site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अवकाश पाएको २३ वर्षपछि पूर्वसहसचिव सावित्री राजभण्डारी भ्रष्टाचारी ठहर
फाइल तस्बिर ।

काठमाडौं । सहसचिवबाट अवकाश पाएको २३ वर्षपछि सावित्री राजभण्डारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । उनीमाथि सरकारी पद दुरुपयोग गरी अनुचित सम्पत्ति आर्जन गरेको अभियोग सर्वाेच्च अदालतबाट आइतबार प्रमाणित भएको हो । 

उनले ०५८ सालमा सहसचिवबाट अवकाश पाएकी थिइन् । अवकाशमा गएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्तिमा अनुसन्धान गरी २०६२ भदौ १६ मा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका तत्कालीन न्यायाधीश गौरीबहादुर कार्कीसहितको इजलासले राजभण्डारीलाई दोषी ठहर गर्दै गैरकानुनी आर्जन र त्यसबाट थपिएको लाभसहित दुई करोड ८६ लाख ४१ हजार ७४० रुपैयाँ ४२ पैसा जफत गर्नुपर्ने फैसाला सुनाएको थियो । त्यसअतिरिक्त राजभण्डारीलाई एक वर्ष जेल सजाय हुने फैसला गरेको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले आइतबार राजभण्डारीलाई दोषी ठहर गर्ने विशेष अदालतको फैसला सदर गरेको हो ।

तर, राजभण्डारी एकपटक त विशेष अदालतबाटै चोखिएकी थिइन् । ‘हदम्याद’को तर्क दिँदै विशेष अदालतका तत्कालीन अध्यक्ष चोलेन्द्रशमशेर राणासहितको इजलासले २०६४ मंसिर २३ मा मुद्दा नै खारेज गरी राजभण्डारीलाई चोख्याएका थिए ।

तर, विशेष अदालतबाट मुद्दा खारेज भएकामा अख्तियार सर्वोच्चमा पुनरावेदन गयो । सर्वोच्चले तथ्यभित्रै प्रवेश गरी निर्णय लिन भनेपछि विशेष अदालतले मुद्दा दोहोर्‍याउँदै ०६९ मंसिर १२ गते गैरकानुनी सम्पत्ति आर्जेको ठहर गरेको थियो ।

विशेष अदालतले राजभण्डारी र उनकी छोरी मोनिसा राजभण्डारी (बस्नेत) को नामको बैंक खातामा जम्मा भएको र बढे/बढाएको रकम गैरकानुनी ठहर गरेको हो ।

फैसलाका अनुसार, राजभण्डारीले विवाहित छोरी मोनिसा राजभण्डारी बस्नेतको नाममा हिमालयन बैंक पाटन शाखा र नेपाल बंगलादेश बैंक पुतलीसडक शाखामा खाता खोली आफैँले खाता सञ्चालन गरेकी थिइन् । भ्रष्टाचार अभियोगपछि उनले शेषकृष्ण र विजया गोयलसँगको पार्टनसिपमा कन्स्ट्रक्सन कम्पनी खोलेर त्यसको नाफा देखाउने प्रयास गरेकी थिइन् । तर, उनी स्रोत खुलाउन असमर्थ भएकी थिइन् ।

२०२२ माघ २३ मा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेकी राजभण्डारी ०५५ मंसिर २७ गतेदेखि ०५७ साल साउन २ गतेसम्म त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत भएर काम गरेकी थिइन् । 

त्यसपछिको अवधिमा अर्थ मन्त्रालयको सहसचिवबाट ०५८ भदौ २५ मा सेवा निवृत्त भएकी थिइन् । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro