site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मिलरले इनिङ सम्हाल्दा नेदरल्यान्ड्सविरुद्ध दक्षिण अफ्रिका चार विकेटले विजयी

काठमाडौं । डेविड मिलरले सम्हालिएर ब्याटिङ गर्दै अर्धशतक बनाएपछि आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सविरुद्ध चार विकेटको जित निकालेको छ ।

नासाउ काउन्टी अन्तर्राष्ट्रिय रंगशाला न्युयोर्कमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात बल बाँकी रहँदै ६ विकेट गुमाएर भेट्टायो ।

दक्षिण अफ्रिकाको जितमा मिलरले अविजित ५९ रन बनाए । उनले ५१ बलमा तीन चौका र चार छक्का प्रहार गरे । ४–१२ को कठिन अवस्थामा ब्याटिङका निम्ति आएका मिलरले सम्हालिएर ब्याटिङ गर्दै दक्षिण अफ्रिकालाई जितसम्म डोहोर्‍याएका हुन् ।

मिलरबाहेक, ट्रिस्टन स्टुब्सले ३३ रन थपे । यसबाहेक, अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डी कक ‘डायमन्ड डक’ भएका थिए ।

नेदरल्यान्ड्सका भिभियन किंग्समा र लोगन भान विकले समान दुई विकेट लिए । बास डे लिडेले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०३ रनको योगफल खडा गरेको थियो ।

डच टिमबाट साइब्रान्ड एंगलब्रेटले ४० रन बनाएका थिए । लोगन भान विकले २३, विक्रमजित सिंहले १२ र कप्तान स्कर्ट एडवार्ड्सले १० रन थपे । डच टिमका तीन ब्याटर शून्यमा आउट भएका थिए ।

दक्षिण अफ्रिकाका ओटानेइल बार्टमानले चार विकेट लिए । चार ओभरब बलिङ गरेका उनले ११ रनमात्र खर्चिए । एनरिक नोर्ट्जे र मार्को जान्सेनले समान दुई विकेट लिए ।

प्रतियोगिताको समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाको लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ ।

समान खेलबाट दुई अंक जोडेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ । नेदरल्यान्ड्सले यसअघि पहिलो खेलमा नेपालविरुद्ध ६ विकेटका जित निकालेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro