site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
दृढनिश्चयी विनय 

विनय रावल (२०१३–२०६२) भन्नासाथ अप्ठ्यारोसँग हिँड्ने तर कसिलो, गठिलो शरीर र जोसिलो आवाज अनि आँटिलो मानिसको अनुहार आँखामा आउँछ, उनलाई चिन्ने सबैको । बाल्यकालमा समयमै उपचार नपाएका कारण शारीरिक दृष्टिले एउटा खुट्टा कमजोर भए पनि उनी मानसिक रूपले अत्यन्त सबल र ऊर्जावान् थिए । विचारवान् अनि सशक्त र जुझारु थिए ।

३० को दशकमा नेपाली साहित्यमा निकै प्रतिभाशाली स्रष्टा देखापरे । तिनैमध्येका एक हुन्, विनय रावल । हत्तपत्त कसैसँग नदब्ने, कसैका सामु ननिहुरिने र आफ्नो अडानमा दृढ रहने स्वभाव थियो विनयको । अन्याय नसहने र लागेको बोलिहाल्ने उनको बानी थियो । व्यंग्यमिश्रित हल्का मुस्कानयुक्त बोलीले प्रहार गर्न खप्पिस थिए उनी ।

विनयको व्यक्तित्व छरिएको थियो अलिकति साहित्यमा, अलिकति पत्रकारितामा, अलिकति जागिरमा । निश्चय नै जागिरले उनलाई परिवार पाल्न भरथेग गरेको थियो । तर, उनको पहिचान बनाउन सहयोग गरिरहेका थिए साहित्य र पत्रकारिताले ।

Dabur Nepal
NIC Asia

भन्थे, ‘जागिर नखाए त पेट कसरी पाल्ने ? जागिर खाँदै, पदीय जिम्मेवारी पूरा गर्दै अन्यत्र पनि संलग्न र सक्रिय हुनुपर्छ । यसो गर्दा जागिरपछिको जीवन सहज हुन्छ ।’

विनय सधैँ निरंकुशता र अन्यायका विरुद्ध लडे । पञ्चायती निर्दलीय शासन व्यवस्थाका विरुद्ध पटकपटकका आन्दोलनमा र ज्ञानेन्द्र शासनकालको राजतन्त्रविरुद्ध पनि उनी विभिन्न माध्यम र मोर्चाबाट लडे । दशवर्षे द्वन्द्वकालमा उनी आतंकविरुद्ध लेखनका माध्यमद्वारा लडे ।

वि.सं. २०१३ सालमा वीरगन्जमा जन्मिएका उनले कर्मथलो राजधानी काठमाडौंलाई बनाए । जागिरे जीवनको अधिकांश समय उनी काठमाडौंमै रहे ।

विनय विभिन्न भूमिकामा रहे । उनी नेपाल साहित्यकार संघको अध्यक्ष बने । प्रेस काउन्सिलको सदस्य बने । साझाको सञ्चालक चुनिए । सम्पादनमा संलग्न रहे । ‘अभिनव’, ‘मुकुट’ र ‘श्रीजा’को सम्पादन गरे । यद्यपि, दिगो हुन सकेन ।

एकताका चर्चा बटुल्न सफल ‘तरलवाद’का प्रवर्तकमध्येका एक उनले ‘राष्ट्रपुकार’ र ‘पुनर्जागरण’ साप्ताहिकमा अतुलेश र अभिनव रावलको उपनामबाट स्तम्भ लेखे । अन्य पत्रपत्रिकामा राजनीतिक तथा साहित्यिक लेखरचनाहरूको निरन्तर प्रकाशन भयो । यी सबै भूमिकाले विनय बहुमुखी थिए भन्ने पुष्टि हुन्छ ।

विनयको पहिलो कृति ‘मलाई तिमी आफूजस्तै बनाऊ’ कवितासंग्रह २०४९ सालमा साझा प्रकाशनले प्रकाशित गरेको थियो । ‘सपनाको देशमा’ उनको पछिल्लो कृति हो । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट २०६१ सालमा प्रकाशित यो कृति दिवंगत स्रष्टाहरूलाई समर्पण गरेका उनी अर्को वर्ष आफैँ दिवंगत भए । म्यानमार यात्राको संस्मरण ‘ठुल्दिदीको देश’ र ‘समय–प्रवाह’ नामक विभिन्न पत्रपत्रिकामा प्रकाशित समसामयिक विषयका लेखहरूको सँगालो उनका अन्य प्रकाशित कृति हुन् । ‘समय–प्रवाह’ अतुलेशको नामबाट प्रकाशित छ ।

प्रजातन्त्रका हिमायती विनय हक–अधिकार र स्वतन्त्रताका पक्षपाती थिए । उनले निरन्तर प्रजातन्त्रका पक्षमा लेखे । नागरिक हक–अधिकार र स्वतन्त्रताका पक्षमा लेखे । यिनै कारण विनयलाई प्रजातन्त्र, मानवाधिकार र स्वतन्त्रताका पक्षपाती कविका रूपमा चिनिन्छ ।

मूलतः कवि व्यक्तित्वकै रूपमा चिनिने तर बहुमुखी प्रतिभा हुन्, विनय । विनयको भनाइमा ‘साहित्य मनको सम्पूर्ण अभिव्यक्ति हो । साहित्य वा कवितामा मान्छेको जीवनलाई सुन्दर बनाउने, मानवीय बनाउने र परापूर्वकालदेखि यथास्थितिमा रहेको छ भने त्यसलाई परिवर्तन गरेर नयाँ रूप दिने जुन सपना र कल्पना हुन्छ, त्यसको अभिव्यक्ति नै सुन्दर साहित्य वा कविता हो ।’

आफूले देखेजानेका, भोगेका, अनुभव गरेका विषयलाई जीवन्त रूपमा प्रस्तुत गर्नु उनको कवितामा पाइने वैशिष्ट्य हो । लघुआयामका उनका कवितामा विचारको ठाडो हस्तक्षेप रहने तर अभिव्यक्तिको इमानदारीका कारण तिनमा लय र संरचनाको विशिष्ट सन्तुलन पाइने समीक्षक बताउँछन् । समीक्षकका दृष्टिमा विनय मानवीय अस्मिताको संरक्षणका पक्षमा दृढताका साथ उभिने मुखर कवि हुन् ।

राजनीतिक चेत, चिन्तन र सोच विनयका कविताका मूल स्वर मानिन्छन् । उनको अर्को विशेषता राजनीतिक विषयवस्तुलाई आख्यानीकरण गर्दै र प्रतीकात्मक बनाउँदै संक्षिप्त रूपमा प्रस्तुत गर्नु हो ।

ध्रुव्र मधिकर्मीले ‘समकालीन नेपाली कविताका प्रवृत्ति र स्वर’मा विनयलाई ‘अस्तित्व र वैचारिक आग्रहका कवि’ भनेका छन् । यो ठम्याइ गलत होइन । मधिकर्मीले भनेझैँ उनले आफ्ना कवितामा मानवीय चाहना, सामाजिक एवं राजनीतिक विसंगतिहरूलाई वैचारिक आग्रहमा अभिव्यक्त गरेको पाइन्छ ।

मोहन कोइरालाले ‘मलाई तिमी आफूजस्तै बनाऊ’को भूमिकामा लेखेका छन्, ‘अन्य कविको जस्तो उनको एक कवितामा चिन्तन उकुमुकुस र विचार अनि कथ्यको घुइँचोपन कोचाकोच भएको नलाग्ला, तर विनय रावलको आफ्नो पद्दतिको धैर्य र दृढपन कवितामा यथेष्ट र प्रस्ट छ । उनको छोटो अनि सजिलोपन पाठकलाई आफूतिर तान्ने बडो सक्षम प्रविधि हो । त्यसैमा उनी लामो कालपर्यन्त कवितामा हावी पनि रहनेछन् ।’

विष्णुविभु घिमिरेले विनयलाई ‘कवितामा अराजक थिए’ भनेका छन् । यो उनका कविता पढ्ने जो कसैले सहजै महसुस गर्न सक्ने कुरा हो ।

गोविन्द गिरी ‘प्रेरणा’ले ‘विनय रावल प्रतिबद्ध कवि थिए, तर कविताभन्दा उनको पहिलो सर्त प्रजातन्त्र थियो, अभिव्यक्ति स्वतन्त्रता पहिलो सर्त थियो’ भनेका छन् । उनले ‘राजनीतिमा प्रधानमन्त्री हुनुअघि गिरिजाप्रसाद कोइराला कम्युनिस्टका जति कट्टर विरोधी थिए, साहित्यमा विनय रावल उस्तै लाग्थे’ भनेका छन् । ‘उनको एउटै तर्क हुन्थ्यो– अभिव्यक्ति स्वतन्त्रताका विरोधी कम्युनिस्ट पनि साहित्यकार हुन्छन् ?,’ विनयको भनाइ उदृत गर्दै गिरीले आफ्नो एक आलेखमा लेखेका छन् । 

माथि नै उल्लेख गरियो, ३० को दशकमा नेपाली साहित्याकाशमा थुप्रै प्रतिभाशाली स्रष्टा देखापरे । तिनैमध्येका एक विनय अल्पायुमै मृत्युको मुखमा परे । पूर्वोत्तर भारतको साहित्यिक भ्रमणमा रहेका बेला २०६२ जेठ २५ गते सवारी दुर्घटनामा उनको मृत्यु भएको थियो । उनको मृत्यु आकस्मिक, अस्वाभाविक एवं अकल्पनीय थियो । तर, उनका कृतिहरू हाम्रासामु छन् र उनी कृतिहरूमा जीवित छन् । तिनको संरक्षण गर्नु हाम्रो दायित्व हो ।

सधैँ केही न केही लेख्ने उनले लेखेजति सबै रचना पक्कै प्रकाशित भएका छैनन् । अप्रकाशित रचनाको खोजी गर्ने, तिनको संकलन, संरक्षण र प्रकाशन गर्नु अबको जिम्मेवारी हो । यसका लागि विनयलाई माया गर्ने, उनको लेखनका प्रशंसक, विचारका अनुयायी र शुभेच्छुक सबैको सक्रियता आवश्यक छ । त्यसो त वास्तवमा यस कार्यका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनजस्ता संस्थाले अग्रसरता लिनुपर्ने हो । तर, त्यस्तो सम्भावना क्षीण रहेकाले परिवारसँग सम्पर्क गरी उनका रचना संकलन र प्रकाशित गर्नेतर्फ हामी सबैको ध्यान पुग्नु जरुरी छ ।

आज विनय रावललाई सम्झिरहँदा उनको दृढनिश्चयी स्वभाव सम्झन मन लाग्छ । निश्चय नै यो स्वभाव कहिलेकाहीँ घमण्डका रूपमा पनि देखापरेको र त्यसैकारण अत्यन्त निकट रहेका साथीभाइसँगको सम्बन्धमा तिक्तता आएको पनि जानकारी भएकै विषय हो । सम्बन्ध दुवै पक्षको आनीबानी, व्यवहार र स्वभावले निर्धारण गर्ने विषय हो । यसमा दुवै पक्षको धेरथोर कमजोरी हुनसक्छ । उनको लोकतन्त्रप्रतिको आस्था, प्रतिबद्धता र समर्पण त सम्झनलायक छँदै छ । व्यक्तिगत कुराभन्दा माथि उठेर हेर्दा भन्न सकिन्छ, विनय साहित्यिक दृष्टिले एक सशक्त हस्ताक्षर अनि वैचारिक दृष्टिले प्रजातन्त्रका दरिला खम्बा थिए ।

उनकै योे (तल) कवितामार्फत विनयप्रति हार्दिक श्रद्धाञ्जली !

एउटा अभिव्यक्ति

विश्वासको हत्या भएपछि
मान्छे कहिले माथि चढ्न सक्दैन
इतिहास साक्षी छ
मान्छेले खनेको खाडलमा
मान्छे स्वयम् नै खस्दछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro