
काठमाडौं । कांग्रेस नेता मोहम्मद अफ्ताव आलमको फैसला गर्ने न्यायाधीश खुसीराम थारुमाथि मसी फालेर दुर्व्यवहार गर्ने नेकपा (बहुमत)का तीन कार्यकर्ता पक्राउ परेका छन् । उनीमाथि उच्च अदालत परिसरभित्रै मसी फालेर न्यायाधीशमाथि दुर्व्यवहार गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कार्यरत एक कर्मचारीले आफू कार्यालयबाट निस्किएपछि ‘लफडा’ भइरहेको सुने पनि घटनाको यथार्थ विवरणबारे जानकारी पाउन नसकेको जानकारी दिए ।
न्यायाधीशलाई मसी छ्यापेर दुव्र्यवहार गर्ने नेकपा (बहुमत)का कार्यकर्ता भएको खुलेको छ । धर्मेन्द बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन कार्यकर्ताले अदालत परिषरभित्रै छिरेर न्यायाधीशमाथि दुर्व्यवहार गरेको प्रहरीले जानकारी दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी बहुमत जिन्दावाद भन्दै न्यायाधीश बसेको स्थानमै छिरेका उनीहरुले न्यायाधीशलाई जनताको कर खाने, जनताकै विरुद्धमा फैसला गर्ने भन्दै मसी छ्यापेका थिए । पक्राउ परेका तीन कार्यकर्तामध्ये प्युठान गौमुखी ६ घर भइ हाल कुपन्डोल बस्ने अविनाश भन्ने किशोर कुँवर रहेका छन् । उनी नेकपा बहुमतकै केन्द्रीय सदस्य रहेको खुलेको छ ।
त्यसैगरी सर्लाही बरहथवा नगरपालिका २ का ४३ वर्षीय पदम बहादुर मगर रहेका छन् । उनी नेकपा (बहुमत)का जिल्ला इन्चार्ज रहेका छन् । त्यसैगरी अर्का सिराहा गोलबजार नगरपालिकाका ४८ वर्षका गर्भु महतो रहेका छन् ।
उनी पार्टीका जिल्ला समिति सदस्य रहेको प्रहरीले जनाएको छ ।