site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सोलुखुम्बुमा डढेलोले १० घर नष्ट, दर्जनौँ पशुचौपाया हताहत

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा जंगलको डढेलो गाउँमा सल्कँदा १० घर जलेर नष्ट भएको छ । आगोले एक दर्जन बढी गाईभैँसीको गोठ जल्नुका साथै पशुचौपाया समेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

थुलुङ दूधकोसी गाउँपालिका–३, पञ्चनमा बुधबार भएको आगलागीबाट स्थानीय बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारी, हस्तिमाया राई र पारसमणि राईको घर र गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।

बडीसुवा राई, उत्तरकुमार राई, दिलबहादुर राई, निशान राई र टीकाध्वज राईको घर पनि आगोले जलेको प्रहरी निरीक्षक साहले बताए । उनका अनुसार, दर्जनौँ गोठ तथा घरपालुवा पशुचौपाया जलेर हताहत भएका छन् ।

पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो हावाको वेगका कारण घरमा सल्कँदा बस्ती नै खरानी भएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए । उनले भने, “वनमा फैलिएको डढेलो निभाउन प्रहरीसहित स्थानीय जनशक्ति सक्रिय थिए, एक्कासि आगो गाउँमा सल्कियो र गाउँ नै सखाप बनायो । त्यो आगो हावाले उडाएर ल्याएको झिल्कोबाट सल्किएको हुनुपर्छ । त्यहाँका अधिकांश घरमा खरको छानो भएकाले नियन्त्रणमा लिन समय लाग्यो ।”

गाउँमा सल्किएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, गाउँपालिकालगायत निकायको सक्रियतामा नियन्त्रणमा लिइएको छ । जंगलको डढेलो नियन्त्रणबाहिर छ ।

क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । आगोले सबै धनसम्पत्ति जलेर खरानी भएपछि पीडित अर्धचेत अवस्थामा पुगेका जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले बताए ।

“आगोले सबै नष्ट गरायो । भएभरका सबै गुमाएपछि अहिले यहाँका स्थानीयमा चेत छैन । पूरै गाउँ नै रुवाबासीमा परिणत भएको छ । बस्ती नै खरानी भयो । जंगलमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । धुवाँ र धुलोले अझै आँखा हेर्न सक्ने अवस्था छैन,” समन्वय प्रमुख निरौलाले भने ।

६५ लाखको क्षति
सोलुखुम्बुकै नेचासल्यान गाउँपालिका–२, डिटीमा बिहीबार बिहान दुई घर र बाख्राको एउटा खोर जलेर नष्ट भएको छ । बिहान ४ः३० बजे डिटीका ज्ञानबहादुर खत्रीका दुई घर र एउटा खोर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार, आगलागीबाट ६५ लाख रुपैयाँबराबरको धनमाल क्षति भएको छ । ज्ञानबहादुरका दुई घरमा रहेको ५० हजार रुपैयाँ नगद, नौ तोला सुन, २० तोला चाँदी, २० मुरी अन्न, एकथान मोबाइल, लत्ताकपडा, भाँडावर्तनलगायत सबै सामग्री जलेर नष्ट हुँदा सोबराबरको क्षति भएको प्रहरी निरीक्षक साहले बताए ।

आगोले नजिकै रहेको बाख्राको खोर समेत जल्दा एउटा बोका र एउटा बाख्रा मरेको छ । आगलागीको कारण खुल्न सकेको छैन । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro