
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्तालाई रकम फिर्ता गर्न प्रक्रिया अघि बढाएको छ । समितिको कार्यालयले रकम मागदाबी गर्न बचतकर्तालाई आग्रह गरेको छ ।
समितिको कार्यालयले सूचना प्रकाशित गरी सुमेरुका बचतकर्तालाई अनलाइनबाट माग दाबी गर्न भनेको छ । आगामी ३५ दिनभित्र अनलाइन दाबी गर्न समितिले वचतकर्तालाई समय दिएको छ ।
वाग्मती प्रदेश सरकारले गत पुस २८ गते सुमेरु सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । प्रदेश सरकारले सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि लेखी पठाएकाले वचतकर्तालाई रकम भुक्तानीको प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ ।
साढे दुई दशकदेखि सञ्चालनमा रहेको सुमेरु सहकारीको पुल्चोक, धापाखेल, गठ्ठाघर शाखा र काठमाडौं महानगरपालिकामा कालिमाटीमा शाखा रहेको छ ।
सुमेरु सहकारीका सञ्चालकहरूले बचतकर्ताको दश अर्ब ३४ करोड सात लाख ३९ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।
सुमेरु सहकारी समस्याग्रस्त घोषणा हुनुअघि पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले बचतकर्ताको रकम फिर्ता गरी सहकारी सञ्चालन गर्ने योजना ल्याएका थिए । सिंहले २०८१ जेठमा उनले सुमेरु सहकारी सञ्चालनको जिम्मेवारी लिने सहमति गरेका थिए । योजना ल्याए पनि प्रक्रिया अघि बढेन ।
सुमेरु सहकारीका अध्यक्ष भरत महर्जनलाई ठगीको आरोपमा नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिससमेत जारी भएको छ । महर्जन अहिलेसम्म पक्राउ परेका छैनन् । उनी वेलायतमा रहेको आशंका गरिएको छ ।
महर्जन २१ वर्षसम्म आफैँ अध्यक्ष थिए । त्यसपछि संस्थाकै कर्मचारी हेमराज दाहाललाई अध्यक्ष र विनोद आचार्यलाई सचिव बनाएर सञ्चालक समितिमा अन्य आफन्त ल्याएका थिए ।