site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली भर्सेस रास्वपा : सम्बन्ध बिग्रिएको कि फेस सेभिङ ? 

काठमाडौं । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई निर्दोष करार गरेका एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरुको टिप्पणीबाट आलोचित छन् । उनी आफ्नै बोलीका कारण आलोचित भएका हुन् । 

ओलीले नेपाली कांग्रेसको आलोचना गर्ने क्रममा रास्वापाका सभापति लामिछानेलाई भँगेराको संज्ञा दिए भने शिक्षामन्त्रीसमेत रहेकी रास्वपा सांसद सुमना श्रेष्ठलाई घुम्न आउँदा मन्त्री बनेको भनी टिप्पणी गरेपछि सदनसम्म सोही विषय उठेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समेत मन्त्रीमाथि तुच्छ टिप्पणी गरिएको भन्दै प्रतिनिधिसभामा विरोध जनाएको छ ।

संसद्मा प्रमुख प्रतिपक्षले नै गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै छानबिनको माग राख्दा सबैभन्दा पहिला प्रतिवादमा उत्रिएका ओली अहिले आफैं सत्तासाझेदार रास्वपाका नेता विशेषसँग भिडिरहेका छन् । 

ओलीमा एकाएक आएको बदलाबले एमाले–रास्वपा सम्बन्धमा खटपट भइराखेको छ वा बनावटी राजनीतिक नाटक चलिरहेको छ छुट्याउन मुस्किल भएको छ ।  केहीअघि झापामा विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको भेटमा ओलीले सुमना नेपाल घुम्न आउँदा मन्त्री बनेको टिप्पणी गरेका थिए । 

“नेपाल घुम्न आएकी । विदेशको केटासँग विहे गरेको छ, उता कता हो । नेपाल घुम्न आएकी मन्त्री पो भइन्,” ओलीको टिप्पणी थियो ।   उक्त भिडियो भाइरल भएको थियो । ओली त्यतिमा सीमित रहेनन् । त्यसको एक सातापछि अर्थात् जेठ १९ गते युवासंघले काठमाडौंमा गरेको कार्यक्रममा शिक्षामन्त्रीमाथि फेरि व्यंग्य वाण प्रहार गर्न भ्याए । 

“एउटी देशकी चेली कता गएर पढिन् । कता गएर बिहे गरिने के भो । अनि ती आफ्नो माइती देशमा एक पटक गइन् अरे । माइती देशमा गएको त्यहाँ त असन्तुष्टि अस्तव्यस्तता । युवाहरुमा के कसरी अगाडि बढ्ने भन्ने नभएको अन्योलको त्यस्तो स्थिति । को उठ्छ भन्दा म उठ्छु भन्ने खालको । सांसदमा को उठ्छ ? भन्दा म उठ्छु । कसलाई समानुपातिक चाहिएको छ ? भन्दा मलाई । सांसद भइन् अरे मन्त्री भइन् अरे । कहिले कहिले हुन्छ त्यस्तो । आकाशबाट पानी पर्दा माछा खस्छ,” ओलीले कथा सुनाएको शैलीमा भनेका थिए । 

ओलीको सोही अभिव्यक्तिमाथि रास्वपाले अहिले प्रश्न उठाएको छ । मन्त्री श्रेष्ठले बुधबार समाजिक सञ्जालमामार्फत् ओलीको अभिव्यक्तिको प्रतिवाद गरिन् । उनले वर्षौंदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिस्पर्धा नबढाउन् र उनीहरूको कार्यकर्ता बनून् भन्ने अपेक्षा राखेको टिप्पणी गरेकी छन् । 

“यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र वर्षौंदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिस्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन् । यो तँ बसेर आएको देश हो र नेपाल पो हो भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुँदोरहेछ । कर्मचारीतन्त्र र यहाँका पेसाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन् ।  अहिले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरुको सिप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन्,” उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।  

महिलालाई हेर्ने मानसिकता विकराल रहेको बताएकी छन् । उनले नारीको आफ्नो पहिचान हुँदैन भनि प्रश्न तेर्सयाएका छन् । 

“महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । समाजको नियम भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यहि भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन् । अनि बिहे भएपछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन ? श्रीमान्को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइ हाल्छ ?,” सुमनाको प्रश्न छ, “अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ?  हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन् । यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो । देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबैप्रति लक्षित हो ।”

ओलीको अभिव्यक्तिले संसद्मै प्रवेश पायो । प्रतिनिधिसभा बैठकमा पनि ओलीको टिप्पणीप्रति आपत्ति जनाएको छ । बुधबार (हिजो) को प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद शिशिर खनालले ओलीलाई लामो समयदेखि राजनीति केका लागि गरेको भन्दै प्रश्न गरे । उनले संविधानले दिएको अधिकार प्रयोग गरेर देशको नेतृत्व गर्न नपाइने हो भनि प्रश्न समेत गरे । 

“विदेशमा उच्च शिक्षा हासिल गरेकी एक महिला नेतृ दश वर्षअघि देश फर्किइन् । भूकम्पको बेला औषधि लिएर गाउँ पुगिन् । नाकाबन्दीका बेला सडकमा हिँडिरहेका मान्छेलाई यात्राको सुविधा प्रवाह गरिन्,” खनालले भने, “उद्यममार्फत रोजगारी सिर्जना गरिन् । पछि राजनीतिमा आइन् । आज मन्त्री भइन् । उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनेको छ भनिन्छ, कहिले लुगामा टिप्पणी, कहिले समानुपातिक सांसद भनेर होच्याउने गरिन्छ । कहिले यही सभा हलभित्र कहिले बन्द कोठाभित्र ।”

रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले पनि ओलीको टिप्पणीप्रति आपत्ति जनाए । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले श्रेष्ठ लक्षित टिप्पणीप्रति पार्टीले गम्भीररूपमा आपत्ति जनाएको बताए । 

प्रेम गर्ने, विवाह गर्ने भन्ने कुरा व्यक्तिको नितान्त व्यक्तिगत निर्णय भएकाले त्यसलाई अरूले सम्मानबाहेक केही गर्न नसक्ने उनको भनाइ छ । 

उनले अन्तरदेशीय विवाह पितृसत्तालाई मन नपरेको बताए । “पितृसत्ताले गाँजेको यो समाजमा हिजो अन्तरजातीय विवाहका लागि लड्नुपर्ने थियो । आज देश विदेश फैलिएर अन्तरदेशीय विवाह पनि हुने गरेको छ । तर, पितृ सत्तालाई यो मन परेको छैन । त्यसैले कयौँ टिप्पणीहरु आउने गरेका छन्,” लामिछानले भने । 

कांग्रेसले भन्यो– रवि बोल्न सकेनन् 

कांग्रेसले पार्टी सभापति समेत रहेका गृहमन्त्री लामिछानेले एमाले अध्यक्ष ओलीको टिप्पणीमा बोल्न नसकेको आरोप लगाएको छ ।  कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले ओलीको अभिव्यक्ति गलत भएको ठहर्‍याउँदै ओलीलाई अभिव्यक्ति फिर्ता लिनुुस् भन्न नसकेको टिप्पणी गरे । 

“बोल्न सक्नुहुन्न । बोल्न सक्नुभएको भए शिक्षा मन्त्रीउपरको शब्द फिर्ता लिनुस् पूर्वप्रधानमन्त्रीज्यू उहाँले दमदार ढंगले भन्न सक्नुहुन्थ्यो । नम्रतापूर्वक पनि उहाँले भन्न सक्नुभएन,” शर्माले बिहीबारको प्रतिनिधिसभा बैठकमा भने । 

शर्माले पूर्वप्रधानमन्त्री भइसकेका व्यक्ति जोसँग पनि जोरी खोज्न नहुने टिप्पणी समेत गरे । 

“विवाह कसले कोसँग गर्ने त्यो कुरा व्यक्तिको नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो । अघिल्लो पुस्ताका कोही पनि अग्रज आदरणीय नेताहरुले पछिल्लो पुस्ताका जुनसुकै दलका हुन् उदाउँदै गरेको राजनीतिक नेतृत्वलाई निरुत्साहित गर्नुहुन्न । प्रोत्साहित गर्नुपर्छ,” उनले भने,“प्रधानमन्त्रीको उचाइमा पुग्नुभएको नेताहरूले एक अलग सम्मानमा रहनुपर्छ । जोसँग जहाँ पनि जोरी खोज्न मैदानमा उत्रनुहुन्न ।” 
कांग्रेसले पूर्वप्रधानमन्त्री ओली जोडिएको गिरिबन्धु टि–इस्टेटको फाइल गृहमन्त्री लामिछानेले खोल्न नसक्ने जिकिर गरे । 

“म यहाँनिर गृहमन्त्रीजीलाई खोज्न चाहन्छु । सत्ता गठबन्धन दलको सबैभन्दा ठूलो अध्यक्षले कांग्रेसले बेचेर ७० बिगाहाको कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ । त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? म जान्दछु खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न,” महामन्त्री शर्माले भने ।

एमाले– रास्वपा सम्बन्धमा खटपट आएको हो ? 
ओलीको अभिव्यक्तिमा लामै समय मौन रहेको रास्वपाले बुधबार एकाएक प्रतिक्रिया जनायो । 

रास्वपाका एक नेताका अनुसार ओलीले एक पटक मात्रै बोलेको भए मौन रहने कुरा हुन्थ्यो । तर, ओलीले बारम्बार बोलेको र ट्रोल नै बनेपछि प्रतिवाद गर्नुपर्ने बाध्यात्मक अवस्था आएको ती नेताले सुनाए । “उहाँ (ओली) ले बोल्नुभयो । त्यहीँ सकिएको भए सायद हामी बोल्दैनथ्यौं । दुई चार चरणमा त्यही कुरा आएपछि, ट्रोल भएपछि हामीले प्रतिक्रिया जनाएका हौं,” ती नेताले भने । 

रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अभिव्यक्तिमाथि पार्टीबाट, विदेशमा रहेका युवाबाट प्रतिक्रिया आएपछि मात्रै धारणा राखिएकाले केही समय लागेको बताए । बुर्लाकोटीले एमालेसँगको सम्बन्ध कुनै समस्या नरहेको जिकिर गरे । उनले विदेशमा गएकाहरु फर्किएर ठूलो ओहोदामा पुग्दा खुसी हुनुपर्नेमा दिग्दारी भएको भन्दै कटाक्ष गरे । 

“सम्बन्ध राम्रो छ । अहिले विचार अभिव्यक्तिको कुरा रह्यो । हामी चाहीँ विदेशमा गएर पढेका, विभिन्न बाध्यताका कारण विदेश गएका पढेलेखेका युवाहरुलाई स्वदेश फर्काउनुपर्छ र यहाँ नै काम गर्ने वातावरण बनाउनुपर्छ भन्ने सोचमा छौं । उनीहरु फर्किए केही काम गरे काम गर्ने क्रममा सांसद, मन्त्री, अधिकृत होलान,” बुर्लाकोटीले बाह्रखरीसँग भन्छन्, “त्यस्तो ठाउँमा गए भनेर खुसी हुनुपर्नेमा दिग्दारी हुनु दुःखको कुरा हो । हामीले त्यसलाई व्यक्ति विरुद्धभन्दा पनि प्रवृत्तिको रुपमा लिएका छौं । पार्टीभित्रै त्यस्तो सोच छ भने पनि हामी खण्डन गछौं ।”

राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईं रास्वपाले ढिलै भए पनि ‘फेस सेभिङ’ गरेको बताउँछन् । 

“ओलीको अभिव्यक्तिमा रास्वपाले तुरुन्तै जवाफ फर्काउन सकेन । करिब एकसातापछि रास्वपाले जवाफ फर्काउने हिम्मत चाहिँ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी डिपेन्डेन्ट भएर बाँचेको भन्ने देखाउँछ । किनकि सत्ताको तेस्रो ठूलो पार्टीबाट रहेको मन्त्रीलाई आक्षेप लगाउँदा मौन रह्यो,” उनी भन्छन्, “रास्वपाले तुरुन्तै एउटा विज्ञप्ति निकाल्न सक्थ्यो, सभापतिले जवाफ दिन सक्थे तर केही नगरी मौन बसेको रास्वपाले अहिले फेस सेभिङ भने गरेको छ ।” 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro