site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंबाट उडेका ५५ हजार, यूएई पुग्दा पौने दुई लाख ?
फाइल तस्बिर

काठमाडौं । काठमाडौंबाट युनाइटेड अरब इमिरेट्स (यूएई) उडेका साढे ५५ हजार नेपाली यूएई पुग्दा पौने दुई लाखको संख्यामा हुन्छन् । यो सुन्दा अचम्म लाग्छ । “तर कसरी ? यस्तो पनि हुन्छ र ?,” तपाईँको मनमा प्रश्न उठ्नु स्वाभाविक नै हो ।
 
तथ्याङ्कले भने यस्तै देखाएको छ । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागको तथ्याङ्क अनुसार, सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा २ लाख ४ हजार ५१८ जना विदेश गएका थिए । यीमध्ये ५५ हजार ६१८ जना यूएई जान भनी उडेका थिए ।

यूएई सरकारले हालै अबुधाबीस्थित नेपाली दूतावासलाई दिएको जानकारी अनुसार, सन् २०२३ मा १ लाख ७५ हजार नेपाली भिजिट भिसामा यूएई पुगेका छन् र रहेका छन् । नेपालबाट यूएई जान भनी ‘भिजिट भिसा’मा उडेका भन्दा यूएईमा भिजिट भिसामा पुग्ने नेपालीको संख्या १ लाख १९ हजार ३८२ ले बढी देखिएको छ । 

नेपालबाट भिजिट भिसामा यूएई जानेभन्दा पुग्नेको संख्या कसरी बढी भयो त ? यूएइका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बाह्रखरीसँग भने, “काठमाडौैंबाट सिधै नआई अन्य देश हुँदै यहाँ आएका हुन सक्छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागका अनुसार, सन् २०२३ मा वर्किङ तथा भिजिट भिसामा कुल २ लाख ७१ हजार ८८ नेपाली यूएई गएका थिए । उक्त वर्ष यूएईबाट २ लाख १७ हजार १५९ जना नेपाली यूएईबाट फर्केका थिए । 

एजेन्टहरूले नेपालीलाई प्रलोभन देखाई यूएई पुर्‍याउने गर्छन् । कसैलाई अमेरिका पुर्‍याउने र कसैलाई युरोपका विभिन्न देश, पछिल्लो समय रुसी सेनामा भर्ती गराउने प्रलोभन देखाई नेपालीलाई भिजिट भिसामा यूएई पुर्‍याउने गरेको पाइन्छ । यसरी यूएई पुग्नेहरू काठमाडौंबाट सिधै नगई भारत, बंगलादेश, श्रीलंकालगायतका देश हुँदै जाने गर्छन् ।

कति नेपालीलाई त ओमान, बहराइन जाने र त्यहाँबाट यूएई पुग्ने गरेको समेत पाइएको छ । एजेन्टहरूले कति नेपालीलाई अवैध तरिकाले गन्तव्यमा पुर्‍याउन कतिलाई  छोटो त कतिलाई लामो अवधिका लागि यूएईलाई ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्दै आएका छन् ।

पछिल्लो समय एजेन्टहरूले नेपालीलाई भिजिट भिसामा युएई हुँदै मस्को पुर्‍याएर रुसी सेनामा भर्ती गराउने गरेको थाहा पाएपछि सरकारले कडाई गरेको थियो । यूएई हुँदै रुस जाने नेपालीले यूएईस्थित नेपाली दूतावासबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अनिवार्य लिनुपर्ने नियम बताएको थियो ।

“हामीले यूएई सरकारलाई दूतावासको एनओसी नलिई भिजिट भिसामा रुस जान खोज्ने नेपालीलाई रोक्न भनेका छौं । यूएई सरकारले सहयोग गरेको छ । एजेन्टहरूको प्रलोभनमा परी रुस जानेको संख्या घटेको हुनुपर्छ । तर भिजिट भिसामा यूएई आउनेको संख्या घटेको छैन,” राजदूत क्षेत्रीले भने ।

भिजिट भिसामा गएर काम गर्न पाइँदैन । तर, काम गर्न नपाउने नेपाली पनि भिजिट भिसामा लामो समय यूएईमा बस्ने गरेका छन् । यूएई गएर अमेरिका र यूरोपका विभिन्न देशको भिसाका लागि आवेदन दिने गरेको पाइएको छ । 
भिसा रिजेक्ट भएमा पासपोर्ट च्यातेर फ्याँक्ने र हरायो भनी नयाँ पासपोर्टका लागि आवेदन दिने गर्छन् । यसो हुँदा यूएईस्थित नेपाली दूतावासमा पासापोर्टका माग पनि बढेको छ ।

गएको आर्थिक वर्ष २०७९/८० मा २३ हजार ८७६ जना नेपालीले पासपोर्टका लागि आवेदन दिएका थिए । “चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा दूतावासले ४० हजारभन्दा बढी पासपोर्ट जारी गरेका छौं । प्रत्येक महिना ४ हजारभन्दा बढी पासापोर्ट जारी गरिएको छ,” राजदूत क्षेत्रीले भने । 

अहिलेकै गतिमा पासपोर्ट जारी भए अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष दूतावासबाट दुई गुनाभन्दा बढी पासपोर्ट जारी हुने देखिन्छ ।  

अध्यागमन विभागका अनुसार, अघिल्लो वर्ष सन् २०२२ मा भिजिट भिसामा विदेश जाने नेपालीको संख्या १ लाख ७७ हजार ३१० थियो । तर उक्त वर्ष भिजिट भिसामा २ लाख ५५ हजार नेपाली यूएई पुगेका थिए । उक्त वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा जति नेपाली विदेश गएका थिए, त्यो संख्याभन्दा बढी भिजिट भिसामा यूएई पुग्नेको थियो । 

पछिल्ला वर्षहरूमा भिजिट भिसामा यूएई जानेको संख्या बढ्दो छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार, सन् २०२० को अगष्टदेखि डिसेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा यूएई जानेको संख्या मात्र ७ हजार ७४९ रहेको थियो ।

सन् २०२१ मा आउँदा ‘भिजिट भिसा’मा यूएई जानेको संख्या ह्वात्तै बढेको थियो । सन् २०२१ मा ७२ हजार ९४ जना नेपाली भिजिट भिसामा त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएई गएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०९:१३
प्रतिक्रिया दिनुहोस्