site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
त्रिवि क्रिकेट मैदानमा ६० करोडको संरचना बन्ने

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा करिब ६० करोड रुपैयाँको संरचना बन्ने भएको छ ।बिहीबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मैदानको अवलोकन गर्दै मैदान परिसरमा ६० करोडको संरचना बन्ने जानकारी दिएका हुन् ।

“मन्त्रालयले एउटा प्रतिवदेन बनाएको थियो । जसमा कीर्तिपुर, मूलपानी र दशरथ रंगशालाको कुरा थियो । त्यसैअन्तर्गत रहेर यो रंगशालामा अब के गर्ने भन्ने कुरा हुँदा आज फिल्डमै आएर अवलोकन गरेका हौँ,” मन्त्री श्रेष्ठले भने, “हाम्रो मुख्य ध्यान भनेको दर्शकलाई खानेपानी र शौचालयको सुविधा उपलब्ध गराउनु हो । मैदानमा यी कुरा व्यवस्थित होस् भन्ने जनचाहना पनि थियो ।”

Dabur Nepal
NIC Asia

मन्त्री श्रेष्ठसँगै मन्त्रालयको टोली र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले त्रिवि क्रिकेट मैदानको अवलोकन गरेका हुन् । मन्त्री श्रेष्ठले क्यानलाई भारतले २० करोड सहयोग दिने उल्लेख गर्दै त्यो रकमलाई कसरी खर्च गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।

मन्त्री श्रेष्ठ भन्छन्, “भारतले दिने भनेको २० करोड र गत वर्ष फ्लड लाइटमा खर्च हुन नसकेको २० करोड रुपैयाँलाई एकमुष्ट रूपमा व्यवहारिक हिसाबले यहाँको संरचनालाई सुदृढीकरण गर्ने हाम्रो योजना हो । विदेशमा खेलाडीहरूको एकेडेमीका लागि त्यहाँका होटेल व्यवसायीले संरचना बनाइदिने र त्यसबाट आफ्नो व्यावसायिक प्रचार गर्ने चलन देखिएकाले हामीले पनि एकेडेमीका लागि हान (होटेल एसोसियसन अफ नेपाल)लाई अनुरोध गर्ने प्रक्रियामा छौँ ।”

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारले खेलकुदतर्फ कुल तीन अर्ब ५० करोडको बजेट छुट्याएको छ । जसअन्तर्गत संरचना निर्माणका लागि एक अर्ब ३० करोड विनियोजन भएको छ । मन्त्री श्रेष्ठले खेलुकदमा बजेट पर्याप्त नभए पनि पछिल्लो चार आर्थिक वर्षपछिको सबैभन्दा ठूलो रकम विनियोजना हुँदा उत्साहित रहेको बताए । उनले १०औँ राष्ट्रिय खेलकुदका लागि सरकारले बजेट विनियोजन गरिसकेकाले सबै स्थानीय तहलाई अहिलेदेखि नै खेलाडी उत्पादनमा लाग्न आग्रह समेत गरे ।

“खेलकुदमा यो वर्षको बजेट पनि पर्याप्त छैन । तर, अहिले हामी पछिल्लो चार वर्षयताकै ठूलो बजेट भएको अवस्थामा आइपुगेका छौँ,” उनले भने, “चाहना असीमित छ तर स्रोत र साधन सीमित छन् । तर, सधैँ राज्यसँग आस गरेर हुँदैन । खेलकुद भनेको व्यावसायिक पनि हुनुपर्छ । १०औँ राष्ट्रिय खेलकुदका लागि सरकारले बजेटमै ६० करोड छुट्याएको छ । म अहिले यहीबाट नेपालभरका सबै स्थानीय तहलाई अहिलेदेखि नै खेलाडी उत्पादन र तयार गरेर राख्न अनुरोध गर्दछु ।”

क्यानका सचिव पारस खड्काले मैदानको समर्थक बस्ने क्षेत्रमा क्षेत्र छुट्याएर महिला–पुरुष शौचालयको निर्माण गर्ने र भीआईपी क्षेत्रमा बसेर हेर्न मिल्ने संरचना बनाइने योजना सुनाए ।

“अहिलेलाई समर्थक बस्ने क्षेत्रमा जोन छुट्याएर व्यवस्थित महिला–पुरुष शौचालय बनाउने, भीआईपी क्षेत्रमा संरचना नै बनाएर गेम हेर्न बस्न मिल्ने ठाउँ बनाउने र पभेलियन क्षेत्रलाई अझ राम्रो बनाउने योजना छ,” सचिव खड्काले भने, “६० करोडले कति संरचना बन्छ भन्ने अनुमान लगाउन त सक्दिन । तर, मन्त्रालय र राखेपले देखाएको चासोप्रति क्यान उत्साहित छ । कहिलेकाही बजेट छुट्टाइन्छ तर, खर्च नहुने अवस्था देखा परेको छ । अहिले सबै बजेट उचित स्थानमा खर्च हुन्छ भन्ने आस लिएका छौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro