
काठमाडौं । अमेरिकाले इजरायलसँग मिलेर इरानमाथि आक्रमण गर्ने अथवा युद्धबाट पूर्णतयाः अलग हुने भन्ने अन्योलले ट्रम्प पक्षधरहरूमा व्यापक फुट देखाएको छ ।
रिपब्लिकन पार्टीको तर्फबाट निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानी परमाणु केन्द्रहरूलाई आक्रमणको लक्ष्य बनाउने कार्यमा अमेरिका सामेल हुन्छ वा हुँदैन भन्ने प्रश्नको उत्तर दिँदै भने, “म यो गर्न सक्छु, वा नगर्न पनि सक्छु ।”
ट्रम्पले गत वर्षको चुनाव प्रचार अभियानमा मध्यपूर्वका मूर्खतापूर्ण अन्तहीन युद्धको आलोचना गरेका थिए । तर, उनले इरानलाई परमाणु हतियार राख्न दिनु हुँदैन भन्दै आएका थिए ।
ट्रम्पले अमेरिकालाई अर्को विदेशी उल्झनमा घचेट्नसक्ने सम्भावनाले उनको दलको युद्ध विरोधी र युद्ध पक्षधर समूहहरूबीच ठूलो मतभेद उत्पन्न गरेको बीबीसीले जनाएको छ ।
इरानको परमाणु योजनाको बारेमा आशंका व्यक्त गर्नेहरूमा ट्रम्पको राष्ट्रिय गुप्तचर निर्देशक तुल्सी गाबार्ड पनि छिन् । उनले मार्चमा कांग्रेसमा दिएको भाषणमा इरानको युरेनियम विकास ऐतिहासिक उच्चतमस्तरमा पुगेको तर विज्ञहरूले यो परमाणु हतियार निर्माणको लागि प्रयोग भइरहेको विश्वास नगरेको बताएकी थिइन् ।
१० जुनमा इजरायलले इरानमाथि आक्रमण सुरु गर्नुभन्दा तीन दिन अघि गाबार्डले एक भिडियो पोस्ट गर्दै राजनीतिक अभिजात वर्ग र युद्धपक्षधर व्यक्तिहरूले लापरबाहीपूर्वक डर र तनाव फैलाउँदै संसारलाई परमाणु विनासको संघारमा पुर्याउन जोखिम बढाएको चेतावनी दिएकी थिइन् ।
गाबार्डको भिडियो र त्यसअगाडिका टिप्पणीहरूले उनी र ट्रम्पबीच फाटो ल्याएको बताइन्छ । अमेरिकी समाचार आउटलेट पोलिटिकोले यो भिडियोका कारण ट्रम्प रिसाएको रिपोर्ट गरेको थियो ।
“मलाई उनले के भनिन् भन्ने मतलब छैन,” ट्रम्पले कांग्रेसमा गाबार्डले गरेको टिप्पणीको बारेमा सोधिएको प्रश्नमा संवाददाताहरूलाई भने, “मलाई लाग्छ, इरान हतियार बनाउन धेरैनजिक पुगिसकेको छ ।”
पछि गाबार्डले मिडियाले उनको कुरालाई गलत सन्दर्भमा प्रस्तुत गरेको आरोप लगाउँदै सीएनएनसँग ट्रम्पसँग आफ्नो कुनै फरक मत नरहेको बताइन् ।
यस द्वन्द्वमा अमेरिकी संलग्नताको आलोचना गर्नेमा गाबार्ड एक्ली नभएको देखिन्छ ।
मंगलबार, केन्टकीका रूढिवादी रिपब्लिकन कांग्रेस प्रतिनिधि थोमस मास्सीले डेमोक्र्याटहरूसँग मिलेर एक विधेयक पेस गरे, जसले कांग्रेसको स्वीकृतिबिना नै इरानसँग युद्धमा अमेरिकी सेनाहरू संलग्न हुन ट्रम्पलाई रोक्नेछ ।
“यो हाम्रो युद्ध होइन । यदि, हो भने पनि कांग्रेसले हाम्रो संविधानअनुसार यस्तो निर्णय गर्नुपर्छ,” मास्सीले एक्समा पोस्ट गर्दै भने ।
ट्रम्पको अमेरिका फर्स्ट सिद्धान्तका धेरै समर्थकहरूले उनले अफगानिस्तान र इराकमा हजारौँ अमेरिकी सैनिकहरूको मृत्यु भएजस्ता सदाका लागि युद्धहरूबाट अमेरिकालाई टाढा राख्ने प्रतिज्ञा गरेको बताए ।
फक्स न्यूजका पूर्वहोस्ट टकर कार्लसनले अमेरिकाले इरानसँगको द्वन्द्वबाट टाढा रहनुपर्ने बताए ।
पोडकास्टमा उनले रिपब्लिकनपार्टीका युद्ध पक्षधर व्यक्तिहरूको कटु आलोचना गरेका छन् । उनको आलोचनाले गर्दा ट्रम्पले कार्लसनलाई सन्की भन्दै टिप्पणी गरेका छन् ।
जर्जियाकी कांग्रेस प्रतिनिधि र ट्रम्पकी निष्ठावान समर्थक मार्जोरी टेलर ग्रीनले राष्ट्रपतिसँग असामान्य रूपमा मतभेद गर्दै कार्लसनको बचाउ गरेकी छिन् ।
उनले यस्तो हस्तक्षेपलाई समर्थन गर्ने कोही पनि अमेरिका फर्स्ट नीतिको पक्षधर नभएको बताइन् ।
मंगलबार कार्लसन र युद्धपक्षधर टेक्सास सिनेटर टेड क्रुजबीचको अन्तर्वार्ता तनावपूर्ण चर्को बहसमा रुपान्तरण भयो । उनलाई इरानको जनसंख्या र जातीय मिश्रणको बारेमा थाहा छ भन्ने प्रश्न गरेपछि क्रुज रिसाएका थिए ।
ट्रम्पका पूर्वराजनीतिक रणनीतिकार स्टीभ ब्याननले कार्लसनको पोडकास्टमा बोल्दै डिप स्टेटले अमेरिकालाई इरानसँग युद्धमा धकेल्न दिने हो भने यसले ट्रम्प समर्थकहरूको गठबन्धनलाई सिध्याउने तर्क गरे ।
अर्को रूढिवादी राजनीतिक विश्लेषक चार्ली किर्कले सामाजिक संजाल एक्समा पोष्ट गर्दै ट्रम्प यथार्थवादी भए पनि सामान्य ज्ञानलाई महत्व दिने व्यक्ति भएको टिप्पणी गरेका छन् । बीबीसी