site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दिनभर विश्रामकक्षमा बसेका रवि मुद्दा दर्ता भएपछि हिरासतमै फर्किए
फाइल तस्बिर ।

पोखरा । कात्तिक २ गतेयता कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आइतबार तीनवटा कसुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दायर गरेको हो ।

आइतबार जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जना (कम्पनीसमेत)विरुद्ध अभियोगपत्र दायर भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले यही पूरक अभियोगपत्रबाट कारबाही सुरु गर्न समेत माग गरेको छ । लामिछानेमाथि अन्तिमपटक थपिएको म्याद शुक्रबार रातिदेखि सकिएको थियो । त्यसपछि एकैपटक आइतबार लामिछानेविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

लामिछानेले आइतबार अदालतको विश्रामकक्षमा बिताए । मुद्दा दर्ताको प्रक्रिया चलिरहँदा हस्ताक्षर गर्नबाहेक उनी भित्र गएनन् । सबै प्रक्रिया सकिएपछि साँझतिर उनले आफूविरुद्ध लगाइएको मुद्दाबारे बुझेपछि प्रहरीले उनलाई हिरासतमा नै फर्काएको थियो ।

Dabur Nepal
NIC Asia

लामिछानेमाथि अभियोजन गरिएका तीनवटा मुद्दामा झन्डै २८ करोड बिगो कायम गरिएको छ ।

उनीविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको पहिलो कसुरमा आरोप दायर भएको छ । यसमा रविको मात्रै तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

सहकारीबाट लिएको व्यक्तिगत ऋण एक करोड, स्वेट सेयर लिन प्रयोग भएको ७५ लाख रुपैयाँ र गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा उनी खातावाला भएको खातामा गएको रकमको सञ्चालकको हैसियतले हुने सामूहिक दायित्व  एक करोड ६२ लाख ६५ हजार रुपैयाँको बिगो कायम गरिएको हो ।

लामिछानेले जीबी राईसँग मिलेमतो गरी सहकारी ऐन, नियमविपरीत रकम अपचलन गर्नका लागि कृत्रिम कारोबार, कृत्रिम व्यक्ति, काल्पनिक ठेगाना उल्लेख गरी अपराधबाट उम्कन पूर्वयोजना अनुसार झुठा विवरण उल्लेख गरी आर्थिक लाभ लिएको पुष्टि भएको अभियोग छ ।

उनले गोर्खा मिडियाबाट विभिन्न कम्पनी तथा व्यक्तिलाई चेकमार्फत भुक्तानी गरेको, सेयर बिक्री गरेर अलग भइसकेको भने पनि त्यसपछि पनि चेकमार्फत भुक्तानी दिएको भेटिएको छ ।

रविविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा बिगो माग गरिएको छ ।

सम्पत्ति शुद्धीकरणमै लामिछानेको सम्पत्ति वा साधन पनि जफत गर्न माग गरिएको छ । सम्पत्ति जफत प्रयोजनकै लागि सरकारी वकिलले उनकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको छ ।

“यसरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरी गितेन्द्र बाबुको खातामा रकमान्तर भएको सो रकममध्ये रवि लामिछानेको व्यक्तिगत खातामा जम्मा गरी उक्त रकम पुनः गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा रकमान्तर तथा हस्तान्तरण गर्दै कम्पनीमा अवैध तवरबाट प्राप्त गरी निजले आफ्नो खातामा धारणसमेत गरी पुनः ट्रान्स्फर गरेबाट सम्पत्ति शुद्धीकरण गर्ने कार्यमा निजको संलग्नता पुष्टि हुन आयो,” अभियोगपत्रमा भनिएको छ ।

अभियोगपत्रमा सूर्यदर्शन सहकारीका बचतकर्ताको हानिनोक्सानी पुर्‍याएको हुँदा उक्त रकम भराइदिनसमेत भनिएको छ । 

अभियोगपत्रका अनुसार, गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडबाट भुक्तानी भएका चेकहरूको विवरण विश्लेषण गर्दा कुल एक हजार २३७ वटा चेकबाट ५९ करोड ४९ लाख ४४ हजार ९५५ रुपैयाँ भुक्तानी भएको देखिन्छ । 

सोमध्ये ८१४ वटा चेकबाट ४८ करोड ५८ लाख २२ हजार २४६ रुपैयाँ बराबरको भुक्तानी रवि लामिछानेको एकल हस्ताक्षरित चेकबाट र रवि लामिछाने र गितेन्द्र बाबु राईले संयुक्तरूपमा हस्ताक्षर गरेका ६ थान चेकबाट ६० लाख १९ हजार रुपैयाँ बराबरको भुक्तानी भएको देखिएको छ ।
अभियोगपत्रमा रवि लामिछानेमाथि संगठित अपराधमा कसुर गरेको पनि पुष्टि भएको उल्लेख छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा आइतबार गरेको अभियोजनमा लामिछानेले कृत्रिम व्यक्ति खडा गरेर काल्पनिक ठेगाना उल्लेख गराई एक करोड रुपैयाँ अपचलन गरेको उल्लेख छ ।

त्यस्ता कृत्रिम खातालाई ‘भीआईपी’ एकाउन्ट नाम दिएर पर्दा पछाडिबाट काम गर्ने गरेको अभियोग पत्रमा उल्लेख छ । लामिछानेले गोरखा मिडियामा आएको रकमबारे आफू अनभिज्ञ रहेको भनेर गरेको दाबी खण्डित हुने दाबी अभियोग पत्रमा गरिएको छ ।

“रवि लामिछाने समेतले सहकारी संस्था लिमिटेडमा खाता खोली निजहरूको आदेश निर्देशनमा उक्त खातालाई भिआइपी एकाउन्ट उल्लेख गरि विवरण राख्न लगाएको देखिन आएबाट निजहरूले आफू पर्दा पछाडि रही आफ्नो समूहमा रहेका मानिसहरूलाई परिचालन गरि संगठित अपराध गरेको देखिन्छ,” अभियोगपत्रमा भनिएको छ ।

सहकारी ऐन २०७४, संगठित अपराध (निवारण) ऐन, २०७० र सम्पत्ति शुद्धीकरण ऐन, २०६४ अनुसारको सजाय माग गर्दै मुद्दा दायर गरिएको हो । यो कसुरमा सजाय कम वा छुटको मागदाबीको आधार नरहेको भन्दै सजाय माग गरिएको हो ।

सहकारी ऐन २०७४ को दफा १२४ को उपदफा 'घ' अनुसार लामिछानेलाई ८ देखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ । “एक अर्ब रुपैयाँभन्दा बढी जतिसुकै रुपैयाँ बिगो भए पनि आठ वर्षदेखि १० वर्षसम्म कैद,” यो उपदफामा भनिएको छ ।

रविविरूद्ध अर्को कसुर संगठित अपराधको छ । अभियोगपत्रमा यो ऐनको दफा ९ को क र ग बमोजिम सजाय माग गरिएको छ । यो दफा अनुसार ऐनको दफा ३ को उपदफा ३ क र ख तथा उपदफा ४ बमोजिमको कसुर हुने उल्लेख गरिएको छ । 

संगठित अपराध गर्नेलाई पाँच वर्षसम्म कैददेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । त्यसैगरी लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको पनि कसुर आकर्षित भएको जिकिर सरकारी वकिलले गरेको छ ।

सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा ३ अनुसारको कसुर भएको भन्दै सजाय माग गरेको छ । त्यसअनुसार बिगोको दोब्बर जरिवाना र कसुरको गम्भीरता अनुसार दुई देखि १० वर्षसम्म कैद सजायको माग गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro