अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेडाँडा र दैलेखको आठबीस नगरपालिका–४ जोड्ने कर्णाली नदीको झोलुंगे पुलको लट्ठा चुँडिएर लच्किँदा खाद्यान्नको भारी बोकेका १३ वटा खच्चड गत आइतबार करिब पाँच घन्टा पुलमा फँसे । तीमध्ये धेरैको जीवितै उद्धार भयो भने दुईवटा खच्चडको ज्यान गयो । अछामको तामाकोटबाट दैलेखको खिर्कीज्युला बजारतर्फ जाँदै गर्दा पुलमा फसेका १३ मध्ये ११ वटा खच्चरलाई जीवितै उद्धार गरिएको थियो । पुलको जाली काटेर कर्णाली नदीमा खसालेर उद्धार गरेको दृश्य निकै दर्दनाक र कहालीलाग्दो थियो ।
खाद्यान्न ढुवानी गर्न अछामको कालेडाँडाबाट दैलेखको खिड्कीज्युला जाने क्रममा एकतर्फको लट्ठा चुँडिदा स्थानीय जीवन रोकामगर, नवीन रोकामगर र राजेन्द्र बोहराका १३ खच्चड पुलमा फसेका थिए । ती खच्चडको अछाम तथा दैलेख जिल्लाबाट नेपाली सेना, सशस्त्र प्रहरी, र नेपाल प्रहरीको टोली घटनास्थल पुगेर संयुक्त रुपमा उद्धार गरेका थिए ।
देशका विभिन्न खोला र नदीमा भएका जीर्ण तुइन र झोलुंगे पुल मानिसका लागि मात्र होइन जनावरका लागि पनि धराप भएको यस घटनाले पुष्टि गर्छ । सरकार र स्थानीय जनताको श्रमदानबाट निर्माण भएका पुल, पुलेसा, कुलो, पाटी, पौवा, मठ, मन्दीर, धारा, पँधेरा, इनार, सडक र सरकारी भवनको बेलैमा मर्मतसम्भार नगर्दा यस्ता घटना पटकपटक दोहोरिने गरेका छन् । मानवनिर्मित जुनसुकै भौतिक सामग्रीको गुज्रने मिति हुन्छ । तर, अधिकार सम्पन्न भनिएको स्थानीय तहको सरकारले समेत यस्ता गहन विषयमा चासो नदिँदा वर्सेनि सयौं तथा हजारौंको संख्यामा जनधनको क्षति हुनेगरेको छ ।
स्थानीय पूर्वाधार विभाग (डोलिडार) का अनुसार प्रत्येक ३० मिनेट पैदल यात्राको दूरीमा एउटा झोलुंगे पुल बनाउने सरकारको लक्ष्यअनुसार देशभर १० हजार ४ सय ८ वटा पुल निर्माण भइसकेको छ । निर्माणाधीन पुलको संख्या २३ सय ६४ रहेको तथ्यांक विभागसँग छ ।
भौगोलिक हिसाबले कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै झोलुंगे पुल माग र निर्माण हुनुपर्ने भए पनि निर्माण भने सबैभन्दा बढी कोसी प्रदेशमा भएको देखिन्छ । नेपालमा झोलुंगे पुलको जिल्ला भनेर बागलुङलाई चिनिन्छ भने यहाँ विश्वकै लामो झोलुंगे पुल निर्माण भएको छ । जुन पुलले बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौरदेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्छ । बागलुङमा ४४५ भन्दा बढी झोलुंगे पुल छन् । हाल भत्किएका तथा प्रयोग गर्नै नमिल्ने अवस्थाका झोलुंगे पुलबारे भने स्थानीय पूर्वाधार विभागमा पनि जानकारी छैन ।
नेपालमा थुप्रै खोलानाला र नदी छन् । यस्तो अवस्थामा सर्वसाधारणको पैदल यात्रा सुरक्षित बनाउन झोलुंगे पुल महत्त्वपूर्ण हुन्छ । तर, नेपालमा कति झोलुंगे पुल वा मान्छे हिँड्ने पुल चाहिन्छ र कुन पुलको अवस्था कस्तो छ भन्ने विषयमा अझै अध्ययन भएको पाइँदैन ।
एउटा झोलुंगे पुलको आयु कम्तीमा पनि १०० वर्ष हुने सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभागअन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजनका इन्जिनियर प्रवेश रेग्मीको भनाइ छ । तर, समय समयमा मर्मतसम्भार नभए ती पुल जति बेला पनि भत्कन सक्छन् । त्यसैले झोलुंगे पुलको बेला बेला अनुगमन र चेकजाँच गर्नुपर्छ ।
नेपालमा व्यवस्थित तथा योजनाबद्ध ढङ्गले २०२१ सालदेखि झोलुंगे पुल निर्माण हुन थालेको देखिन्छ । ती पुल अझै ४०–५० वर्षसम्म चल्छन् । तर, तिनको बेला बेलामा मर्मतसम्भार भने जरुरी हुन्छ । होइन भने अछामको जस्तो घटना देशका अन्य जिल्लामा पनि दोहोरिन सक्छ । यसप्रति तीनवटै तहका सरकार गम्भीर बन्नुपर्छ ।
देशमा संघीयता लागु हुनुपूर्व झोलुंगे पुल निर्माण झोलुंगे पुल रणनीति, २०६१ का अनुसार हुन्थ्यो । जिल्ला विकास समितिबाट तलब दिएर प्रत्येक पुलमा प्राविधिक ज्ञान भएका हेरालु राखिन्थे । उनले पुलको हेरचाह गर्थे । पुलमा आएको प्राविधिक समस्या समाधान हेरालुले गर्न नसके जिल्ला विकास समितिले गर्थ्यो । तर‚ अहिले देशभरकै झोलुंगे पुलमा हेरालु छैनन् । लठ्ठा लच्किने र नटहरु खुकुलो भएको देखेपछि मात्र मर्मत हुनेगरेको छ । नियमितरूपमा यस्ता काम संघीय सरकारले गर्ने हो र जिम्मेवारी प्रदेश र स्थानीय सरकारलाई दिई नीति बनाउने हो भने झोलुंगे पुलहरुको आयु लम्मिने थियो । मानिस र जनावरले पनि अकालमा मृत्युवरण गर्नुपर्ने थिएन ।
झोलुंगे पुलका प्रकार
नेपालमा लम्माइअनुसार झोलुंगे पुललाई ‘सर्ट स्पान’ (छोटो झोलुंगे पुल) र ‘लङ स्पान’ (लामो झोलुंगे पुल) भनी वर्गीकरण गरिएको छ । कुल १२० मिटरभन्दा छोटोलाई सर्ट स्पान र १२० मिटरभन्दा लामोलाई लङ स्पान भनिन्छ ।
यस्तै‚ प्रकारअनुसार सस्पेन्सन डी टाइप, सस्पेन्सन एन टाइप र स्टील ट्रस भनी विभाजन गरिएका छन् । डी टाइप सामान्यतः पहाडी भेग र समथर भूभागमा एन टाइपको झोलुंगे पुल निर्माण गरिन्छन् । धेरै लामो दूरी भएको नदीमा मल्टिस्पान झोलुंगे पुल निर्माण गरिन्छ ।
पुलको सुरक्षा
पुलले निश्चित क्षमतामात्र धान्न सक्छ । त्यसैले पुलमा प्रवेश गर्नुअघि त्यस्तो सूचना हेर्नु आवश्यक हुन्छ । विशेषगरी धार्मिक तथा पर्यटकीय क्षेत्रका पुलमा भिड हुने भएकाले सर्वसाधारण आफैँ सजग हुनुपर्छ ।
अहिले पनि नेपालमै पुरानै ढाँचाका झोलुंगे पुल निर्माण भइरहेका छन् । पहिले नदी तर्ने उद्देश्यले पुल बनाइए पनि अहिले दूरी घटाउने‚ पर्यटकीय प्रयोजनका लागि पनि बनाइन्छ । ती पुलमा मोटरसाइकल पनि कुदाउने गरिन्छ । यसले पनि जोखिम बढाएको छ ।