site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेटप्रतिको प्रतिक्रियाले ‘सरप्राइज’ भएँ : अर्थमन्त्री पुन
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा सबैले दिएको प्रतिक्रियाले आफू ‘सरप्राइज’ भएको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको छलफल कार्यक्रममा मन्त्री पुनले प्रतिपक्षीले समेत बजेटको स्वागत गरेको बताए ।  

अधिकांशबाट सकारात्मक प्रतिक्रिया आएको उनको भनाइ छ । “बजेटबारे अलिअलि आलोचना त आउनुपर्छ भन्ने लागेको थियो । केही ठाउँबाट आलोचना पनि आयो । त्यसमा पनि म खुसी नै छु,” उनले भने, “तर, अधिकांशले बजेट सन्तुलित नै आएको प्रतिक्रिया दिएका छन् । त्यसबाट आफैँ सरप्राइज भएको छु । म आफैँलाई पनि तथ्यमा आधारित भएर नै बजेट आएको जस्तो लाग्छ ।”

उनले सबै मन्त्रालय र निकायहरूको मेहनत र सरोकारवालाहरूको सुझावका आधारमा यस्तो बजेट ल्याउन सफल भएको बताए । तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकारवालाले बजेट स्वीकार गरेको उनको भनाइ छ । बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिइएको पनि उनको भनाइ छ । 

यस्तै, संसद्को अवरोध हटाएर बजेट प्रस्तुत गर्न सक्नु सकारात्मक पक्ष भएको मन्त्री पुनको दाबी छ । अर्थमन्त्री पुनले अर्थतन्त्र निर्माणका लागि केही न केही योगदान र त्याग गर्नुपर्ने बताए । यो विषय सबैले बुझ्नुपर्ने उनले भनाइ छ । खर्च कम गर्नेतर्फ सबै क्षेत्रले सोच्नुपर्ने उनले बताए । साझा क्षेत्र पहिचान गरी योगदान गर्नुपर्नेमा उनले जोड दिए । साझा सोचबाट नै आर्थिक सुधार गर्न सकिने उनले बताए ।

नीतिगत अस्थिरता कम गर्न अहिले कमभन्दा कम क्षेत्र चलाइएको उनले बताए । कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जालगायत प्राथमिकता प्राप्त क्षेत्रले आर्थिक वृद्धिमा मुख्य भूमिका खेल्ने उनको भनाइ छ । तसर्थ, बजेटमा उक्त क्षेत्रलाई बढी प्राथमिकता दिएको अर्थमन्त्री पुनले बताए ।

“कतिपय करका दर हेरफेरका कुरामा हामी सार्वजनिक बहस गरेर नै अगाडि बढ्न सक्छौँ,” उनले भने, “सही काम गर्दा निजी क्षेत्र सरकारसँग छलफल गर्न डराउनु पर्दैन । आगामी दिनमा अझै खुला छलफल हुनुपर्छ ।”

उनले स्पन्ज आइरनको करका दर हेरफेर गर्दा टिप्पणी आउँछ भन्नेमा पहिला नै जानकार भएको बताए । विभिन्न सरकारी अध्ययनको प्रतिवेदनको आधारमा नै यसमा करको दर परिवर्तन गरेको उनले बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro