घोडाघोडी (कैलाली) । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ ।
घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण संघका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए । उनका अनुसार यो प्रजातिको चरा भारत र बंगलादेशबाट गर्मी याममा नेपाल आउने गर्छन् । यो नयाँ प्रजाति थपिएसँगै घोडाघोडी आरक्षमा चराको संख्या ३८१ पुगेको छ ।
गर्मी याममा बसाइँ सर्ने चराको प्रजाति, संख्या र अवस्था पत्ता लगाउने उद्देश्यका साथ डिभिजन वन कार्यालयको आयोजना र नेपाल पन्छी संरक्षण संघको समन्वयमा चरा गणना गरिएको हो । रासस