site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
घुम्तीमा पुगेका भीम रावल कता 'मोडिदैछन्' ?
SkywellSkywell

काठमाडौं । नेता भीम रावलले न एमालेमा जिम्मेवारी पाए न पार्टीबाट अलग । साढे दुई वर्षयता जिम्मेवारीविहीन छन् ।

०७८ मंसिरमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीको प्रतिष्पर्धी बन्नु नै उनका लागि भारी पारियो । त्यसको ‘सजाय’ अहिले खेप्दैछन् । त्यसो त, अध्यक्षमा ओलीसँग चुनाव हारेपछि उनले केन्द्रीय सदस्य पनि अस्वीकार गरे । 

त्यसयता रावल पार्टीमा उपर्युुक्त जिम्मेवारीको खोजीमा नै छन् । एक महिनाअघि मात्र उनले एक कार्यक्रममा एमालेले आफूलाई निषेध गरेर राजनीतिक जीवनको ‘मोड’मा पुर्‍याएको निष्कर्ष सुनाएका थिए । 

Dabur Nepal
NIC Asia

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई नबोलाइएकामा आक्रोश पोख्दै रावलले आफूलाई पार्टीबाट धकेल्न खोजेको आरोप लगाएका थिए । महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा भएको थियो । 

“उहाँहरुले जुन प्रकारले व्यवहार गर्नुभएको छ । मैले के सोचेको छु भने राजनीतिक जीवनको मोडमा धकेलिएको जस्तो महसुस भएको छ । एउटा घुम्तीमा पुगेजस्तो महसुस गरेको छु ,” रावलले भनेका थिए ।

उनकै शब्दमा, “सामान्य जीवनमा पनि घुम्तीमा पुग्यौं भने त्यो घुम्तीबाट अर्को मोडमा लाग्छ । कतै उहाँहरुले मलाई त्यो घुम्तीमा घचेटेर अर्को मोडमा जाओस् भन्ने दुरासयका साथ यो काम गरिरहेको हो कि ? भन्ने मैले महसुस गरेको छु ।” 

उनले घुम्तीबाट कता जाने भन्ने तय भने गरिसकेका छैनन् ।  घुम्तीबाट कुनै मोडमा जाने निर्क्योल गर्नुभयो ? भन्ने बाह्रखरीको प्रश्नमा उनले भने, “म अछाममा छु । कार्यकर्ता भेटघाटमा नै छु । कुनै निष्कर्षमा पुगिसकेको छैन ।”

उनी पार्टीको कार्यक्रमका लागि अछाम पुगेका छन् । रावलले नयाँ पार्टी खोल्ने वा एकीकृत समाजवादीलगायतका पार्टीमा जाने भन्ने चर्चा हुँदै आएको छ । 

अब के गर्ने भन्ने कार्यकर्ताको सुझावका आधारमा निर्णय लिन उनी भेटघाटमा निस्किएका छन् ।   दाङ, बाँके, बर्दिया, कैलाली, डडेलधुरा, अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला जाने कार्यक्रम तय भएको उनीनिकट एकिन्द्र कुँवरले जानकारी दिए । त्यसपछि पूर्वको यात्रामा निस्कने तयारीमा रावल छन् ।

आफूले पार्टीमा जिम्मेवारी नपाएको सार्वजनिक अभिव्यक्तिपछि उनलाई जिम्मेवारी दिन एमालेमा कार्यदल नै बनाइएको थियो । ०७९ चैत १८ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा रहेको कार्यदल बनाएको थियो ।

कार्यदलले एक चरणको वार्ता गरी दोस्रो चरणको वार्ता अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने निष्कर्ष निकालेको थियो । ०८० साउन ३० गते ओली र रावलबीच पार्टी कार्यालय च्यासलमा दुई घण्टा वार्ता भएको थियो । 

भेटमा महाधिवेशनमा आफूले उपाध्यक्ष बन्न प्रस्ताव राखे पनि नमानेको भन्दै ओली आक्रोशित भएका थिए । त्यसयता भेटवार्ता हुन सकेको छैन । कार्यदलका सदस्य समेत रहेका भट्टले जिम्मेवारीका विषयमा कुनै पनि छलफल नभएको बताए ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतम सल्लाहकारको जिम्मेवारीबाहेक अरु जिम्मेवारीका लागि अर्को महाधिवेशन पर्खिनुपर्ने बताउँछन् । 

“उहाँ हाम्रो पार्टीको नेता हुनुहुन्छ । अध्यक्षमा चुनाव लडेर पराजित हुनुभयो । कुनै कमिटीमा नभएपछि उहाँ केन्द्रीय सल्लाहकार परिषद्मा हुने हो । त्यहाँ आफ्नो जिम्मेवारी सम्हालनुपर्यो । अरु जिम्मेवारीका लागि त अर्को महाधिवेशन पर्खिनुपर्‍यो नि !,” उनी भन्छन् ।
 
एकीकृत समाजवादीसँग छलफलमा छन् ?

एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले ०७८ भदौमा पार्टी विभाजन गर्दा भीम रावलसहितका दश नेताले साथ दिएनन् । नेपालले एमाले विभाजन गरी बनाएको दल एकीकृत समाजवादी महाधिवेशनको तयारीमा छ । रावलले एकीकृत समाजवादीमा जाने चर्चा बेला–बेलामा हुँदै आएको छ ।

एकीकृत समाजवादी प्रवेश गर्न नेपालसँग उनले छलफल भने गरिसकेका छन् ।  एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले रावल पार्टीमा आउने विषयमा छलफल भएको बताए । 

“कुराकानी जारी छ । महाधिवेशनको मुखमा छौं । उहाँले आफ्ना साथीहरुसँग छलफल गरेर निर्णय गर्ने भन्नुभएको छ,” उनले बाह्रखरीसँग भने । रावलले अरु पार्टीमा जाने चर्चाका विषयमा प्रश्न गर्दा पनि आफू कार्यकर्तासँग छलफलमा नै रहेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu