काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले 'व्यवस्था फेरियो, अवस्था फेरिएन' भन्ने भाष्य गलत रहेको टिप्पणी गरेका छन् । बुधबार प्रज्ञा भवनमा आयोजित राष्ट्रिय महिला भेलामा उनले 'भर्खर आएका केटाकेटीले के देख्नु' भन्दै व्यंग्य गरे ।
“हामीले अवस्था जहाँको तहीँ छ भन्ने होइन । एउटा गलत शब्दावलीको प्रयोग भइरहेको छ, व्यवस्था परिवर्तन भयो । अवस्था जहीँको तहीँ छ । भर्खर आएका केटाकेटीले के देख्नु, अवस्था कहाँ थियो कहाँ आइपुग्यो,” ओलीले भने, “कति संघर्ष गर्नुपरेको छ । कति संघर्ष पार गरेर या कस्तो अवस्था पार गर्नुपरेको थियो ।”
उनले अवस्था परिवर्तन भएको पनि बताए । असन्तुष्टि व्यक्त गरेर मात्रै केही नहुने उनको भनाइ छ ।
“हामीले उपलब्धि प्राप्त नगरेका होइनौँ, गरेका छौँ । सन्तुष्ट छौँ भन्ने होइन । असन्तुष्टि पोखेर मात्रै हुँदैन । निर्दिष्ट गन्तव्यको यात्रामा निरन्तर लागिरहेका छौँ,” ओलीले भने ।
अध्यक्ष ओलीले असन्तुष्ट भएर कहिल्यै मञ्च छाड्न नहुने बताए । संघर्ष गरेरै अघि बढ्नुपर्ने उनको भनाइ छ ।
“असन्तुष्ट भएर मञ्च छोडिदिने होइन । प्रतिष्पर्धा छोडिदिने होइन । चित्त नबुझेको होला । पाइँदैन भनेर छोडेपछि हाइसञ्चो भइहाल्छ । हामीले घर छोड्ने होइन, संघर्ष गरेर अघि बढ्नुपर्छ,” उनले भने ।