नेपाली समाजको नेतृत्व गर्नेहरू सधैँ नै कुनै न कुनैरूपमा भ्रष्ट आचरणविरूद्ध बोलिरहेको सुनिन्छ । तर, उनीहरूकै व्यवहारले भ्रष्टाचारीको पालनपोषण गर्ने तिनै हुन् भन्ने पनि देखाइरहेको हुन्छ । लोभ र महत्त्वाकांक्षाका कारण नेपाली समाजमा हरेक वर्ष भ्रष्ट आचरण भएका व्यक्तिको संख्या बढ्दै छ । तिनै व्यक्तिहरू समाजको नेतृत्वमा पुगिरहेका हुन्छन् । बोल्दा एउटा र गर्दा अर्कै आचरण देखाएर बिस्तारै समाजलाई नै भ्रष्ट बनाउने गरेका छन् ।
यस्ता आचरण भएकाले देशको नेतृत्व गर्ने व्यक्तिलाई छिटोभन्दा छिटो प्रभाव पार्दा भ्रष्टाचारले देशको सिङ्गै अवयवलाई नियन्त्रणमा लिएर बन्धक बनाइसकेको छ । तर, देशको कार्यकारी अधिकारसहित नेतृत्व गरिरहेका प्रधानमन्त्री, उनका सहकर्मी र सबै राजनीतिक दलको नेतृत्वमा रहेका नेताहरू सुशासन र समृद्धिका भाषण गाइरहेकै छन् । यो शृङ्खला स्थानीय तह, प्रदेशमा पनि बढिरहेको अवस्था छ । तीन तहकै सरकारका पदाधिकारीले भ्रष्टाचारको विरोध गर्दै भ्रष्टचारीको संरक्षण गरिरहेका छन् ।
भाषणले मात्र भ्रष्टाचारको अन्त्य हुँदैन । आचरण र व्यवहार सुधार्दै भ्रष्टाचारविरूद्ध कठोर कानुन कार्यान्वयन गर्न कुनै पनि तहका नेतृत्व अगाडि सर्नसकेको देखिँदैन । भाषणवाजहरू जनतालई ढाँटी रहेका छन् । उनीहरूको बोली र व्यवहारले देश अनि जनताको भलाइ भएको छैन । कोही 'मिसन चौरासी'को नाममा देश र जनता ढाँट्दै छन् भने कोही राज्य सञ्चालनका नाममा समृद्धि र विकास भन्दै कमिसनको खेल खेलेर दिउँसै रात पर्नेगरी ढाँटिरहेका छन् । यी सबै क्रियाकलापमा भ्रष्ट आचरण लुकेर बसेकै छ ।
नागरिकमा निराशा छ भन्ने तर के कारण निराशा बढिरहेको छ त उत्तर जान्न नदोज्ने नेतृत्व रहेको वर्तमान राज्य संयन्त्रमा भ्रष्ट आचरणले कब्जा जमाइरहेको छ । यही प्रवृत्ति नागरिकको निराशाको कारक हो । देशकै निराशाको स्रोत बनिरहेको भ्रष्टाचार के कारण हटाउन सकिएन त ? यसको उत्तर नभेटिएसम्म नागरिकमा आशा पलाउन निकै कठिन छ । अहिले समाजमा भ्रष्टाचार नगर्दा एक्लो वृहस्पति बन्ने अवस्था छ । यहाँ सहीभन्दा गलत प्रवृत्ति शक्ति उन्मुख भएकै कारण भ्रष्टहरू बलशाली बन्दै गएका हुन् ।
भ्रष्टाचार विभिन्न स्वरूपमा समाजमा निर्वाध घुमिरहेको छ । घुसखोरी, कमिसनखोरी, घोटालावाजी, व्यक्तिगत फाइदाका लागि संविधान, कानुन, नीति र विधिविपरीत चुगलखोरी, राजस्व छल्ने, मिलिभगतमा जस्तासुकै काम गर्ने, सेवा प्रवाहमा नगई तलवसुविधा भोग गर्ने अभ्यास नेपाली राजनीतिमा नीतिगत आधारमा निरन्तर छ । तर पनि नेतृत्वमा रहेकाहरू भ्रष्टाचार बिरूद्ध कृतिम भाषणवाजी गरिरहेकै छन् । भ्रष्टाचारकै कारण देशको उन्नति नभएको तथ्य नेपालका राजनीतिक नेताले बुझेर पनि बुचपचाउँदा भ्रष्ट शासक भएको देशको पहिचान बोकेर नेपालीले हिँडिरहनु परेको छ ।
पछिल्लो भ्रष्टाचार नियन्त्रण र सुशासनको अध्ययनले विगतभन्दा कम भ्रष्टचार भएको देखाए पनि नेपालको शुसाशनको अवस्था निराशाजनक नै छ । भ्रष्टाचारविरुद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक, २०२३’ को प्रतिवेदनअनुसार नेपाल अति भ्रष्टाचार हुने मुलुकको सूचीमै छ । विश्वका १८० देशमा गरिएको सर्वेक्षणमा नेपाल कम भ्रष्टाचार र सुशासनको सूचीमा १०८ औं स्थानमा परेको छ । गत वर्ष ११० औं स्थानमा थियो । यसपटक दुई अंकले सुधार गरेको भए पनि भ्रष्ट आचरणका कारण बिग्रिएको सुशासनमा भने सूचाङ्क पार गर्न सकेको छैन ।
सुशासन र समृद्धिको पहिलो शत्रु भ्रष्टाचार मौलाउने क्रम झन् बढेको छ । स्वयं सत्तारुढ तथा विपक्षी पार्टीसंबद्ध सांसदहरू नै संवैधानिक प्रावधानविरुद्ध प्रस्तुत हुन हिच्किाउँदैनन् । यस कार्यले बेथिति र भ्रष्टाचार नमौलाएर के चाहिँ मौलाओस् त ?
ट्रान्सपरेन्सी नेपालले हरेक वर्ष भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई सुझाव दिने गरेको छ । ट्रान्सपरेन्सीले नेपालमा भ्रष्टाचार बढ्नुका चार मुख्य कारण औँल्याउने गरेको छ । दशकयता सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा प्रगति हुन नसकेको, सरकार भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा असफल रहेको, कमजोर न्याय प्रणालीले भ्रष्टाचारलाई मलजल गरेको र नेताहरूले न्यायलाई अवमूल्यन गरेकाले भ्रष्टाचारमा दण्डहीनता बढेको औंल्याउँदै ट्रान्सपरेन्सी नेपालले यसमा सुधार हुनुपर्ने सुझाव दिएको छ । तर, सरकारमा जाने दल वा संसद्मा नेतृत्व गर्ने कुनै पनि दलले भ्रष्टाचार नियन्त्रणमा निर्मम हुने हिम्मत गरेको देखिएन ।
विगतदेखि बढ्दै आएको भ्रष्टाचार हटाउन राजनीतिक नेतृत्वले हिम्मत नगरेसम्म नेपालको अवस्थामा सुधार हुनेछैन । नीति र नियममा चल्न सरकार प्रतिबद्ध नबनेसम्म नेपालमा देखिएको भ्रष्टाचार घटेर जानेछैन ।
भ्रष्टाचारविरूद्ध हरेक नागरिकले अगाडि बढ्न आवश्यक छ । देश छोडेर वा भागेर नेपालको शासनको विकृति अन्त्य हुँदैन । यहीँ बसेर विकृतिविरूद्ध लड्न सके भ्रष्टाचार अन्त्य गर्न सकिन्छ । भ्रष्टाचार सहेर होइन प्रतिरोध गरेर देश र समाजको उन्नति गर्नुपर्छ ।