काठमाडौं । सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रका तीन छाता संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सिरोहियाको पक्राउप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही कारबाहीको भागिदार हुनुपर्छ भन्दै यसरी धरपकड गर्न नहुने उनीहरूको भनाइ छ ।
“कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्नेजस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्नेतर्फ हामी ध्यानाकर्षण गराउन चाहन्छौँ । विगतदेखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभइ सुनुवाइको मौका दिनुपर्ने भन्दै आइरहेका छौं,” जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरूका कुरा सुनिदिनुपर्ने पनि बताइएको छ । “थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रियाअघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।
मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठिसकेको छैन । अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरूलाई आग्रह पनि गरिएको छ । यस अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनु नहुने निजी क्षेत्रको सुझाव छ ।
कुनै पनि व्यवसायीको मानमर्दन गरेर उनीहरूलाई हतोत्साही गरेर लगानीको वातावरण नबन्ने पनि व्यवसायीको भनाइ छ । अहिले देशभित्रका सानादेखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ । उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नुपर्नेमा पनि जोड दिइएको छ । देशभित्र व्यवसायिक वातावरण खल्बलाउने काम कहीँ कतैबाट पनि नहोस् भन्नेतर्फ निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएको छ ।