site stats
बाह्रखरी :: Baahrakhari
देश
गोदावरीका तत्कालीन मेयरसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा, साढे २६ करोड बिगो दाबी 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका तत्कालीन नगरप्रमुख (मेयर) गजेन्द्र महर्जनसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले क्रसर, खानी तथा नदीजन्य पदार्थमा राजस्व उठाउँदा २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

Argakhachi Cement Island Ad

अख्तियारले मुद्दा दायर गरेका अन्यमा गोदावरी नगरपालिकाका तत्कालीन उपप्रमुख मुना अधिकारी, प्रमुख प्रशासकीय अधिकृत प्रविन कोइराला, राजस्व शाखा प्रमुख तथा राजस्व परामर्श समिति सदस्य श्रीकण्ठ घिमिरे, कर्मा कन्सट्रक्सन र यसका सञ्चालक रवि महर्जन, निराकर ढुंगा रोडा उद्योग प्रा.लि. र यसका सञ्चालक मधुसुदन डोटेल, मछिन्द्रनाथ मल्टीप्रपोज प्रा.लि. र यसका सञ्चालक केदार नाथ तिमल्सेना, सजिलो रोडा ढुंगा उद्योग प्रा.लि.का र यसका सञ्चालक शशिराज शाही र वीरेन्द्र महर्जन ढुंगा उद्योग प्रा.लि. र यसका सञ्चालक वीरेन्द्र महर्जन रहेका छन् ।

गोदावरी नगरपालिकामा क्रसर, खानी तथा नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा, वेस, चिप्स) आदिमा सरकारी दररेट भन्दा कम मात्र कर जम्मा गरी वार्षिक करोड राजस्व हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा खानीजन्यर/नदीजन्य साधारण निर्माणमुखी खनिज पदार्थ (ढुंगा, गिट्टी, रोडा, बालुवालगायत)को बोलपत्र आह्वान एवं ठेक्का सम्झौता गर्दा उक्त भ्रष्टाचार भएको पाइएको अख्तियारले सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले सम्झौता गर्दा संघीय सरकार, बागमती प्रदेश सरकार र गोदावरी नगरपालिकालाई २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपैयाँ राजस्व चुहावट गरी कसुरजन्य कार्य गरे गराएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

सोमबार दायर गरिएको मुद्दामा प्रत्येकसँग २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्