारी दिए । 

“बजेट पारित भएपछि पदाधिकारी बैठक चाहिँ बस्ला । केन्द्रीय कमिटी बैठकको मिति तोकिएको छैन । बैठक छिट्टै बस्ने सम्भावना पनि कम नै छ,” उनले बाह्रखरीसँग भने । 

उनले विशेष महाधिवेशनको तयारी नभए पनि संगठनात्मक काम भइरहेको जानकारी दिए । माओवादीका वडाको सम्मेलन भइरहेका छन् । 

“विशेष महाधिवेशनको मिति तोकिएपछि प्रतिनिधि तलैबाट चुनिएर आउने हो । संगठनात्मक काम भइरहेको छ,” उनले भने, “वडाका सम्मेलन भएका छन् । जनवर्गीय संगठन, मोर्चाका भेला भइरहेका छन् । वडाको सम्मेलनपछि पालिकाको हुन्छ ।”
 
पार्टी सचिव देवेन्द्र पौडेलले विशेष महाधिवेशन यही वर्षभित्र हुने गरी छलफल भइरहेको बताए । “बजेट पास भएपछि पदाधिकारी बैठक बस्छौं । विशेष महाधिवेशनबारे छलफल गर्छौंं । यो वर्षभित्र गर्नेगरी छलफल भइरहेको छ” उनले भने ।
 
पार्टी महासचिव देव गुरुङ समय आएपछि महाधिवेशन हुने बताउँछन् । तर, उनले त्यो समय कहिले आउँछ भन्ने चाहिँ खुलाएनन् । “समय आएपछि भइहाल्छ नि !,” उनले भने । 

विशेष महाधिवेशनमा विप्लवसमेतलाई समेट्ने चर्चा 

माओवादीले विशेष महाधिवेशनमा पूर्व माओवादीहरूलाई समेटेर लैजाने तयारी पनि गरेको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट अलगिएको समूह माओवादीसँग एकताको प्रक्रियामा छ ।

माओवादीको चुनाव चिह्नबाट निर्वाचित महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठसहितका नेताहरूले यसअघि नै पार्टी एकताका लागि सहमति गरिसकेका छन् । उनीहरूसँगै रहेकाहरूलाई विशेष महाधिवेशनबाट समेटेर लैजाने तयारी छ । 

त्यस्तै, नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पनि एकताका लागि छलफल भइरहेको नेताहरू बताउँछन् । “पूर्व माओवादीहरूलाई समेटेर लैजान सकिन्छ कि भन्ने प्रयास भइरहेको छ । विप्लवजीहरूसँग पनि छलफल भइरहेकै छ,” पौडेल भन्छन् । 

अभियान अलपत्र 

माओवादीले ०८० भदौ–पुससम्म पार्टीको रुपान्तरण विशेष अभियान चलाएको थियो । अभियानका लागि केन्द्रीय नेताहरूलाई वडा तहसम्मै खटाएको थियो । उक्त अभियानले सोचेजति उपलब्धि हासिल नगरे पनि त्यस्तो अभियानलाई विभिन्न नामबाट निरन्तरता दिने निर्णय माओवादीले गरेको थियो ।

२०८० फागुनमा बसेको केन्द्र्रीय समिति बैठकले सहरी क्षेत्र र तराई–मधेसमा संगठन सुदृढीकरण विशेष अभियान चलाउने निर्णय गरेको थियो ।  जसमा मधेस तराई (पूर्वपश्चिम) अभियान र हिमाल–तराई जोड्ने (उत्तर–दक्षिण) दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, ती अभियान स्थगन भइसकेको छ ।

पार्टी कार्यालयका मुख्यसचिव ढकालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको व्यस्तताका कारण अभियान स्थगित भएको स्वीकार गरे । अब अभियान वर्षा सकिएपछि मात्रै हुन सक्ने उनले बताए । 

महासचिव गुरुङले पनि वर्षा लागेकाले अहिले अभियान चलाउन नसकिने बताए । उनले पार्टीका नियमति काम भइरहेको बताए । “अब त वर्षायाम लाग्यो । अभियान चलाउन सहज छैन । अभियान स्थगन भए पनि सबै कमिटीका आफ्ना काम भइरहेका छन् । प्रधानमन्त्रीज्यू त सरकारका काममा व्यस्त हुन परिहाल्यो नि,” गुरुङले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro