
काठमाडौं । नेपालको प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक हिमालय एयरलाइन्सले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सव भव्य समारोहका साथ मनाएको छ । समारोह राजधानीस्थित होटल याक एन्ड यतिमा बुधबार सम्पन्न भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, चीनको जनगणतन्त्रको दूतावास, नागरिक उड्डयन प्राधिकरण नेपाल (क्यान)लगायत संस्थाका उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा एयरलाइन्सका कर्मचारी, पदाधिकारी तथा सरोकारवालाको उत्साहजनक सहभागिता थियो ।
कार्यक्रममा मन्तव्य राख्दै वक्ताहरूले नेपालको हवाई क्षेत्र सुदृढ पार्न, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न तथा पर्यटन र व्यापार प्रवर्द्धन गर्न हिमालय एयरलाइन्सले पुर्याएको योगदानको प्रशंसा गरे ।
वर्तमानमा एयरलाइन्सले चीन, साउदी अरेबिया, कुवेत, कतार, यूएई, मलेसिया र बंगलादेशलगायत देशसँग नेपालको हवाई सम्पर्क कायम राखेको छ ।
कार्यक्रममा हिमालय एयरलाइन्सका कर्मचारीहरूद्वारा नेपाली सांस्कृतिक नृत्य, गीत र विविध जातीय पोसाक प्रदर्शन गरिएको थियो । यसले नेपालकै सांस्कृतिक विविधता प्रस्तुत गर्दै कार्यक्रममा रौनक थपेको थियो ।
सन् २०१४ मा स्थापना भई २०१६ देखि व्यावसायिक उडान सुरु गरेको हिमालय एयरलाइन्सले आजसम्म आफ्नो सेवा दायरा विस्तार गर्दै एसिया तथा मध्यपूर्वका प्रमुख गन्तव्यसम्म नियमित उडान भर्दै आएको छ ।
एक दशकको यात्रालाई उत्सवपूर्वक मनाएको एयरलाइन्सले आगामी दिनमा सेवा गुणस्तर अभिवृद्धि गर्ने, नयाँ गन्तव्य थप्ने तथा दक्षिण एसियाको प्रमुख हवाई केन्द्र बन्ने नेपालको लक्ष्यमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।