site stats
बाह्रखरी :: Baahrakhari
कला
सम्बन्ध चिसिएको भनिरहेका बेला सन्तोषले गरे प्रदीपको तारिफ 

काठमाडौं । निर्देशक तथा निर्माता सन्तोष सेनले अभिनेता प्रदीप खड्काको अभिनयको तारिफ गरेका छन् । उनले समयअनुसार ढल्नसक्ने कलाकार भन्दै प्रदीपको तारिफ गरेका हुन् । 

चलचित्र ‘पुजार सार्की’ हेरेपछि सन्तोषले सिनेमामा प्रदीप खड्काकाे पात्र प्रतिक्षित रहेको समेत बताएका छन् । पछिल्लो समय सन्तोष र प्रदीपबीच राम्रो सम्बन्ध नरहेको खबरहरू आइरहेका बेला सन्तोषले प्रदीपको अभिनयको तारिफ गरेका हुन् । यद्यपि, सन्तोषले प्रदीप खड्काको पूरै नाम नलिई पीके भाइ मात्रै भनेका छन् । 

“आज पुजार सार्की हेरियो चलचित्र हेरेपछि दुई पात्र मैते र मेघराजका लागि एउटा कुरा भन्न मन लाग्यो वाउ ! पुजार सार्कीको शीर्ष भूमिका कसैको भए पनि सिन पछि सिन मैते र मेघराजको प्रतिक्षा बढी देखियो,” सामाजिक सञ्जाल फेसबुकमा सन्तोष लेख्छन्, “पिके (प्रदीप खड्का) भाइको खुबी र परिकल्पना मैले धेरै नजिकबाट नियालेको छु । बजार जुनबेला जस्तो प्रस्तुतिमा रमाइरहेको हुन्छ त्यस्तै प्रस्तुति गर्ने क्षमता छ उसमा, मैले अद्भूत भनेको यसै होइन ।” 

सन्तोषले पल शाहको अभिनयको पनि प्रशंसा गरेका छन् । पलको पात्रमा धेरै उतारचढाव नभए पनि  सालिनताले पात्रलाई न्याय गरेको उनले बताएका छन् । “हजुर पनि जे पनि गर्न सक्नुहुन्छ भन्ने प्रमाणित भयो,” सन्तोषले लेखेका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्