site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जीवन परियार र स्वर्णिम वाग्लेबीच के भएको थियो ? 

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति स्वर्णीम वाग्लेबीच बिहीबार बिहान छलफल भएको थियो । बालुवाटारको छलफलका क्रममा रास्वापाको तर्फबाट पहिले दुई बुँदा प्रस्ताव आएको परियारले जानकारी दिए । 

उनले रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसँगको छलफलमा पहिले डकुमेन्ट पार्टीमा पठाएपछि मात्रै निष्कर्षमा पुगिने बताएका थिए । “तपाईंहरूले तयार पारेको डकुमेन्ट हो । पार्टी नस्वीकार्न पनि सक्छ । यो डकुमेन्ट पार्टीमा पठाउँछु । छलफल हुन्छ,” उनले वाग्लेसँग भएको कुराकानी सुनाए ।  

त्यसपछि संसदीय दलमा बसेर कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरी समिति बनाउनुपर्ने प्रस्तावसहितको तीन बुँदा तयार पारेको थियो । उक्त प्रस्ताव कांग्रेसले तीन बुँदा स्वीकार्य नभएकाले प्रस्ताव सार्वजनिक गरिएको बताए । “प्रस्ताव तयार पारिसकेपछि स्वर्णिम वाग्ले र प्रधानमन्त्रीलाई पठाएँ । उहाँहरूले मान्य छैन भन्नुभयो,” उनले भने ।

त्यसपछि कांग्रेसले बिहीबार अपराह्न ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको परियारले बताए ।  उनका अनुसार बैठक सारेर छलफल गरी शुक्रबारका लागि बैठक राख्न राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले फोन गरेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मै आएपछि कुरा गर्ने जवाफ दिएका थिए । 

सत्तासाझेदार प्रमुख दल भने बिहीबार सदनमा मुठभेड गराउने नै मुडमा देखिएको उनले सुनाए । “हिजोको गतिविधिले के देखियो भने एमाले छानबिन समिति बनाउन पनि अनुदार र संसद्मा पनि मुठभेड गर्ने,” उनले भने । 

संसदीय छानबिन समिति बनाउने विषयमा सहमति नजुट्दा सदनमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्