site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ताप्लेजुङमा बाढीपहिरोबाट दर्जनौँ परिवार विस्थापित

ताप्लेजुङ । निरन्तर वर्षापछि ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोका कारण दर्जनौँ परिवार विस्थापित भएका छन् । गएको बुधबारयता निरन्तरको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् ।

गए राति मिक्वाखोला गाउँपालिका–५, ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुंगेलीले बताए ।

प्रहरीका अनुसार, शनिबार पहिरो जाँदा मिक्वाखोला–५, पापुङमा तीन परिवार विस्थापित भएका छन् । पापुङ, तांखुटोलका आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

बिहान वर्षासँगै माथिबाट झरेको पहिरोले बस्न नमिल्ने गरी घरमा क्षति पुर्‍याउँदा उनीहरूको परिवार विस्थापित भएको प्रनाउ रावलले बताए ।

यस्तै, सिरिजंघा गाउँपालिका–६, मामांखेमा शनिबार गएको पहिरोले ६ परिवार विस्थापित भएका छन् । मामांखे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवार विस्थापित भएको छ । मामांखेकै थबाबुकका ख्यालमान लिम्बू र वीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, शनिबार वर्षासँगै गएको पहिरोले सिरिजंघा–७ मा नवराज लिम्बूको घर, भान्साघर र पशुचौपाया गरी १६ लाख ९० हजार रुपैयाँबराबरको क्षति भएको छ ।

यस्तै, शुक्रराज लिम्बूको घर पूर्ण रूपमा र पशुचौपाया गरी १० लाख ८० हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सिरिजंघा–८, याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

पहिरोले खानेपानीमा क्षति पुर्‍याउँदा मामांखेका करिब ३०० परिवार खानेपानीबाट वञ्चित हुनुपरेको स्थानीयले जानकारी दिएका छन् ।

यसैगरी, याम्फदिनमा पनि दर्जनभन्दा बढी परिवार बाढीपहिरोको उच्च जोखिममा रहेको स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिए ।

बुधबारयता ताप्लेजुङमा पहिरोमा परी पाँचजनाको मृत्यु भइसकेको छ । ५५ पशुचौपाया मरेका छन् ।

मनसुन पूर्ण रूपमा सक्रिय नहुँदै बाढीपहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानीलगायत संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङको भूबनावट पहिरोको जोखिममा पर्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार, यहाँका ६१ मध्ये ४१ वडा पहिरोको उच्च जोखिममा छन् । रासस

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro