
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधि, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार काठमाडौंमा काठमाडौं विश्वविद्यालय सभाको ९९औँ बैठकलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले बेरोजगार हुने नभई रोजगार र स्वरोजगार हुन सक्ने खालको जनशक्ति उत्पादनमा लाग्न आग्रह गरे ।
यस मामिलामा काठमाडौं विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको उनले बताए । स्वास्थ्य शिक्षा र अन्य विषयका सन्दर्भमा आमविद्यार्थीको पहुँचवृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आइएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिका बारेमा पुनर्विचार गर्नुपर्ने उनको धारणा थियो ।
प्रधानमन्त्री ओलीले परम्परागत रूपमा नभई मुलुकको शिक्षा क्षेत्रलाई समयानुकूल परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिए ।
बैठकले यही जेठ ३० गते धुलिखेलमा आयोजना हुने ३०औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमका लागि विश्वविद्यालयका विभिन्न स्कुलअन्तर्गत विभिन्न तहमा उपाधि हासिल गरेका एक हजार एक सय २९ विद्यार्थीको ग्रेस–लिस्ट स्वीकृत गरेको छ । हिमालयन टेलिभ्वाइस