site stats
बाह्रखरी :: Baahrakhari
देश
विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध

इलाम । जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षकहरू आ–आफ्ना पेसागत संघसंगठनमा आवद्ध भए पनि कुनै राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ ।
 
शिक्षकहरूले निर्णय उल्लंघन गरेको पाइएमा संघीय शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा ५ (छ) बमोजिम कारबाही गर्ने निर्णय भएको अध्यक्ष केरुङले बताए । “धेरैजसो शिक्षक कुनै न कुनै राजनीतिक पार्टीमा आवद्ध हुने र खुला राजनीति गर्ने क्रम बढेपछि त्यस्ता शिक्षकलाई स्थानीयस्तरबाटै राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाउने कदम चालिएको हो,” अध्यक्ष केरुङले भने, “निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिनेछ, कुनै शिक्षकले निर्णयको उल्लंघन गरेको पाइएमा शिक्षा ऐनबमोजिम कारबाही गरिनेछ ।”

विद्यालय हाताभित्र राजनीतिक कार्यक्रममा रोक

Argakhachi Cement Island Ad

यसैबीच, चुलाचुली गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि तथा कार्यक्रम पनि आयोजना गर्न नपाइनेगरी प्रतिबन्ध लगाएको छ । “गाउँपालिकाभित्रका कुनै पनि शैक्षिक संस्थामा राजनीतिक दल र भ्रातृ संस्थाका कार्यक्रम गर्न नपाउने व्यवस्था गरिएको छ,” अध्यक्ष केरुङले भने, “यसलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।”

चुलाचुलीमा आठ माध्यमिक विद्यालय, १३ आधारभूत विद्यालय, दुई सामुदायिक सिकाइ केन्द्र र १६ बालविकास केन्द्र छन् । त्यहाँ पाँच हजार बढी विद्यार्थी अध्ययनरत  छन् । चुलाचुलीले शैक्षिक गुणस्तर सुधारका लागि सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा र अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको छ । चुलाचुलीले अंग्रेजी माध्यमका लागि २५ शिक्षक दरबन्दी खडा गरी अनुदान दिँदै आएको छ । तीन तहका विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क पाठ्यपुस्तक र पाठ्यसामग्री उपलब्ध गराउँदै आएको छ । 

स्थानीय भाषाको प्रवर्द्धनका लागि चुलाचुलीले ‘मातृभाषा शिक्षा’ समेत लागु गरेको छ । चुलाचुली–१ को जनता मावि, फाल्गुनन्द बहुभाषिक लफाङ पाठशाला, शिवज्योति आवि र चुलाचुली–४ किराँत चोलुङ आविमा ‘लिम्बू भाषा’ पठनपाठन गर्दै आएको छ । ‘मातृभाषा शिक्षा’का लागि गाउँपालिकाले एक–एक जना भाषा शिक्षक अनुदान उपलब्ध गराएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्