काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो । बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागले राति कोसी र मधेस प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।