site stats
बाह्रखरी :: Baahrakhari
देश
लुटपाटमा संलग्न भारतीय 'बाबा ग्याङ'का मोनुकुमार पक्राउ

रौतहट । लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहारस्थित मोतिहारी जिल्ला पूर्वी चम्पारणका २० वर्षीय मोनुकुमार जैसवाललाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

उनलाई गत आइतबार रौतहटको मौलापुर नगरपालिका–७ बाट घरेलु कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

आरोपितलाई हातहतियार तथा खरखजाना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको गिरीले बताए ।

गत जेठ २२ गते मौलापुर–६ पथरा बुधरामस्थित एक सहकारी संस्थामा काम गर्ने अरविन्दकुमार दासले १७ लाख मौलापुरस्थित बैंकमा जम्मा गर्न जाने क्रममा तीनजना अपरिचित व्यक्तिले दासलाई पछाडिबाट गोली हानेर फरार भएका थिए ।

प्रहरी अनुसन्धानका क्रममा घटनामा भारतको बिहारस्थित मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय बाबा ग्याङ नामको आपराधिक समूहको संलग्नता रहेको पाइएको थियो ।

केही महिना अगाडि मात्र भारतीय एसएसवीको जवानलाई अन्य साथीहरूसँग मिली कुटपिट गरेको घटनामा पनि मोनु पक्राउ परेका थिए । उनै मोनु यस घटनाका मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्